बैदेशिक रोजगारमा रहेका कामदारका परिवारसंग अन्तरक्रिया
Friday, October 13th, 2023, 5:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ असोज
बैदेशिक रोजगार बोर्डको सचिवालयले बैदेशिक रोजगारमा रहेका कामदारका परिवारहरुसंग नेपालगन्जमा अन्तरक्रिया गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको बैदेशिक बोर्डको सचिवालयले नेपालगन्ज उप-महानगरपालिकाका २३ वडाबाट बैदेशिक रोजगारमा रहेका कामदारका परिवारहरुसंग आज अन्तरक्रिया गरेको हो ।
नेपालगन्ज उप-महानगरपालिका रोजगार शाखाको समन्वयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने कल्याणकारी सेवा र त्यसका लागि पुर्याउनुपर्ने प्रक्रिया तथा आवश्यक कागजातका विषयमा परामर्शसंगै सुरक्षित बैदेशिक रोजगारीका लागि ध्यान दिनुपर्ने पक्षहरुमा अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा बोल्दै बैदेशिक रोजगार बोर्डको सचिवालयकी निर्देशक सीता दुवाडीले सुरक्षित बैदेशिक रोजगारीका लागि अनिवार्य श्रम स्विकृति लिन, सीप सिकेर मात्र जान, अभिमुखीकरण तालिम अनिवार्यरुपमा लिन, स्वास्थ्य परीक्षण र बीमा आधिकारिक संस्थाबाट मात्र गराउन तथा घरपरिवारसंग सल्लाह गरेर जान आग्रह गरिन । उनले बैदेशिक रोजगार बोर्डको सचिवालयले प्रदान गरिरहेको राहत, उद्धार तथा कल्याणकारी सेवाका बारेमा जानकारी गराएका थिए ।
नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले सकेसम्म स्वदेशमै बसेर काम गर्न आग्रह गर्दै बैदेशिक रोजगारीमा जानै परे सीप सिकेर मात्र जानुपर्नेमा जोड दिए । श्रम स्विकृति लिएका कामदारले मात्र राज्यले प्रदान गर्ने आर्थिक सहायता पाउने भएकाले सुरक्षित रोजगारीका लागि सचेत हुनुपर्ने बताए ।
बैदेशिक रोजगार बोर्डको सचिवालयका शाखा अधिकृत नरबहादुर चन्दले यस आर्थिक बर्षमा मुलुकका सात वटै प्रदेशमा बैदेशिक रोजगारमा रहेका कामदारका परिवारहरुसंग भेटघाट र अन्तरक्रिया गर्ने कार्य योजना बमोजिम नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उनले बैदेशिक रोजगारमा रहेका कामदारका परिवारहरुलाई सचेतीकरण गर्ने उद्देश्यले अन्तरक्रिया गरिएको बताए । नेपालगन्ज उप-महानगरपालिका रोजगार शाखा संयोजक मञ्जु ज्ञवालीले नेपालगन्जमा बैदेशिक रोजगारमा रहेका कामदारका परिवारहरु धेरै विषयमा अनभिज्ञ रहेका कारण अन्तरक्रिया कार्यक्रम निकै फलदायी हुने विश्वास व्यक्त गरे । ज्ञवालीले नेपालगन्ज उप-महानगरपालिकाले उनीहरुलाई यसबारे सुसूचित गर्न प्राथमिकताका साथ काम गरिरहेको बताए ।
नेपालगन्ज उप-महानगरपालिकाका २३ वडाका करिब ५ दर्जन बैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यहरु सहभागी अन्तरक्रियामा रिटर्नी माइग्रेन नेपालका अध्यक्ष लक्ष्मीप्रसाद आचार्य, हरि सुवेदी लगायतले सहजीकरण गर्नुभएको नेपालगन्ज उप-महानगरपालिकाका रोजगार सहायक अनुप बर्माले जानकारी दिए ।
बैदेशिक रोजगार विभागले गर्ने राहत, उद्धार तथा कल्याणकारी कार्यहरुमा विदेशमा अलपत्र परेको शबको उद्धार, विदेशमा मृत्युु भएका कामदारको शव झिकाउने र घर ठेगानासम्म पुर्याउने, मृत्यु भएका कामदारका हकदारलाई तोकिए बमोजिमको आर्थिक सहायता दिने, अंगभंग भएका कामदारलाई तोकिए बमोजिमको आर्थिक सहायता दिने, कामदारको परिवार गम्भीर विरामी भएमा तोकिए बमोजिम दिइने उपचार सहयोग प्रदान गर्ने, बैदेशिक रोजगारीको क्रममा मृत्यु वा पूणर्रुपमा अशक्त भएको कामदारको छोराछोरीलाई छात्रबृत्ति प्रदान गर्ने, बैदेशिक रोजगारमा गएका कामदारका लागि कानुनी प्रतिरक्षा तथा परामर्शका लागि सहयोग गर्ने, नेपाली राजदुताबासबाट सुरक्षित गृह सञ्चालन, स्वदेश फकिएका कामदारलाई पुनः एकीकरण तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने लगायत छन् ।