‘संविधान कार्यान्वयनमा इमानदारिताको अभाव छ’
Wednesday, September 20th, 2023, 7:33 pm
Kalpristha
नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको संविधान कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बोल्ने वक्ताले नेतृत्व पंक्तिमा इमानदारिता नभएका कारण समस्या सृजना भएको बताएका हुन् । अन्तरक्रियामा बोल्ने अधिकाश वक्ताहरुले संविधान कार्यान्वयनमा इमानदारिताको अभाव देखिएको सुझाव दिएका छन् ।
रजनी योगी
नेपालगन्ज, ३ असोज
संविधान कार्यान्वयनमा राजनिति दलका नेतृत्व र नागरिक समाजको भुमिका कमजोर भएका कारण अहिले समस्या देखिएको सरोकारवाल निकायले सुझाव दिएका छन् । नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको संविधान कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बोल्ने वक्ताले नेतृत्व पंक्तिमा इमानदारिता नभएका कारण समस्या सृजना भएको बताएका हुन् । अन्तरक्रियामा बोल्ने अधिकाश वक्ताहरुले संविधान कार्यान्वयनमा इमानदारिताको अभाव देखिएको सुझाव दिएका छन् ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका अगुवाहरुले आ–आफनो धारणा राख्दै संविधानको कार्यान्वयनमा जोड दिएका थिए ।
सातौं संविधान दिवसको अवसरमा नेपालगन्जमा भएको अन्तरक्रिया कार्यक्रममा विभिन्न निकायका अगुवाहरुले आफनो धारणा राख्दै यसको कार्यान्वयनमा सबैले आफनो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिइएको थियो । पुर्व राष्ट्रपति डा. रामवरण यादव र पुर्व प्रधानमन्त्री स्व. सुशिल कोइरालाको नेतृत्वमा २०७२ साल असोज ३ गते नेपालको नयाँ संविधान घोषणा गरिएको थियो । जसको स्मरण गर्दै बिहिबार युनियन बाँकेले अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
संविधान निर्माण गरेर जारी गर्ने क्रममा आएका समस्याको स्मरण गर्दै संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मिकीले भने ‘संविधान भित्र यती छिटै धेरै जटिलता आउला भन्ने लागेको थिएन । संविधान जारी गर्दा देखि नै असहमति जनाउने र बहिष्कार गर्ने पक्ष थिए । त्यहीं देखि नै कार्यान्वयनको पाटो पछि परेको देखिन्छ ।’
संविधान कार्यान्वयनको लागि स्थानीय तहलाई सबैभन्दा धेरै जिम्मेवारी दिईएको थियो । आज पनि नेताहरु संविधान कार्यान्वयन गर्न भन्दा पनि सत्तामै जानको लागि दौडिरहेका छन् ।’ नेपालको यो संविधानलाई बलियो र संसारकै उत्कृष्ठ संविधान मानिएको छ । तर पूर्ण रुपमा संविधान कार्यान्वयन अझैं पनि हुन सकेको छैन ।
मानव अधिकार, महिला अधिकार, दलित अधिकार र बालअधिकार जस्ता अधिकारहरु पहिला थिएनन् । अहिले संविधानले यस्ता अधिकारहरु ल्याएको छ । यती धेरै अधिकार प्राप्त संविधान कार्यान्वयनमा ल्याउन हामी जुन ठाउँमा जुन हैसियतमा छौं त्यही ठाउँबाट देशलाई दुख्यो भने असमती जनाउँदै लड्नुपर्छ अनि मात्र संविधान कार्यान्वयन अगाडी बढ्ने राजनितिक विश्लेषक डा.जनार्दन शर्मा आचार्यले बताए ।
उनले भने ‘संविधान कार्यान्वयनको लागि हामिले नेतृत्वमा पठाएका नेतृत्वकर्तालाई दवाव दिन सक्नुपर्छ । अगाडीका संविधान भन्दा २०७२ को संविधान खर्चिलो र परिपक्क संविधान भएको भन्दै कुनै बेला संविधान निर्माण गर्न भारतबाट विज्ञहरु ल्याउने अवस्थाको स्मरण गर्दै उनले भने, ‘जबसम्म हामिले सहि नेतृत्व चयन गर्न सक्दैनौं तबसम्म संविधान कार्यान्वयन हुने अवस्था देखिदैन ।’
एक रातमा मान्छेको हैसियत फेरिन्छ भने जारी भएको यतीका वर्ष पुग्दा संविधान कार्यान्वयन हुन नसक्नु भनेको दुःखद कुरा भएको उनको भनाई छ । यसैगरी कार्यक्रममा अहिले सम्म संविधान पुर्ण रुपमा कार्यान्वयन नहुनु भनेको कहिं कतै छिद्र भएका ठाउँबाट गलत नियत राख्ने व्यक्तिले त्यसको फाइदा लिने अवसर पाएको नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष हेमन्त कर्माचार्यले बताए । उनले भने,‘संविधान कार्यान्वयनमा सरोकारवाला निकायको भुमिका पनि कमजोरी छ । संविधान निर्माण गर्ने क्रममा नागरिक सरोकारवालाको भुमिकामा पनि शंका गर्ने ठाउँ थियो । जसका कारण आज हामीले समस्या भोगिरहेका छौं । संविधानलाई बलियो बनाउन नेतृत्व गर्ने व्यक्तिले इमानदारिता देखाउनु पर्छ ।’
यस्तै, नेपाल बार यशोसियसन बाँकेका अध्यक्ष चित्र बहादुर शाहीले अहिलेसम्म संविधान कार्यान्वयन किन नभएको भनि अनुसन्धान नभएको बताए । संविधान कार्यान्वयन गर्ने व्यक्तिहरु नै गम्भिर नभएको भन्दै संविधान कार्यान्वयन गर्ने पक्ष इमान्दार हुनुपर्ने उनको सुझाव थियो । यसैगरि महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक रुद्र प्रसाद तिमिल्सेनाले संविधानले दिएको कर्तव्य कति हदसम्म पालन गरेका छौं यसको मनन् गर्नुपर्ने बताए । संविधान कार्यान्वयनको पहिलो पाटो भनेको हामिले दिने अमूल्य मत भएको बताउँदै अबको नेतृत्व चयन गर्दा ध्यान दिने पर्ने उनले बताए ।
नेतृत्वमा जानेहरुले पनि आफु संविधान कार्यान्वयन गर्न सक्ने हैसियत भएको व्यक्ति हुँ भन्दैं आफुलाई नेतृत्वमा पठाउनुस् भनेर भोट माग्नुपर्ने उनको सुझाव थियो । संविधानका पिता मानिएका स्वर्गिय शुशिल कोइरालाको गृह जिल्ला बाँके भएकाले पनि आजको दिन विशेष रहेको अधिवक्ता सुनिल श्रेष्ठले बताए । हामिले आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गरिरहँदा अरुलाई गर्ने व्यवहार समान हुनुपर्ने उनको भनाई छ । विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले हरेक दिन संविधानलाई मनन गरेर काम गर्नु पर्ने सुझाव दिए ।
कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, कानुन व्यवसाय, स्वास्थ्यकर्मी, अभियन्ता र पत्रकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती थियो । धेरै जसो बोल्ने वक्ताहरुले संविधान कार्यान्वयनको पाटोप्रति असन्तुष्टि जनाएका थिए ।

…………….