‘महिलामा एउटा शक्ति छ, त्यसलाई हामीले उजागर गर्न सक्नुपर्छ’ (भिडियो सहित)
Friday, February 17th, 2023, 4:18 pm Kalpristha
महिला उद्यमीहरुलाई आत्मनिर्भरता तर्फ आकर्षित गर्ने उद्देश्य सहित फागुन ५ गते देखि नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरिय प्रदर्शनी–२०७९ को सुरु भएको छ । नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा हुने मेलामा महिला उद्यमीहरुको आकर्षण बढ्दो क्रममा छ । सुरुआतमा एउटा घरको सानो स्थानबाट सुरु भएको मेलाले अहिले बृहत रुप लिदैछ । बाँकेमा महिला उद्यमी संघ नेपाल, बाँकेको स्थापना गरेर महिलालाई उद्यममा लाग्न प्रोत्साहन गर्ने उद्यमी हुन भवानी राणा । उनै भवानी राणासँग महिला उद्यमका बारेमा गरिएको कालपृष्ठ संवाद ।
महिला उद्यमी संघ नेपाल बाँकेको तपाई संस्थापक अध्यक्ष हुनुहुन्छ । त्यतिबेला संस्था स्थापना गर्ने सोच कसरी आएको थियो ?
सर्वप्रथम महिलाको सशक्तिकरणको कुरा गर्दा उनीहरुलाई आर्थिक रुपमा सवल बनाउन आवश्यक छ । अन्यथा उनीहरुको विकास हुंदैन । यसकारण महिला उद्यमी महासँघ र महिला उद्यमी संघले विभिन्न जिल्लामा खुलेको र नेपालमा सबैभन्दा पहिला खुलेको भनेको बाँकेको महिला उद्यमी संघ हो । यो पहिलो उद्यमीहरुको संगठन हो । जसमा म संस्थापक अध्यक्ष थिए । पछि म महिला उद्यमी महासंघको अध्यक्ष भएर काम गरें । यस संगठनले महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्नका लागि यस क्षेत्रका महिलामा भएको सिप र क्षमतालाई पैसामा रुपान्तरण गर्नका लागि यो संगठनको आवश्यकता महसुस गरिएको थियो । जसले घरमै बसेर पनि काम गर्नसक्ने राम्रो सिप भएका महिलाहरुले उत्पादन गरेको वस्तु तथा सेवाको गुणस्तर वृद्धिमा सहयोग पुर्याउँदै आएको छ ।
सुरुआतका दिनमा तपाईहरुले संस्थालाई कसरी सक्रिय बनाउनु भएको थियो ?
यस संगठनमा धेरै लघु तथा घरेलु व्यवसाय संगै मझौला व्यवसाय गरिरहेका महिलाहरुको आवद्धता छ । अझ धेरै महिला त साना लघु तथा घरेलु व्यवसायी नै छन् । सुरुमा हामीले दर्ता नभईकन अनौपचारिक रुपमै व्यवसाय गरिरहनुभएका महिलाहरुलाई कसरी दर्ता प्रक्रियामा जाने भन्नेबारे हामीले सचेतना दियौं र त्यपछि हामीले उहाँहरुले उत्पादन गर्ने वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धिबारे काम गर्यौं र संगठन मार्फत उनीहरुलाई एउटै स्थानमा ल्याउने काम गर्यौं । जसले गर्दा आफुले उत्पादन गरेको वस्तु तथा सेवाको बजारबारे महिला उद्यमीहरुले थाहा पाउने अवसर पाए । किनभने, बजारमा प्रतिस्पर्धा त छ नि त । त्यसकारण उनीहरुको सिपलाई कसरी विकास गर्न सकिन्छ भन्ने हिसाबले पनि यो संगठनले उद्यमीलाई तालिमहरु दिने र उनीहरुको उत्पादनमा गुणस्तर थप्ने काम गर्छ ।
नेपालगन्जमा सुरु भएको प्रदर्शनीले बजारीकरणमा कसरी सहयोग गर्छ ?
