न्यूयोर्क – गैरआवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका आकांक्षी रहेका गौरीराज जोशीको विषयमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को समिति नै विभाजित देखिएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिएका जोशीको नाम गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका राष्ट्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीमा नपरेपछि त्यो विषय अमेरिकामा मात्र नभई गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्मा समेत चर्चाको विषय बनेको छ ।
राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यसमिति सदस्य पदको उम्मेदवार बन्नका लागि राष्ट्रिय समन्वय परिषद् वा अन्तर्राष्ट्रिय परिषद्मा एक कार्यकाल कार्यसमितिमा रहेको हुनुपर्ने विधानमा उल्लेख भएबमोजिम त्यो रीत पूरा भएको नदेखिएकाले प्रारम्भिक उम्मेदवार नामावलीमा नाम समावेश गर्न नसकिएको राष्ट्रिय निर्वाचन समिति स्रोतले स्पष्ट पारेको छ । के–कति कारणले उम्मेदवार नामावलीमा नाम समावेश गर्न नसकिएको हो, त्यसबारे स्वयम् व्यक्तिलाई समेत जानकारी गराइएको र दाबी विरोधको समय रहेको आयोग स्रोतले जनाएको छ ।
गौरी जोशी के कति कारणले अध्यक्ष पदमा अयोग्य भए त भन्ने प्रश्नमा निर्वाचन समिति स्रोत भन्छ– ‘हामीले सन् २००६ देखि २०१६ सम्म अमेरिकाको राष्ट्रिय समन्वय परिषद्मा काम गरेका सम्पूर्ण पदाधिकारीहरुको सूची अन्तर्राष्ट्रिय समन्वय परिषद्सँग मगाएका थियौं, त्यही सूचीका आधारमा हामीले गौरी जोशीले अमेरिकास्थित राष्ट्रिय समन्वय परिषद्मा एक कार्यकाल काम गरेको हो कि होइन भन्ने निचोडमा पुगेका थियौं । अध्यक्षमा उम्मेदवार दिएका गौरी जोशीको नाम हामीले अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट मगाएको सूचीमा थिएन ।’
जोशी एक कार्यकाल समितिमा रहेर काम गरेको हो वा होइन भन्ने विषयमा अन्तर्राष्ट्रिय समन्वय परिषद् समितिभित्रै मतान्तर देखिएको छ । उम्मेद्वारी नामावली सार्वजनिक गर्नुअघि निर्वाचन आयोगले जोशी एक कार्यकाल समितिमा बसेका हुन् वा होइनन् भन्ने सन्दर्भमा लिखत जानकारी गराउन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् समिति तथा क्षेत्रीय संयोजकलाई सम्पर्क गरेर त्यसैको आधारमा अघि बढेको बताइन्छ । निर्वाचन समितिले नाम प्रकाशन नभएकाहरुको हकमा यदि रीत पूरा गर्न सक्ने प्रमाण भए पेश गर्न सक्ने जानकारी गराउँदै प्रारम्भिक उम्मेदवारी नामावलीमा प्रकाशनमा उम्मेदवारी दिएका २ सय ३४ मध्ये १ सय ६७ जनाको नामावली सार्वजनिक गरेको थियो । जसमा जोशी, वर्तमान कार्यसमितिमा रहेका वेदराज बस्नेत, विष्णुमान प्रधान र गोमा सेनलगायत ६७ जना योग्यता पूरा नगरेका कारण प्रकाशित सूचीमा अटाएनन् ।
नामावली सार्वजनिक भएपश्चात् जोशीको नाम नपरेपछि नेपाली डायस्पोरामा अहिले चर्चाको विषय बनेको छ । उनको उम्मेदवारी रीतबमोजिम रहेको वा नरहेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अग्रजसमेत विभाजित देखिएका छन् भने यसबारे अन्तर्राष्ट्रिय समन्वय परिषद् पदाधिकारीमा समेत मतान्तर देखिएको छ ।
महासचिव डा. बद्री केसीको पत्र ।
