निकुञ्ज, वन्यजन्तु र मानव बीचको द्वन्द्व
Tuesday, January 30th, 2024, 6:14 pm
Kalpristha
रामकुमारी चौधरी
बर्दिया, १६ माघ
विक्रम संवत २०३२ सालमा कणर्ाली वन्यजन्तु आरक्षको रूपमा स्थापित निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने २०४५ मंसीर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो । बर्दिया जिल्लाका कणर्ाली र बबई नदीका केही भाग समेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो मानिन्छ । बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफलः ९६८ वर्ग किलोमिटर रहेको छ भने मध्यवर्ति क्षेत्रको क्षेत्रफलः ५०७ वर्ग किलोमिटर छ । यस निकुञ्जको मध्यवर्ती क्षेत्र वि.सं. २०५३ मा घोषणा भएको थियो । शुरुमा ३२७ वर्ग किलोमिटर क्षेत्रफल समेटेर घोषणा भएको मध्यवर्ती क्षेत्र सन् २०१० मा १८० वर्ग किलोमिटर थप गरी सुर्खेत तर्फ विस्तार गरिएको छ ।
वन र वन्यजन्तु संरक्षण
निकुञ्ज मध्यवर्ति क्षेत्र विस्तार भएसँगै २०५८ सालमा खाता सामुदायिक वन समन्वय समितीले वन सम्रक्षण सँगै खाता जैविक मार्गलाई ब्यवस्थित बनाउने अभियान चलायो । भारतको कतरनियाघाट बर्दिया राष्ट्रिय निकुञ्जमा आउने वन्यजन्तुकोलागि विसाउने चौतारीको रुपमा खाता सामुदायिक वनमा रुख विरुको संरक्षणसँगै विभिन्न स्थानमा पानी पोखरी पनि निर्माण गरिदिएपछि वन्यजन्तुको संख्या राज्यको अपेक्षा भन्दा ३ गुणा बृद्धि भएको स्थानीय संरक्षणकर्मी भदै थारु दावी गर्छन् । देशको सबैभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २००९ मा बाघको सङ्ख्या जम्मा १८ थियो भने सन् २०१८ को गणनाले करिब ८७ बाघ रहेको निष्कर्ष निकालिएको थियो । पछिल्लो २०२२ को गणनामा ८७ बाट बाघको संख्या १२५ पुगिसकेको छ । अन्तरदेशीय जैविक मार्गका रुपमा रहेको खाता जैविक मार्गलाई बाघ संरक्षण उत्कृष्टताको लागि विभिन्न पुरस्कार समेत प्रदान गरिएको छ । २०२ वर्ग किलोमिटर क्षेत्रफल ढाकेका ७४ वटा सामुदायिक वनहरूको सञ्जाल सहित यस क्षेत्रमा सञ्चालन गरिएका समुदायमा आधारित संरक्षण प्रयासहरूले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु आरक्षबीच बाघहरूका लागि सुरक्षित मार्ग प्रदान गरेको मानिन्छ । निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यसनिकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको वेवसाईटमा उल्लेख छ ।
विसाउने चौतारीको रुपमा संरक्षण गरेको खाता, वन्यजन्तुको वासस्थान
खाता जैविक मार्गलाई चौतारीको रूपमा विकास गर्न खोजिए पनि पछिल्लो समय बाघको बासस्थान बन्न पुग्दा चुनौती थपिएको छ । बनाउन खोजेको चौतारीजस्तो हो । स्थानिय संरक्षणकर्मी भदै थारुले भने ‘बर्दिया राष्ट्रिय निकुञ्जको बाघ यहाँ केहीबेर आराम गर्ने र भारततर्फ जाने, भारततर्फको बाघ आउने यहाँ केहीबेर आराम गर्ने र बर्दिया राष्ट्रिय निकुञ्जमा जाने बनाउन खोजिएको हो, तर, खाता जैविक मार्ग बाघको बासस्थानको रूपमा विकास हुन थाल्यो यो चुनौतीको विषय हो ।’
