भुकम्प प्रतिरोधी घर निर्माणमा सचेत बन्दै नागरिक
Tuesday, May 9th, 2023, 11:04 pm
Kalpristha
रजनी योगी
नेपालगन्ज, २६ वैशाख
नेपालगन्ज उप–महानगरपालिका भित्र प्रत्येक एक वर्षको अवधिमा आवासिय तथा व्यवसायिक गरि करिब ८ सय देखि एक हजारसम्म घर निर्माण हुने गरेका छन् । पश्चिम तराईको मुख्य शहरको रुपमा रहेको नेपालगन्जमा अहिले पहाडी क्षेत्रबाट बसाइँ सरेर आउनेको संख्या पनि बढेको छ । विभिन्न सुबिधा खोज्दै तराईमा बसाइँ सरि आउनेको संख्या बढ्नाले पनि घर निर्माणको संख्या बढ्दै गएको हो ।
पछिल्लो समय तराईमा ठूलो भुकम्प गएको पाईएको छैन तर पनि बिपदभित्र पर्ने भुकम्प तराईमा जाँदै नजाने भने होइन । पछि हुने बिपदबाट केही हदसम्म वच्न सकियोस भनी अहिले नै भुकम्प प्रतिरोधी घर निर्माण गर्ने गरिएको नागरिकहरु बताउँछन् । नेपालगन्जको केही स्थानमा वर्षाको बेला डुबान हुने हुँदा अहिले निर्माण गरिने घरहरू डुबानबाट बच्न जमिनको सतहदेखी केहि अग्लो र भुकम्पबाट बच्न नगरपालिकाले तोकेको मापदण्ड अनुसार घर निर्माण गरेको बताउँछन नेपालगन्ज–१२ निवासी ज्ञानेश्वर बोहोरा ।
उनले भने, ‘बिपदले क्षती पुयाउदैन, हामिले बनाएका कमजोर संरचनाले क्षती पुर्याउँछ भने जस्तै बिपदले क्षती पुयाउने नपुयाउने त्यो हामिले बनाएका संरचना माथी भर पर्ने हुँदा हामिले भुकम्प प्रतिरोधी घर नै बनाए केही हदसम्म बच्न सकिन्छ ।’
स्थानीय तह अर्थात गाउँपालिका नगरपालिका नहुँदा पायक पर्ने ठाउँमा घर बनाउने गरिन्थ्यो। अहिले जस्तो नक्सा बनाउने नगरपालिकाले निगरानी गर्ने चलन पहिला पहिला थिएन । आफ्नै मनमानीले घर बनाउनाले अहिले भुकम्पले घर चर्किने र बाटो चौडा बनाउने नाममा घरको आधा भाग भत्काईदिने गरेको बताउँछिन सल्यानबाट भर्खरै नेपालगन्ज आएकी ६१ वर्षीय पवित्रा बिक । स्थानीय तहहरुले नै भुकम्प वा बिपदबाट बच्ने बलिया घर बनाउन भनेको आफुले मात्रै थाहा पाएको उनको भनाई छ ।
नेपालगन्ज उप–महानगरपालिकाले भुकम्पिय जोखिमलाई मध्यनजर गर्दै नगरभित्र बन्ने घर भुकम्प प्रतिरोधी बनाउनुपर्ने मापदण्ड लागू गरेको छ । नेपालगन्ज उप–महानगरपालिका नक्सा शाखा प्रमुख सुरज शर्माले नयाँ घर बनाउने घर धनिहरु आफै बिपदप्रती सचेत भएको र त्यसमा नगरपालिकाको विशेष निगरानी हुनेगरेको बताउँछन ।
शर्माका अनुसार भुकम्प प्रतिरोधी घर निर्माण गर्दा राष्ट्रिय भवन संहिता र नेपालगन्ज उप–महानगरपालिकाको भवन निर्माण आचारसंहिताको मापदण्ड भित्र रहेर कन्सल्टेन्सिले नक्सा डिजाइन गर्छ । उक्त नक्सा नगरपालिकामा आउँछ र नगरपालिकाले चेकजाँच गर्छ, नगरपालिकाबाट नक्सा पास भएपछि घर निर्माणको लागि अनुमति दिन्छ । घर निर्माण सुरुभएपछी पनि नक्साको संरचना अनुसार घर निर्माण भए नभएको फेरि अनुगमन गर्ने काम गर्छ र नगरपालिकामा पेश गरेको नक्सा अनुसार घर निर्माण भएको पाईएमा नगरपालिकाले नक्साको संरचना अनुसारको घर निर्माण गरेको भनी प्रमाणित गर्दछ । यसरी नगरपालिकामा अहिले भुकम्प प्रतिरोधी घर निर्माण गर्ने गरिएको शर्माको भनाई छ ।

…………..
पछिल्लो समय गोरखाको बारपाक केन्द्र बिन्दु बनाइ २०७२ सालमा गएको बिनासकारी भुकम्पले नेपालका १४ जिल्ला अतिप्रभाबित भए । करिब ८ हजार भन्दा बढि मानिसको मृत्यु भएको तथ्यांक छ । त्यसपछि पनि साना ठुला पराकम्पनहरु अहिलेसम्म आइरहेका छन् । ती पराकम्पनका केन्द्रबिन्दु क्षेत्रमा सानो–ठूलो भौतिक तथा मानवीय क्षती पुगेको छ । कुनै पनि बिपद अगाडी नै आउने थाहा नहुने हुँदा बिपद आउनुपुर्ब र आईसकेपछी के गर्ने भन्ने सन्दर्भमा काम गर्ने गरेको बताउँछन बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य । बिपदप्रती अहिले नागरिकहरु आफै पनि सचेत नै छन् । जिल्लामा सम्बन्धित पालिकाहरुले मापदण्ड तोकेर भुकम्प प्रतिरोधी घर निर्माण गरिरहेको आचार्यल बताए ।
नेपालगन्ज नगरभित्र निर्माण गरिने नयाँ घरहरु अहिले भुकम्प प्रतिरोधी बन्ने गरेका छन् । शहर बजारमा ठुला–ठुला घर निर्माण गरिनाले त्यस्ता घरहरुमा अझ बढी जोखिम हुने हुन्छ, त्यसैले पनि नागरिक अहिले सचेत हुनुपर्ने देखिन्छ ।