शीत भण्डार निर्माण कार्य ९० प्रतिसत सम्पन्न, खजुराका किसान हर्षित
Friday, April 7th, 2023, 10:44 am
Kalpristha
शीत भण्डार नहुँदा र खेती गरेर उब्जाएको वस्तु पनि राख्ने ठाउँ नहुँदा मौसममै सस्तोमा बेच्नुपर्ने अवस्था छ । यसकारण वर्षभरि उत्पादन गरेको आफ्नो कृषि उत्पादनहरु भण्डारण गर्ने स्थान पाए मात्रैपनि व्यावसायिक कृषि कर्म गर्ने ईच्छा भएका किसानका लागि सहजताको एक खुड्कीलो भएको धिताल बताउँछन् ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २३ चैत
बाँके खजुरा गाउँपालिकाले तीन बर्ष अघि गौरवको योजनाका रुपमा अघि सारेको शीत भण्डार निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । खजुरा गाउँपालिका–५ उढरापुरमा एक बिघा सात कठ्ठा जमिनमा बन्ने सो भण्डारको एक हजार ५ सय मेट्रिक टन कृषि उपज भण्डारण क्षमता रहेकोछ । शित भण्डारी निर्माण भएपछि स्थानीय किसानलाई आफना उत्पादन राख्नमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष डम्बर विक ‘तुफान’ले बताए ।
उनका अनुसार तयार निर्माण सम्पन्न हुन लागेको सो शित भण्डार निर्माणमा साढे ९ करोड खर्च भएको छ ।
पहिलो चरणमा ३ करोड, दोस्रो चरणमा ६ करोड र तेस्रो चरणमा ५० लाख गरि निर्माण भएको सो शित भण्डारमा अब आवश्यक मेसिनहरु जडान गर्न मात्रै बाँकी रहेको खजुरा गाउँपालिकाका ईन्जिनियर सोनु शाह बताउँछिन् ।
‘प्रदेश सरकारको सर्शत अनुदानमा निर्माणधिन यस आयोजनाको सबै काम सकिसकेको छ । मेसिन जडान हुने वित्तिकै यो शित भण्डार सन्चालनमा आउ छ ।’– उनले भनिन् ।
शित भण्डार सन्चालनमा आउने कुराले यहाँका स्थानिय कृषक उत्साहित भएका छन् । किसानलाई व्यावसायिक बनाउँदै स्वरोजगार बनाउन र कृषि उत्पादनमा समेत वृद्वि गर्न शीत भण्डारले सहयोग पुग्ने खजुरा गाउँपालिकाका अगुवा कृषक गेहेन्द्र धिताल बताउँछन् ।
‘शीत भण्डारमा कृषकले उब्जाएको तरकारी र फलफूल भण्डारण गर्न सकिने छ । किसानले उब्जाएका फलफूल, तरकारी, माछा मासु, दुग्धलगायत वस्तुहरु वातानुकुलित राख्ने व्यवस्था भएपछि हामीलाई हाम्रा उत्पादनहरु खेर जाने डर भएन,’–उनले भने ।
शीत भण्डार नहँुदा र खेती गरेर उब्जाएको वस्तु पनि राख्ने ठाउँ नहुँदा मौसममै सस्तोमा बेच्नुपर्ने अवस्था छ । यसकारण वर्षभरि उत्पादन गरेको आफ्नो कृषि उत्पादनहरु भण्डारण गर्ने स्थान पाए मात्रैपनि व्यावसायिक कृषि कर्म गर्ने ईच्छा भएका किसानका लागि सहजताको एक खुड्कीलो भएको धिताल बताउँछन् ।