क्षेत्रीय संयोजक लामाले जोशी अध्यक्षको उम्मेद्वार बन्न रीतबमोजिम नहुने आशय व्यक्त गरेका छन् भने अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. बद्री केसीले जोशीको उम्मेदवारी विधानतः सही रहेको आशयसहितको पत्र निर्वाचन समितिमा पठाएका छन् । उनले लेखेको पत्रमा २१ जनवरी सन् २००६ मा राष्ट्रिय समन्वय परिषद् अमेरिका स्थापना भई अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आबद्ध रहेको र डा. अम्बिका अधिकारी अध्यक्ष रहेको वर्ष सन् २००७–२००९ को समितिमा जोशीले कार्यकारी सदस्य तथा सदस्यता व्यवस्थापन समिति संयोजक भई काम गरेको र अन्तर्राष्ट्रिय परिषद्को विधान २०१५ को दफा २३.११ मा राष्ट्रिय समन्वय परिषद्को अध्यक्षको उम्मेदवार बन्न निज राष्ट्रिय समन्वय परिषद् वा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य वा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था गरेअनुरुप जोशी अध्यक्षका उम्मेदवार बन्न योग्य रहेको जनाइएको छ ।
महासचिव डा. केसीले २२ जुलाई २०१७ मा निर्वाचन आयोगमा पत्र प्रेषित गरेर जोशी योग्य रहेको जनाइरहँदा उनले अन्तर्राष्ट्रिय समितिमा कुनै छलफलसमेत नगरी मनोमानी ढंगले पत्र काटेको भन्दै क्षेत्रीय संयोजक सोनाम लामाले असन्तुष्टि जनाएका छन् । क्षेत्रीय संयोजक लामाले उक्त पत्रलाई गैरकानूनी पत्रको संज्ञा दिएका छन् । ‘त्यो पत्र महासचिव डा. केसीको व्यक्तिगत इन्ट्रेष्टमा आएको पत्र हो, हामी कसैलाई केही जानकारी छैन,’ क्षेत्रीय संयोजक लामाले भने– ‘मैले अध्यक्ष (शेष घले)ज्यूलाई पनि यसबारे सोधेको थिएँ, उहाँ र उपाध्यक्ष भवन भट्ट हाल अष्टे«लियामा हुनुहुन्छ, उहाँहरुसमेत यो विषयमा अनभिज्ञ हुनुहुन्छ, त्यो महासचिव एक्लैको निर्णय होला समितिको हुन सक्दैन ।’ लामाले महासचिव केसीले क्षेत्रीय संयोजक, क्षेत्रीय सहसंयोजकको अधिकार क्षेत्र मिचेको समेत आरोप लगाए ।
आर सी लामाको पत्र
तर, महासचिव डा. केसीले आफूले पदीय अधिकार प्रयोग गर्दै पत्र लेखेको र यसलाई कार्यसमितिबाट निर्णय गराउनुपर्ने बाध्यता नभएको जिकिर गरेका छन् । ‘अमेरिकास्थित निर्वाचन समितिले जोशीसँग एक कार्यकाल राष्ट्रिय समन्वय परिषद्मा काम गरेको प्रमाण पेश गर्न माग गरेपछि जोशीले मलाई आग्रह गर्नुभयो, मैले लेखिदिएको हुँ,’ महासचिव डा. केसीले भनेका छन्– ‘यस्तो अवस्थामा जोशीजी मात्र होइन, जो कोहीले आग्रह गरे पनि मैले पत्र लेखिदिने छु ।’
क्षेत्रीय सहसंयोजक एसी शेर्पाले कुनै पनि विषयमा संस्थाको धारणा बाहिर लैजानुपूर्व पूरा गर्नुपर्ने सामान्य प्रक्रियासमेत महासचिवले पूरा नगरेको आरोप लगाए । अन्तर्राष्ट्रिय समन्वय परिषद्मा पदाधिकारी ७ जनाको सचिवालयमा छलफल गरेर, कुनै पनि राष्ट्रिय समन्वय परिषद्को सम्बन्धमा सम्बन्धित क्षेत्रका संयोजक, सहसंयोजकहरुलाई सम्पर्क गरेर छलफल गरेर आवश्यक परेको खण्डमा आईसीसी मेम्बरहरुलाई समेत छलफल गरेर काम गर्नुपर्नेमा महासचिवले मनोमानी गरिरहेको उनले बताए । सहसंयोजक शेर्पाले महासचिवले लेटरप्याड दुरुपयोग गरेको आरोप लगाउँदै आईसीसीमा यसबारे समेत कुरा अघि बढेको जनाए ।
उता, अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी सदस्य राजेश रानाले कुनै पनि पत्र सचिवालयमा दर्तापछि मात्रै जाने भए पनि यसबारे सचिवालयलाई जानकारी नभएको बताए । उनले कुनै जानकारीविना गएको पत्र आईसीसीको साझा धारणा हुन नसक्ने भन्दै त्यो महासचिवको व्यक्तिगत पत्र भएको राय व्यक्त गरे ।