नेपालगन्ज नाकाबाट ८० लाख ५९ करोडको आलु आयात
Saturday, May 27th, 2023, 5:08 pm
Kalpristha
नेपालीको भान्छामा सबैभन्दा बढी प्रयोग हुने तरकारी हो, आलु । तर नेपालमा आलु उत्पादनको परनिर्भरता भने उल्लेख्य रुपमा अँझै घट्न सकेको छैन ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ जेठ
चालू आर्थिक वर्षको बैशाख सम्म जमुनाहनाकाबाट ८० करोड ५९ लाख ८३ हजार रुपैयाँ बराबरको आलु भित्रिएको छ । यो अवधिमा ३२ हजार ३ सय २ मेट्रिक टन आलु भित्रिएको हो । गत आर्थिक बर्षको साउन देखि बैशाख सम्म भित्रिएको आलु परिमाण हेर्ने हो भने यो ८ हजार ३ सय १८ दशमलव ६८ मेट्रिकटन कम आलु हो । गत आर्थिक बर्षको साउन देखि बैशाख सम्म १ अर्व २ करोड ११ लाख ४० हजार बराबरको ४० हजार ६ सय २० दशमलव ७मेट्रिकटन आलु भित्रिएको थियो ।
यसैगरि गत आर्थिक बर्ष २०७८–७९ मा भने १ अर्व १० करोड ८३ लाख ५५ हजार रुपैयाँ बराबरको आलु भित्रिएको थियो । यसको परिमाण ४४ हजार ९८ दशमलव ७ मेट्रिकटन हुन आउँछ । यस अवधिमा भन्सार कार्यालय नेपालगन्जले आलुबाट मात्रै १५ करोड ६४ लाख ३८ हजार बराबरको राजस्व अशुल गर्यो । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा २६ करोड ७० लाख ४८ हजार मुल्य बराबरको १० हजार ६ सय ८३ दशमलव ८९ मेट्रिकटन आलु भित्रिएको थियो । यहि बर्षको माघ सम्ममा भने ६६ करोड ९६ लाख ५० हजार मुल्य बराबरको २६ हजार ७ सय ५२ दशमलव ६७ मेट्रिकटन आलु आयात भएको थियो ।
चालू आर्थिक वर्षको बैशाख मसान्त सम्ममा आलुबाट भन्सार कार्यालय नेपालगन्जले ११ करोड ४२ लाख ६९ हजार ४ सय १५ रुपैया राजस्व अशुल गरेको छ । नेपालीको भान्छामा सबैभन्दा बढी प्रयोग हुने तरकारी हो, आलु । तर नेपालमा आलु उत्पादनको परनिर्भरता भने उल्लेख्य रुपमा अँझै घट्न सकेको छैन ।
आलुको आयात कम गर्ने एकमात्र उपाय भनेकै आलु उत्पादनमा वृद्वि गर्नु भएको बताउँछन कृषि ज्ञान केन्द्र नेपालगन्जका निमित्त कार्यालय प्रमुख शकील अहमद । उनले भने,‘ पर्याप्त सिँचाई र रासायनिक मलको उपलब्धता छैन । त्यसबाहेक किसानले उत्पादन गरेको आलुको भरपर्दो बजार समेत छैन । यहाँ उत्पादित आलुले भारतिय बजारको आलुसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था छैन यस कारणपनि यहाँका किसान आलु उत्पादन गर्न त्यहि सुरक्षित ठान्दैनन् ।’
बाँकेको जमुनाह नाकाबाट भित्रिने गरेको आलु बाँकेका लागि मात्र नभई यस क्षेत्रका सबै जिल्लामा जाने गरेको कृषि ज्ञान केन्द्र नेपालगन्जका निमित्त कार्यालय प्रमुख शकील अहमद बताउँछन् ।
आफुहरुलाई राज्यले मल, विउ र सिचाईको उचित व्यवस्था गर्न सके आलु उत्पादनमा अँझ सहयोग मिल्ने डुडुवा गाउँपालिका–६ भङ्घोट्नाका किसान जयपाल मौर्य बताउँछन् । मौर्यले एक सिजनमा ८० कठ्ठामा ६ सय ४० क्विन्टल आलु उत्पादन गर्दै आएका छन् । ‘हामीले केहि ठुलो कुरा मागेकै छैनौ मल, उन्नत जातको विउ र सिचाई हामीलाई अत्ति आवश्यक छ । साथै हामीलाई केवल उपयुक्त बजारीकरण र मुल्य कायम गरिदिए हुन्छ,’–उनले भने ।