आफैले संरक्षण गरेको सामुदायिक वनमा २१ वर्षअघि बाघसँगको जम्काभेटमा आँखा गुमाउन पुगेका भदै थारु संरक्षणको काममा निरन्तर लागेका छन् । संरक्षणको काममा आफ्नो रगतको नाता रहेको स्मरण गर्दै भदैले जैविक मार्गको आवश्यकता बारे गीतमार्फत सन्देश दिने गर्छन् । उनी संरक्षणको क्षेत्रमा चर्चित व्यक्तिकारुपमा परिचित छन् । जब बाघले आफ्नै गाउँघरका मानिसलाई आक्रमण गर्छ, मान्छेँ मार्छ । त्यसपछि भदैलाई दोष थोपार्ने गरिन्छ । तर, भदै यस्ता दोषहरूबाट विचलित भने भएका छैनन् । ‘बाघ संरक्षण गर्दा मेरो रगत बगेको छ। मेरो रगतको नाता छ’, उनी भन्छन्, ‘यो पृथ्वी सबैको घर हो । जैविक विविधता बच्यो भने बल्ल हामी बच्छौैं।’ संरक्षणको अभियान चलाउन गाह्रो भएको अनुभव भदैको छ । ‘जबजब घटना हुन्छ, तब-तब जनावरको बारेमा, जैविक विविधताको बारेमा, रुखको बारेमा कुरा गर्ने मान्छेलाई दोष आइरहेको छ’, उनले भने, ‘किन भने यही हो जनावर बचाउने, बाघ बचाउने । अहिले मान्छेको घटना भइराखेको छ । हामीले धेरै गाली खाइराखेका छौं । हाम्रो देशको प्रकृति, जैविक विविधता, वन्यजन्तु बचाइराखेका छौं ।’ जैविक विविधता संरक्षण, वन्यजन्तु अपराध नियन्त्रणलगायत संरक्षणको कामलाई गति दिन समुदायको सक्रियता महत्त्वपूणर् मानिँदै आएको छ ।
खाता जैविक मार्गको पछिल्लो अवस्था
खाता जैविक मार्ग क्षेत्रमा बनेको हुलाकी सडक निकै व्यस्त भइसकेको छ । सवारी-साधनको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम समेत बढेर गएको छ । पूर्व-पश्चिम राजमार्गमा टाइम कार्ड लागू गरिए पनि यो हुलाकी सडकमा एक ठाउँमा समेत चेकपोइन्ट छैन । वन्यजन्तुहरूलाई सहज रूपमा ओहोरदोहोर गर्नको लागि ओभर ब्रिज बनाउने योजना बनाइएको छ। तर, त्यो योजना अझै अघि बढ्न सकेको छैन। सरकारी निकायबाट जैविक मार्गलाई अपनत्व नलिँदा समस्या परेको भनाइ खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङको छ ।
‘नेपाल सरकारले खाता जैविक मार्गलाई अपनत्व लिएको छैन’, अध्यक्ष गुरुङले भने, ‘अन्तराष्ट्रिय स्तरमा खाता जैविक मार्ग धेरै चिनिएको छ। तर, नेपालका स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारले चिन्न सकेको छैन। बर्दिया राष्ट्रिय निकुञ्ज त्यत्तिकै राष्ट्रिय निकुञ्ज भएको होइन। खाता जैविक मार्ग मासियो भने बाघ के सुर्खेत, नेपालगञ्जबाट आउलान् त? खाता जैविक मार्ग हाम्रो भनेर नेपाल सरकारले अपनत्व लिनैपर्छ ।’ खाता करिडोर संरक्षित वनअन्तर्गत पर्छ । २०६७ सालमा जेठ २२ मा करिडोर बनाइएको थियो । दक्षिणमा भारतको कतरिनियाघाट वाइल्डलाइभ सेन्चुरी र उत्तरमा रहेको नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई यही करिडोरले जोडेको छ । अध्यक्ष गुरुङले भने, ‘उपभोक्ताको संरक्षणले नै यो जैविक मार्ग सफल भयो । यहाँ बसोवास गर्ने निम्न आय भएका नागरिकहरूको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्य राखिएको थियो ।’
……….
