‘हाम्रो समाजलाई विज्ञान तथा प्रविधि तर्फ उन्मुख गराउनु पर्छ’
Monday, February 13th, 2023, 2:09 pm
Kalpristha
हिमालयन साईन्स फेस्टिवलको दोस्रो संस्करण नेपालगन्ज रंगशालामा फागुन २ र ३ गते हुँदैछ । हिमालयन साईन्स फाउण्डेशनले आयोजना गर्ने फेस्टिवलले विद्यालय स्तरबाटै विज्ञान, प्रविधि र नयाँ खोजका बारेमा उत्प्रेरणा जगाउने उद्देश्यले लिएको छ । फेस्टिवल किन आयोजना गरिएको हो, यसका उद्देश्य र भविष्यमा यसको प्रभाव कस्तो रहनेछ भन्ने लगायतका विषयमा फेस्टिवलका संयोजक एवम् आयोजक हिमालयन साईन्स फाउण्डेशन अध्यक्ष आतंक वस्नेतसँग कालपृष्ठकर्मी लक्ष्मी तिमिल्सेनाले गरेको कालपृष्ठ संवाद ।
हिमालयन साईन्स फेस्टिवलको दोस्रो संस्करण आयोजना गर्दै हुनुहुन्छ । तयारी कहाँ सम्म पुग्यो ?
तयारी करिब अन्तिम चरणमा पुगेको छ । नेपालमा विज्ञान र प्रविधिको विकासलाई प्राथमिकतामा राखेर हामीले काम गर्दै गर्दा यो कार्यक्रम आयोजना गरेका हौं । यस फेस्टिवलमा करिब ५० वटा स्टल राखिने छ । जसमा कक्षा ८ देखि १२ सम्मका सरकारी र निजि विद्यालयका विद्यार्थीले आविष्कार गरेका विज्ञान र प्रविधिका ‘फोटोटाईप’ प्रोजेक्टहरु प्रदर्शनी गरिनेछ । फेस्टिवलमा सहभागी हुनेहरुले विभिन्न ९ विधामा आफनो प्रोजेक्ट प्रस्तुत गर्नेछन् । फेस्टिवललाई वालाबिज एजुकेशनल सर्भिसले मुख्य प्रायोजन गरेको छ भने प्याब्सन बाँके, प्याब्सन नेपालगन्ज र विज्ञान शिक्षक समाज नेपालले सहयोग गरेको छ । सो फेस्टिवलमा विश्वको प्रख्यात ब्रान्ड अमेरिकन कम्पनी एप्पलका पुर्व सफटवेयर आर्किटेक्ट विजय गौतम र नेपाल एकेडेमी अफ साईन्स एन्ड टेक्नोलोजीको(नास्ट) सिनियर साइनटिस्ट डा.टिस्टा प्रसाई जोशी निर्णायक हुनेछन् ।
नेपालगन्जमा यसको आवश्यकता किन महसुस गरियो ?
विश्वका जतिपनि विकशित राष्ट्रहरु छन् । ति सबैको विकास विज्ञान र प्रविधिमा लगानी गरि तिनलाई उत्पादन मुलक क्षेत्रमा जोडेकै कारणले भएकोमा तपाई हामी कसैको पनि दुईमत छैन । तर, हाम्रो विडम्बना के छ भने अहिलेसम्म विज्ञान, प्रविधि, खोज तथा अनुसन्धानका क्षेत्रमा राज्यस्तरबाट न लगानि हुन सकेको छ न त त्यस्ता खालका योजना नै बन्न सकेका छन् । यस अवस्थालाई मध्येनजर गर्दै विज्ञान र प्रविधिका क्षेत्रमा नौलो बहस छेड्नु र त्यस मार्फत विज्ञान, प्रविधि, खोज तथा अनुसन्धानका क्षेत्रमा राज्यको ध्यानाकर्षण गराउनु हाम्रो मुख्य ध्येय हो । यसका लागि यो कार्यक्रम एक कोसेढुङगा सावित हुनेछ । साथै कार्यक्रम मार्फत विद्यार्थी र शिक्षकहरुमा विज्ञानको भोक जगाउन जरुरी छ । यसको मुख्य उदेश्य भनेको अहिले जसरी हाम्रा बौद्विक सम्पतिहरु बाहिरिरहेका छन् । हो, यो अवस्थाको अन्त्य र भविष्यमा विश्वका अतिविकशित राष्ट्रहरुबाट पनि पढ्नको लागि आउने ठाँउ बन्न सकोस भन्ने नै हो । त्यसैको जग स्वरुप यो कार्यक्रमको आवश्यकता परेको हो । हाम्रो समाजलाई विज्ञान तथा प्रविधि तर्फ उन्मुख गराउनको लागि एकखालको मुभमेन्टका रुपमा यसलाई लिएका छौं । हाम्रो देश विज्ञान तथा प्रविधिका मामलामा एकदमै पछाडि परेको छ । यस आयोजनाबाट हामीलाई यस क्षेत्रको विकास गर्नका लागि मुभमेन्टका रुपमा कसरी यसलाई लैजान सक्छौं भन्ने कुराको समेत गहन रुपमा कामहरुलाई अघि लिएर जाने छौं । त्यसैले यस कार्यक्रमको आफ्नै महत्व र आवश्यकता छ ।
यस कार्यक्रम मार्फत कसरी यसक्षेत्रलाई विज्ञान तथा प्रविधि तर्फ उन्मुख गराउन सकिन्छ ?