उनले किसानको आवश्यकता पहिचान गरी आधुनिक कृषि प्रणाली अपनाउनका लागि प्रविधि र त्यसको प्रयोगको विधि समेत सिकाउने गरी राज्यले प्रबन्ध मिलाउन आवश्यक रहेको बताए । व्यवसायिक तरकारी र फलफुल खेतीगर्दै आएका उनि परम्परागत तरिका भन्दा आधुनिक प्रविधिबाट खेती गर्दा फाईदा पुग्ने बताउँछन् । ‘परम्परागत तरिका भन्दा आधुनिक प्रविधिबाट खेती गर्दा फाईदा हुन्छ, किसानहरुलाई आधुनिक प्रविधिसँग जोड्नु पर्छ ।’–धिताल भन्छन् ।
उनले अहिले करिब डेढ विगाहामा व्यवसायीक रुपले तरकारी खेती गरिरहेका छन् । शीत भण्डार सन्चालन भएमा यस क्षेत्रका किसानलाई धेरै फाइदा पुग्ने बताउँछन खजुराका अर्का कृषक कृष्ण बिक्रम केसी । उनले भने, ‘बर्सेनि हाम्रा उत्पादन कुहाएर फाल्नु पर्ने अवस्था छ । यो अवस्थाको अन्त्यको लागि शीत भण्डार अति आवश्यक पनि थियो । झन निर्माण सम्पन्न भईसकेको र सन्चालनमा आउन मात्रै बाँकी भएको कुराले हामी अझ खुसी छौं ।’
कृषि क्षेत्रमा किसानलाई अनुदान भन्दा पनि यान्त्रीकरणको लागि सहयोग गर्न आवश्यक छ । किसानसँग सहकार्य गरेर आवश्यकता अनुसार अन्य स्थानमा पनि शितभण्डार बनाउन आवश्यक छ । जसले गर्दा किसानलाई आफ्ना उत्पादनको भण्डारणमा समस्या नहुने बताउँछन केसी ।
खजुरा गाउँपालिका मनकामनाका कृष्ण बिक्रम केसीले ३० कठ्ठा जमिनमा व्यवसायीक तरकारी खेतीगर्दै आएका छन् । १२ वर्षअघिदेखि टमाटर खेतीगर्न सुरु गरेका उनि नयाँ प्रविधिको प्रयोग बाट गर्दा धेरै उत्पादन, समयको बचत र काम गर्न पनि सजिलो हुनेमा विश्वास गर्छन् । सो शित भण्डार छिटो भन्दा छिटो सन्चालनमा आउनुपर्ने कृषक केसीको भनाई छ ।
यहाँ किसानले उब्जाएका फलफूल, तरकारी, माछा मासु, दुग्ध जन्य उत्पादन लगायतका वस्तुहरु उपयुक्त तापक्रममा राख्न पाउने छन् ।
खजुरा गाउँपालिकाको नौ हजार पाँच सय ९९ हेक्टर जमिनमा कृर्षिजन्य उत्पादन हुँदै आएको छ । बाँकेको खजुरामा मात्रै नभईकन लुम्विनि प्रदेश नै कृषि उपजका लागि चिनिएको प्रदेश हो । तर, यहाँका अधिकाँश कृषिजन्य उत्पादनहरु उपयुक्त वातावरणमा भण्डारण गर्न नसकिएकै कारण खेर गएको अवस्था छ । यसै अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशले कृषि क्षेत्रको प्रवद्र्धन र उत्पादित बस्तुको उचित भण्डारणको लागि प्रदेशका विभिन्न स्थानहरुमा शित भण्डार निर्माण गरेको छ ।
………..
यस क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्दै प्रतिस्प्रर्धात्मक क्षमता हासिल गरी उत्पादन र उत्पादकत्व अभिवृद्वि गर्नुका साथै कृषिजन्य उद्योगलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको यस प्रदेशले हालसम्म प्रदेशभरिका विभिन्न स्थानमा शित भण्डार निर्माण गरेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटा बताउँछन् । हालसम्म प्रदेशका ११ जिल्लाका ४० वटा स्थानमा शित भण्डार निर्माण गरेको मन्त्रालयका सचिव याम नारायण देवकोटाले जानकारी दिए ।