मानव र वन्यजन्तुबीच द्वन्द्व
जंगलको झाडीमा बाघ लुकेको देख्न नसक्दा गोठालो गएको बेला, घाँस-दाउरा गएको बेला खाता क्षेत्रका धेरैजना बाघको शिकार भएका छन् । दश वर्षको अवधिमा बाघको आक्रमणबाट बर्दियामा स्थानीय २४ जनाले ज्यान गुमाइसकेका छन् । त्यही भएर मानव वन्यजन्तु द्वन्द्व चुलिँदो छ । जस मध्य तीन वर्षको अवधिमा मधुवनको वडा नं. १ देखि ५ सम्मको क्षेत्रमा १५जनाले वन्यजन्तुबाट ज्यान गुमाएको नगरपालिकाले जनाएको छ ।
बर्दिया मधुवन नगरपालिका- ३ खाता गाउँ निवासी सगुनी थारु ६५ वर्ष पुग्न थालिन् । अचेल उनको दिनचर्या भेडा, बाख्रा गोठालोमा बित्छ । उनी आफ्नो टोलका अन्य महिलासँग मिलेर सँगसँगै भेडा चराउन जान्छिन् । पहिले जंगलको भित्रिभाग सम्म भेडा चराउन जाने सगुनी अचेल बाटोको छेउछाउ मात्रै चराउँछिन् । जंगलमा जान डर लाग्ने उनले सुनाइन् । ‘बाघ हिँड्छ । मान्छे धेरै खाइसक्यो । भेडा, बाख्रा पनि खायो । धन्न मलाई केही भएको छैन’, उनले भनिन्, ‘पहिला त यहाँ ठूलो जंगल थिएन । बाघ, हात्ती, गैंडा पनि थिएनन् । अहिले त वन जोगाएपछि बाघ, हात्ती, गैंडा हिँड्न थाले । मान्छेलाई डर भयो ।’
खाता नजिकैको गाउँ धनौरामा बस्ने रमिता थारु र पूजा थारुको सिउँदो पाटेबाघले एकै बर्ष खोसि दिएको छ । करिब ३ बर्ष अघि उनीहरु दुबैले बाघको आक्रमणबाट श्रीमान गुमाएको बताउँछन् । दुई दुई शन्तानका आमा रमिता र पूजा थारुलाई श्रीमानका गुमाउँदाको पीडिा त छँदै छ, घर ब्यवहार चलाउन र छोरा छोरी पढाउन मुस्किल छ ।
राहात होईन, सुरक्षा चाहिन्छ
वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने परिवारलाई र घाइते हुने व्यक्तिको उपचार खर्च सरकारले गर्ने गरेको छ। पहिला यस्तो थिएन। तर, समुदायस्तरको पहल र दवावले गर्दा सरकारले मृत्यु भएका व्यक्तिको परिवारलाई दश लाख दिने गरेको छ । यसका साथै घाइतेहरूको उपचार पनि सरकारले गर्ने गरेको छ। यसरी पैसा बाँड्नुभन्दा नागरिकको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने भनाइ स्थानीयको छ । नेपाल सरकार, प्रदेश सरकार र समुदायबाट सहयोग गर्ने गरिएको छ । कसैको मृत्यु भइहाले खाता सामुदायिक वन समन्वय समितिबाट किरिया खर्च २५ हजार दिने गरिएको छ । तत्काल उपचारको लागि पुर्याउन एम्बुलेन्स खर्च पनि उपलब्ध हुने गरेको छ। नेपाल सरकारले मृत्यु भएको खण्डमा दश लाख दिन्छ भने प्रदेश सरकारले पनि जनतासँग प्रदेश सरकार कार्यक्रमबाट एक लाख उपलब्ध गराउँदै आएको छ ।
राहातको लागि स्थानिय सरकारद्वा निशुल्क विमा
बर्दियाको मधुवन नगरपालिकाले वन्यजन्तुबाट मानव तथा पशुधनको क्षति हुन थालेपछि निशुल्क विमाको ब्यवस्था गरेको जनाएको छ । बिमा मार्फत क्षतिको राहत दिने उदेश्यले एक लाख बराबरको निशुल्क विमा कार्यक्रम ल्याएको हो । मधुवन नगरपालिकाको मेयर तेजबहादुर भाटले विमाबाट राहत दिने व्यवस्था २०७९ साल देखि सुरु भईसकेको बताए । उनले भने ‘बढ्दै गइरहेको वन्यवन्तुको व्यवस्थापन गर्न सकेको छैनौँ बाघ, हात्ती र गैँडाले सताएका छन् यसलाइ व्यवस्थापन गर्न प्रयास गरिरहेका छौं । यसको व्यवस्थापनको लागि अध्यन टोली बनाएर र समिति गठन गरेर मानव पनि जोगिने र वन्यजन्तु पनि बचाउनको लागि जनचेतना अभियान, तार बार गर्ने अभियानहरु गरी रहेका बताए मधुवन क्षेत्र अर्थात वनजङ्गल क्षेत्र तिरको गाउँमा निकै हानी नोक्सानी पुर्याएको उनी बताउँछन् जङ्गली जनावरहरुले गाउँमा आएर खेतबारीको बालीहरु खाइ दिने गोठ भत्काउने पशु पन्क्षी मार्ने घर भत्काउने मानविय घटना दिन प्रति दिन बढेको मेयर भाँट बताउँछन् । वन्यजन्तुले मानवलाई क्षति पुर्याउँदा अर्थात ज्यान लिदा नगरपालिकाले ७५,००० दिने गरेको छ । बिमाले १०००००(एक लाख), नेपाल सरकारबाट १००००००(दश लाख) अन्य सघंसस्थाबाट १०००००(एक लाख) दिने गरेको नगरपालिकाले जनाएको छ ।