यस क्षेत्रका उत्पादनहरु (अल्लो, ढकीया र चोया जस्ता) यस क्षेत्रमा मात्रै नभईकन देश तथा विदेशमा पनि पठाउन सकियोस भन्ने उदेश्यले हामीले विभिन्न तालिमहरु दिएका छौं । यसले गर्दा महिला उद्यमीले उत्पादन गरेको वस्तु तथा सेवाको बजारीकरणमा सहयोग पुगेको छ । मेला/प्रदर्शनीको आयोजना जुन हुँदैछ । प्रदर्शनी मात्र नभई यो आयोजनाले पनि एउटा ठुलो पुँजी परिचालन गरेको छ । त्यस सँगसँगै ग्रामिण स्तरका महिलाहरु जो टिम्मुर नै बेच्ने भएपनि सो मेलामा प्याकेजिङ गरेर बेच्दा त्यसबाट आम्दानी हुने र आफुले प्रयोग गरेको सिप त्यहाँ प्रदर्शन हुने राम्रो अवसर हो । यस्तै मेला/प्रदर्शनी महिला उद्यमी महासँघले काठमाडौमा यहि ‘मार्च’ महिनामा लगाउँदै छ । सो आयोजनामा देशभरिका महिला उद्यमीको वस्तु तथा सेवाको प्रदर्शनी हुनेछ भने देश तथा विदेशका समेतले सो मेलाको अवलोकन गर्नेछन् । यसले के हुन्छ भने हाम्रा उत्पादनको गुणस्तर अझ कसरी माथी लैजान सकिन्छ भन्ने कुरा सिकाउँछ । यसका साथै यस्ता वस्तु निर्यातको बाटो समेत खुल्छ ।
नयाँ उद्यम सुरु गर्न खोज्नेलाई तपाई के सुझाव दिनुहुन्छ ?
कुनैपनि नयाँ केहि गर्न खोज्दा सबैभन्दा पहिला त त्यसको सम्भाव्यता अध्ययन जरुरी छ । अरुको देखेर मात्रै भन्दा पनि पहिला आफुले उत्पादन गर्ने वस्तु तथा सेवा कसरी बजारीकरण गर्न सकिन्छ भन्ने कुरा हेर्नुपर्छ । अध्ययन गर्नुपर्छ । त्यसपछि मात्रै म यहि चिज गर्छु भन्ने आत्मविश्वास चाहिन्छ । आफुमा आत्मविश्वास भएन भने केहि गर्न सकिदैन । मैले सँधै भन्ने कुरा के हो भने ‘महिलामा एउटा शक्ति छ’ त्यसलाई हामीले उजागर गर्न सक्नुपर्छ । महिलाले गर्न सक्ने थुप्रै क्षेत्रहरु छन् । ग्रामीण पर्यटन, कृषि उपज लगायतका कामहरु महिलाले पनि गर्नसक्छन् । कोभिड महामारी पछि त आईटी क्षेत्रले पनि बजार लिएको छ । यसक्षेत्रमा राम्रो काम गर्ने महिलाहरु थुप्रै हुनुहुन्छ । यसमा त संघले पनि काम गर्न सक्छ ।
केहि महिला उद्यमीले उत्पादन गरेका वस्तुले बजार नपाउने समस्या छ, यसलाई कसरी सुधार गर्न सकिन्छ ?
ह्याण्डिक्राफ्टमा हामी अन्य देश भन्दा धेरै पछाडि छौं । यसकारणले गर्दा नेपालमा आवश्यक प्रविधिको खाँचो छ । राज्यले यस्ता खालका प्रविधि भित्र्याउनु पर्यो कि जसले काममा लाग्ने मिहिनत र समय दुबै छोटो बनाओस । अब हामीलाई अल्लोबाट धागो बनाउने कुरामै थु्रपो समय लाग्छ । अनि कसरी हामी ह्याण्डिक्राफ्टलाई विश्वव्यापी रुपमा लैजान सक्छौं । कारण एउटै हो । हामीसँग प्रविधि छैन । यसर्थ हामीले हाम्रा वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गर्नु पर्छ र त्यसका लागि आवश्यक समन्वय र सहकार्य राज्यले गर्न सक्नुपर्छ ।
महिला उद्यमी संघ नेपाल बाँकेले के गरे महिला उद्यमीलाई अभल सहयोग पुग्न सक्छ ?
बाँकेमा यो संघ स्थापना कालदेखि नै यहाँका उद्यमीहरुलाई एकिकृत गर्दै आईरहेको छ । यो नै यसको सकारात्मक पक्ष हो जस्तो लाग्छ मलाई । हुन त पहिलेका दिनमा भन्दा धेरै सजग भैसकेका छन् उद्यमी महिलाहरु । अबका दिनमा पनि संघले महिला उद्यमीले उत्पादन गर्ने वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि र त्यसको बजारीकरणमा ध्यान दिन सके राम्रो हुन्छ ।