सहकारीको पैसाले चिल्ला गाडी चड्नेले सहकारी डुबाए
Saturday, June 3rd, 2023, 9:32 pm
Kalpristha
सहकारीका नाममा कम्पनि चलाउनेहरुलाई कसरी सहयोग गर्न सकिन्छ र ? सदस्यको पैसा उठाएर सदस्यहरुलाई लगानी नगरिकन व्यक्तिगत रुपले चलाएर हिडेका सहकारी नै अहिलेको अवस्थामा धेरै धरापमा परेका छन् ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २० जेठ
सहकारी क्षेत्र यतिबेला अलपत्र परेको छ । राज्यले अर्थतन्त्रको एउटा खम्बाका रुपमा सहकारीलाई मानेर अघि बढिरहँदा सहकारी क्षेत्र आफै असरल्ल अवस्थामा छ ।
यहाँ बचतकर्ताहरुले आफ्नो बचत फिर्ता नपाएको गुनासो गरिरहेका छन् भने, सहकारीहरुले समेत उनीहरुको बचत फिर्ता गर्न सकेको अवस्था छैन । सहकारीकर्मीहरूको भने नियामक निकायको कमजोर उपस्थितिका कारण सहकारीको समस्या जटिल बन्दै गएको बुझाइ छ ।
१० बर्ष अनुभवमा सहकारी क्षेत्रको यस्तो बेथिति र बदनामी आफुले कहिल्यै नदेखेको अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष उषा भण्डारी बताउँछिन् । उनी भन्छिन्,–‘जतिबेला हाम्रो सहकारी बामे सर्दै थियो । त्यसबेला अहिलेको जस्तो अफ्ठ्यारो परिस्थिती थिएन । बरु राम्रो थियो । सहकारीले पैसा उठाएर उत्पादन मुलक क्षेत्रमा अर्थोपार्जनका लागि लगानी गर्ने काम गर्छ । यसमा बचत र लगानीको प्रक्रिया चलिरहनु पर्छ । कुनै एक काम मात्रै रोखिए पुरै प्रक्रियामा असर परिरहेको हुन्छ । अहिले त्यस्तै भएको छ । लगानी उठेको छैन । बचत फिर्ता माग्नेको लाईन छ ।’
‘हामीले बचत फिर्ता नगरे व्यक्ति कानुनी प्रक्रियामा जान्छ । तर, हामीलाई पनि त नउठेको लगानी उठाउनको लागि सहयोग र समन्वय हुनुप¥यो ,’–उनले थपिन् ।
आर्थिक अभावले मात्रै भन्दा पनि सहकारीमा हुनसक्ने वित्तिय जोखिबारे सहकारीहरु पहिले नै सजग नबन्दा समेत यो समस्या निम्तिएको उनी बताउँछिन् । यसको लागि सहकारीहरुले लगानी गर्दै गर्दा अपेक्षित प्रतिफल प्राप्त हुन नसक्ने सम्भावना तथा तरलता सम्बन्धी जोखिम समेतलाई मध्येनजर गर्न सक्नुपर्नेमा त्यसो हुन नसकेको उनको भनाई छ ।
राज्यले निर्धारण गरेको निति, ऐन, कानुन, नियमावली, विधि र प्रक्रियामा चलेका सहकारीहरुमा समस्या छैन । सहकारी संस्था भन्दैमा सबैले सहकारी मोडलको आधारभुत कुरामा टेकर काम नगरेको बताउँछिन् जिल्ला सहकारी संघका उपाध्यक्ष मिना ढुङ्गाना सिग्देल । उनी भन्छिन, ‘नेपाल सरकारले दिएको बाटो समातेर काम ग¥यो भने अफ्ठ्यारोमा परेका सहकारीहरुलाई सहयोग गर्न हामीलाई सहज हुन्छ । तर, सहकारीका नाममा कम्पनि चलाउनेहरुलाई कसरी सहयोग गर्न सकिन्छ र ? सदस्यको पैसा उठाएर सदस्यहरुलाई लगानी नगरिकन व्यक्तिगत रुपले चलाएर हिडेका सहकारी नै अहिलेको अवस्थामा धेरै धरापमा परेका छन् ।’
नाम सहकारी, काम कम्पनि शैलिमा गर्ने सहकारीहरु नै अहिले अफ्ठ्यारोमा परेको भन्दै उनले बाँके जिल्लाका धेरै सहकारी संस्थाहरुमा त्यस्तो खालको उथलपुथल भएको उनले बताईन् ।