‘लेट्स हयाभ अ मोमेन्ट अफ साईन्स’ भन्ने हाम्रो नारा नै छ । यस आयोजनाले विज्ञान र प्रविधिको विकासबाट राष्ट्रनिर्माण गर्न सकिन्छ भन्ने कुराको बहस छेड्ने छ । यसक्षेत्रलाई विज्ञान तथा प्रविधि तर्फ उन्मुख गराउन यो कार्यक्रम एक खालको ‘झिल्को’ हुनेछ । यहाँ हुन लागेको फेस्टिवलले विद्यार्थीहरुलाई विद्यालय स्तरबाटै खोज र अनुसन्धानमा सक्रिय बनाउन प्रेरित गर्नेछ भने, शिक्षकहरुलाई पनि शैद्धान्तिक मात्रै नभएर विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउन तर्फ अभिप्रेरित गराउने छ । जसले भोलिका दिनहरुकमा कसरी अझ परिस्किृत रुपले यस क्षेत्रमा काम गर्न सकिन्छ भन्ने कुराको अनुभव पनि हुने छ । भने, यो राष्ट्रिय स्तरको आयोजना भएका कारण विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न र आवश्यक ऐनहरु ल्याउन एक प्रकारको दबाव सिर्जना हुनेछ ।
विज्ञान तथा प्रविधिको विकासमा राज्यले के गर्नु पर्ला ?
यो सवालमा राज्य गम्भिर बन्न एकदमै जरुरी छ । राज्यले आवश्यक ऐन निर्माण गर्नुपर्छ । ‘सन् २०२३ लाई ‘विज्ञान, प्रविधि तथा विद्युतीय सुशासन वर्ष’ घोषणा गर्नुपर्छ’ भन्ने त राज्यसंग हाम्रो माग नै छ । हामीले फाउण्डेसनका तर्फबाट पनि सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ समक्ष हरेक स्थानीय तहमा सामुदायिक विज्ञान प्रविधि केन्द्रको स्थापना गर्ने, जहाँ वैज्ञानिक अध्ययन अनुसन्धानको वातावरण बनाउन, ‘प्रधानमन्त्री नव प्रवर्तन’ कार्यक्रमको सुरुआत गर्न तथा सो कार्यक्रमद्वारा नेपालमा नव प्रवर्तनको प्रवद्र्धन गर्न, नेपाल सरकार र सेवाग्राही बिच सबै सेवाहरु विद्युतीय माध्यममा परिणत गर्ने लगायतका विभिन्न ९ बुंदे अपिल समेत गरेका छौं । यसका साथै विज्ञान तथा प्रविधिको विकासलाई शिक्षा र उत्पादन मुलक क्षेत्रसंग जोड्न जरुरी छ । यस क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नको लागि राज्यले अबको एक दशक विज्ञान तथा प्रविधिको दशकका रुपमा मनाउन आवश्यक छ ।
फेस्टिवलको उद्घाटन कसले र कसरी गर्ने कार्यक्रम छ?
हामी यसको उद्घाटन फागुन २ गते गर्दै छौं । यसको उद्घाटन माननिय सुचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले गर्ने कार्यक्रम छ । यसको तयारी पनि हामी गरिरहेका छौं । आवश्यक समन्वय र भेटघाट पनि गरिरहेकै छौं । प्रतिस्पर्धीहरुले आफ्ना ‘ईन्भेन्सन’हरु तयार पार्दै हुनुहन्छ । लगभग सबै तयारी सकिएको छ ।
अन्त्यमा ?
यस्ता कार्यक्रमहरु भईरहनुपर्छ । अझ राज्यले शैक्षिक तथा विज्ञान र प्रविधिका क्षेत्रमा बढी भन्दा बढी लगानी गर्न सकेको खण्डमा सो क्षेत्रमा हामीले सोचेजस्तो फड्को मार्न सकिनेमा कुनै दुविधा रहँदैन । तर, त्यसका लागि राज्यस्तरबाट लगानी र यसक्षेत्रको विकास गर्नुपर्छ भन्ने कुरामा राज्य उत्तरदायि बन्न सक्नुपर्छ । हामीलाई थाहा भएकै कुरा हो अहिले सम्म विज्ञान तथा प्रविधिको क्षेत्रामा प्रभावकारी ऐन बन्न सकिराखेको छैन । यस्ता नितिगत कुराहरुलाई पनि संगसंगै लैजानको लागि अबको दिनमा राज्य गम्भिर बन्न जरुरी छ ।