दोस्रो हिमालयन साईन्स फेस्टिवलको तयारी पुरा
Monday, February 13th, 2023, 9:10 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १ फागुन
नेपालमा विज्ञान, प्रविधिक र अनुसन्धानलाई प्रोत्साहन गर्ने वातावरण सृजना गर्ने उद्देश्य सहित मंगलबारदेखि नेपालगन्जमा हिमालयन साईन्स फेस्टिवलको दोस्रो संस्करण सुरु हुँदैछ । नेपालगन्ज रंगशालमा हुने फेस्टिवलको तयारी सम्पुर्ण पुरा भएको आयोजकले बताएको छ ।
हिमालयन साईन्स फाउण्डेशनले आयोजना गरेको फेस्टिवलमा विद्यालय स्तरका विद्यार्थीले आविष्कार गरेका प्रोजेक्टहरु प्रदर्शनीमा राखिनेछ ।
विद्यालय स्तरबाटै विज्ञान, प्रविधि र नयाँ खोजका बारेमा उत्प्रेरणा जगाउँदैं नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा एउटा मुभमेन्टको विकास गर्ने आयोजकले लक्ष्य लिएको छ । फेस्टिवलमा करिब ५० वटा स्टल राख्ने तयारी भएको छ ।
जसमा कक्षा ८ देखि १२ सम्मका सरकारी र निजि विद्यालयका विद्यार्थीले आविष्कार गरेका विज्ञान र प्रविधिका ‘फोटोटाईप’ प्रोजेक्टहरु प्रदर्शनी गरिनेछ । फेस्टिवलमा सहभागी हुनेहरुले विभिन्न ९ विधामा आफनो प्रोजेक्ट प्रस्तुत गर्नेछन् ।
फेस्टिवललाई वालाबिज एजुकेशनल सर्भिसले मुख्य प्रायोजन गरेको छ भने प्याब्सन बाँके, प्याब्सन नेपालगन्ज र विज्ञान शिक्षक समाज नेपालले सहयोग गरेको छ ।
फेस्टिवलमा विश्वको प्रख्यात ब्रान्ड अमेरिकन कम्पनी एप्पलका पुर्व सफटवेयर आर्किटेक्ट विजय गौतम र नेपाल एकेडेमी अफ साईन्स एन्ड टेक्नोलोजीको(नास्ट) सिनियर साइनटिस्ट डा.टिस्टा प्रसाई जोशीले निर्णायकको भुमिका निर्वाह गर्ने आयोजक हिमालयन फाउण्डेसनका अध्यक्ष तथा आतंक बस्नेतले बताए ।
उनले भने, ‘विज्ञान र प्रविधिका क्षेत्रमा नौलो बहस छेड्नु र त्यस मार्फत विज्ञान, प्रविधि, खोज तथा अनुसन्धानका क्षेत्रमा राज्यको ध्यानाकर्षण गराउनु हाम्रो मुख्य ध्येय हो । यसका लागि यो कार्यक्रम एक कोसेढुङगा सावित हुनेछ ।
साथै कार्यक्रम मार्फत विद्यार्थी र शिक्षकहरुमा विज्ञानको भोक जगाउन जरुरी छ ।’ बस्नेत भन्छन, ‘यसको मुख्य उदेश्य भनेको अहिले जसरी हाम्रा बौद्विक सम्पतिहरु बाहिरिरहेका छन् । यो अवस्थाको अन्त्य र भविष्यमा विश्वका अतिविकशित राष्ट्रहरुबाट पनि पढ्नको लागि आउने ठाँउ बन्न सकोस भन्ने नै हो । त्यसैको जग स्वरुप यो कार्यक्रमको आवश्यकता परेको हो । हाम्रो समाजलाई विज्ञान तथा प्रविधि तर्फ उन्मुख गराउनको लागि एकखालको मुभमेन्टका रुपमा यसलाई लिएका छौं ।’
नेपाल विज्ञान तथा प्रविधिका मामलामा एकदमै पछाडि परेको बताउँदै उनले यस आयोजनाबाट यस क्षेत्रको विकास गर्नका लागि मुभमेन्टका रुपमा कसरी यसलाई लैजान सकिन्छ भन्ने कुराको समेत गहन रुपमा कामहरुलाई अघि लिएर जाने बताए ।
फेस्टिवलले यसक्षेत्रलाई विज्ञान तथा प्रविधि तर्फ उन्मुख गराउन यो कार्यक्रम एक खालको ‘झिल्को’का रुपमा काम गर्ने बताउँदै विद्यार्थीहरुलाई विद्यालय स्तरबाटै खोज र अनुसन्धानमा सक्रिय बनाउँन प्रेरित गर्ने बताए ।
‘यसले शिक्षकहरुलाई पनि शैद्धान्तिक मात्रै नभएर विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउन तर्फ अभिप्रेरित गराउने छ । जसले भोलिका दिनहरुकमा कसरी अझ परिस्किृत रुपले यस क्षेत्रमा काम गर्न सकिन्छ भन्ने कुराको अनुभव पनि हुने छ । भने, यो राष्ट्रिय स्तरको आयोजना भएका कारण विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न र आवश्यक ऐनहरु ल्याउन एक प्रकारको दबाव सिर्जना हुनेछ ।’ बस्नेतले भने ।
नेपालको आर्थिक विकासमा विज्ञान र प्रविधि क्षेत्रले महत्वपुर्ण योगदान दिइरहेको बताउँदै अब नयाँ सम्भावना खोज्नको लागि राज्यले वातावरणको निर्माण गर्न ध्यान दिनु पर्ने सफटवेयर आर्किटेक्ट विजय गौतमले बताए । उनले भने,‘फेस्टिवलमा निर्णायकको रुपमा सहभागि हुन पाउँदा निकै खुसी लागेको छ । यसले मलाई विद्यालय स्तरमा मैले गरेका कामहरुको याद दिलाएको छ । सुचना र प्रविधिको क्षेत्रमा हामीलाई दक्ष जनशंक्तिको अभाव छ । यस्ता फेस्टिवलले विद्यार्थीलाई यस क्षेत्रमा लाग्न र लागिरहेकाहरुलाई उत्प्रेरणाको काम गर्छ । जुन हाम्रो देशका लागि निकै सकारात्मक कुरा हो ।’
नेपाल एकेडेमी अफ साईन्स एन्ड टेक्नोलोजीको(नास्ट) सिनियर साइनटिस्ट डा.टिस्टा प्रसाई जोशीले राज्यले विज्ञान र प्रविधिलाई राजधानी बाहिरका जिल्लामा विस्तार गर्ने कार्यको सुरुआत गरिरहेको बेला फेस्टिवलले त्यसमा थप उर्जा थप्ने बताईन । उनले भनिन,‘हामीले प्रदेश स्तरको संरचना निर्माण गर्ने कामको सुरुआत गरिसकेका छौं । नेपालगन्जमा यसरी फेस्टिवल आयोजना गरिनुले त्यसलाई थप बल पुग्नेछ । यस्ता फेस्टिवलले राज्यलाई नीतिगत रुपमा काम गर्नको लागि सहयोग गर्नेछ ।’