‘सहकारी पैसाले चिल्ला गाडी चड्नेले सहकारीलाई डुबाएका छन् । सहकारीको सन्चालक भन्दैमा चिल्ला गाडि चढेर दिनदिनै ठाँउ–ठाँउमा बसेर मोजमस्ती सित आफ्नो जिवन शैलि बदल्न जरुरी छैन । त्यसको साटो बरु नियमसंगत ढंगले सहकारीको सन्चाल गर्न सके कठीन परिस्थितीमा पनि टिक्न सहज हुन्छ ।’
त्यस्ता सहकारीहरुका कारण नियम संगत रुपले चलेका सहकारीहरु अफ्ठ्यारोमा परेको अबस्था भएको भन्दै उनी भन्छिन्,–‘सहकारीको छवि धमिलो बनाउने सहकारीहरुलाई मैले त के भन्छु भने, कुनै पनि लगानी नउठेर समस्या भएको हो भने । कसरी हुन्छ त्यसको लगानी उठाउनमा सबैले सहयोग गरौं । हैन भने सहकारीको छवि धुमिल नबनाऔं । कोई व्यक्तिले सहकारीमा बचतकर्ताको पैसा खाएर हिनामिना गर्छ भने त्यसलाई पनि कारवाहिको दायरामा ल्याउनु पर्छ । साथै सहकारीबाट ऋण लिएको व्यक्तिले तिर्न नखोज्दा केहि नहुने भन्ने हुनुहँदैन ।’
यसमा राज्यले पनि स्पष्ट निति ल्याउनपर्ने उनले बताईन् । जिल्लाका आठैवटा स्थानीय तहमा अनुगमनका लागि जिल्ला सहकारी संघको उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति बनेको छ । जसले समय समयमा सहकारीहरुको अनुगमन गर्दै आएको जिल्ला सहकारी संघका उपाध्यक्ष सिग्देल बताउँछिन् ।
स्थानीय सरकारले सहकारीलाई राम्रोसंग नहेरेको उनको गुनासो छ । जिल्लाको परिस्थिति हेर्ने हो भने नेपालगन्ज उप–महनगरपालिकाले मात्रै ठिकै काम गरेको अवस्था भएको भन्दै जिल्लाका कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका लगायतका अन्य स्थानीय तहमा सहकारीका सवालमा खासै राम्रो काम स्थानीय तहले गर्न नसकेको उनले जानकारी दिईन् ।
‘सहकारीको विषयबारे जनप्रतिनिधि नै जानकार छैनन् । त्यहाँका जनप्रतिनिधि मात्रै जानकार हुन सके स्थानीय स्तरमा सहकारीबारे आवश्यक ज्ञानको प्रवाह गर्न सकिन्छ । कर्मचारीले त अनुगमनमा सहजीकरण र त्यसको तथ्याङ्कीय विवरण सहि भए–नभएको यकिन कुरा चेकजाँच राख्ने मात्रै हो । तर, स्थानीय स्तरमा काम गर्ने र तिनका गुनासा सुन्ने भनेको त जनप्रतिनिधि नै हो । यसबारे सचेतनाको लागि बजेट छुट्याउने कुरामा उनीहरुकै भुमिका महत्वपुर्ण हुन्छ । किनभने जवसम्म सहकारीबारे बचतकर्ता जानकार हुदैंनन् । तबसम्म सहकारीबारे प्रष्ट धारण बन्न सक्दैन र जसले जे–जे भन्यो त्यहि पत्याउनपर्ने अवस्था आउँछ ।’
नेपाल सरकारले सहकारीलाई तिनखम्बे अर्थनिति भित्र राखिरहँदा स्थानीय सरकारले बाईपास गर्न नपाउने उनको दावि छ । सरकारले सरकारी, निजि र सहकारी गरि तिन वटा क्षेत्रको सन्तुलनमा कायत गर्ने भनिरहँदा स्थानीय तहले पनि अब आउने बजेटमा केहि रकम छुट्याएर यस क्षेत्रको सचेतिकरण, अनुगमन तथा नियमन गर्न सके राम्रो हुने उनको भनाई छ ।
‘संघियता पश्चातका ६ बर्षहरुमा कुनैपनि स्थानीय तहले सहकारी क्षेत्रको अपनत्व लिएर काम गरेको पाईएको छैन । बजेट खर्च गर्नपरे यहाँका जनप्रतिनिधिहरुले कहाँ बजेट खर्च गर्ने कहाँ बाटो बनाउने भन्नेमा मात्रै ध्यान गएको छ । अबका दिनमा सहकारीका विषयमा समेत स्थानीय तहको ध्यान जान जरुरी छ ।’
सहकारीहरुको लगानी नउठ्ने तर, बचतकर्ताहरु आफ्नो पैसा लिन लाईन लागिराखेको अवस्थाका कारण पछिल्लो समयमा सहकारीहरु समस्यामा पर्न थालेको सहकारी अभियन्ता तथा राष्ट्रिय सहकारी बैङ्कका लुम्बिनी प्रदेश संयोजक विजया धिताल बताउँछिन् ।
सहकारीहरुको कार्यक्षेत्र सिमित र सानो हुन्छ । सहकारीमा निश्चित कार्यक्षेत्र तथा समुदायका मानिसहरु सदस्य रहने भन्दै उनले भनिन्,–‘यहाँ लगानी गर्दा निश्चित भुगोल तथा समुदायमा बस्ने मानिसहरुको के कस्तो अवस्था रहेको छ ? उनिहरुको साझा समस्या के हो ? कस्तो सेवा उनिहरुको लागी प्रभावकारी हुन्छ ? जस्ता विषय बस्तुहरुको पहिचान नै नगरी ऋण लगानी गरेका कारण पनि सहकारीले यस्तो अवस्था बेहोर्नु परेको हो ।’ साथै, सहकारीहरुलाई राज्यले समेत सहयोग नगरेको उनको गुनासो छ ।
किन समस्यामा पर्छन सहकारीहरु ?
आर्थिक सुशासन र वित्तिय अनुशासनमा रहेक काम नगरेका कारण अहिले बाँकेका थुप्रै सहकारी आर्थिक संकटमा छन । केहि सहकारी बन्द हुने अवस्थामा छन भने केहि सहकारीका संचालकहरु नै फरार भएको अवस्था छ । सहकारीले अप्ठयारो अवस्थाको सामाना गरिरहेका बेला एउटा गाउँघरबाट आफनो सेवा सुरु गरेर उत्कृष्ट काम गरिरहेको सहकारीको रुपमा चिनिएको छ साकार कृषि सहकारी संस्था लिमिटेड ।
सहकारी किन धरापमा पर्छन, त्यसबाट जोगिन के गर्नु पर्छ र के कस्ता क्रियाकलापले सहकारीलाई समस्यामा पार्छ भन्ने बारेमा साकार कृषि सहकारी संस्था लिमिटेडका मुख्य व्यवस्थापक जमान सिंह ओलीले प्रस्तुत गरेका बुदाहरु प्रस्तुत गरिएको छ ।
१.सञ्चालकमा आपसी छलफल र सहकार्य भएन भने
२. सञ्चालकमा साझा धारणा बन्न सकेन भने
३. सञ्चालकमा उमेर, आर्थिक अवस्था, ज्ञान, सोच, रुचि, पृष्ठभूमिमा विविधता भयो भने
४. सञ्चालक–सञ्चालक बीच विश्वासको खँडेरी प¥यो भने
५. आवश्यकता अनुसार गोपनियता र पारदर्शिता कायम भएन भने
६. सहकारीमा राजनितिक गन्ध मिसियो वा सो अनुसार व्यवहार गरियो भने
७. सहकारीमा सीमित व्यक्तिले आफू अनुकुल निर्णय गर्न थाले भने
८. व्यवस्थापन र सञ्चालक समिति बीच सहकार्य र आपसी छलफल भएन भने
९. सञ्चालक समिति, लेखा समिति, उप–समिति, कर्मचारी अनि सदस्यहरु संस्था र सदस्यप्रति वफादार र उत्तरदायी भएनन् भने
१०. कर्मचारी–कर्मचारी बीचमा एकता भएन भने वा गुटबन्दीको अवस्था सिर्जना भयो भने
११. आफू हुँदा ठीक आफू नहुँदा बेठीक भन्ने धारणा विकास हुँदै गयो भने
१२. समय अनुसार नीति पुनरावलोकन गरिएन भने
१३. आवश्यकता अनुसार सहि समयमा सहि निर्णय हुन सकेन भने
१४. सञ्चालक वा कर्मचारीको योगदानको सहि मुल्याङ्कन र कदर भएन भने
१५. नीति, विधि, पद्दति र कानुनको परिपालना भएन भने
१६. सदस्यमा सहकारी संस्थाप्रति उत्तरदायि भएन भने
