फस्टाउदै मिथलेशको गँड्यौला खेती
Sunday, February 4th, 2024, 7:54 pm
Kalpristha
भिष्म लोध
नेपालगन्ज, २१ माघ
नेपालगन्जका मिथलेश पासी जो उमेरले २३ मा लागेका छन् । उनलाई आफ्नो परिवारको जीवन कसरी अगाडी बढाउने भन्ने चिन्ता छ । दुई वर्षअघि नै प्लस- टु अध्ययन गरिसकेका मिथलेशलाई आर्थिक रुपमा सक्षम हुन उनले के गर्ने भन्ने कुराको चिन्ताले सताउँथ्यो ।
मधेशी समुदायका मिथलेशलाई छोरा ठुलो भइसकेपछि परिवारको जिम्मेवारी निर्वाह गर्छ भन्ने अभिभावकको आशा बढेर जान्छ । छोराले कमाएपछि जीवन निर्वाहमा सहज हुन्छ भन्ने अभिभावकले सोच्न थाल्छन् । यो हुनु स्वाभाविक पनि हो । बिपन्न परिवारमा त झन छोरो ठुलो भएपछि अब सारा जिम्मेवारी लिन्छ भन्ने अभिभावकको ठुलो आशा रहन्छ ।

………..
नेपालगन्ज उप-महानगरपालिका वडा नं २२ को पुरैनी गाउँमा बस्ने मिथलेश यस्तै समस्याका बीच कसरी अघि बढ्ने भन्ने थियो । अध्ययन गरिसके अब केही काम गर्नुपर्छ भनेर उनलाई के गर्ने भनेर ठम्याउनै गाह्रो भयो । नेपालमा राम्रो अवस्था भएको परिवारको सदस्यलाई गर्न गाह्रो रहेको अवस्थामा बिपन्न परिवारको सदस्यलाई केही गर्न सकिन्छ भन्ने सोच्न पनि सक्दैन । तर परिवारको सहयोगी बन्नका लागि केही त गर्नै पर्यो ? त्यसका लागि उनले बिदेश जाने बाहेक अर्को बिकल्प देखेनन् ।
मिथलेशले बिदेश जाने तयारी पनि शुरु गरे । त्यसका लागि ऋण लिने कुरा पनि तय भयो । यही बीच उनलाई लघु उद्यम बिकास तालिममा सहभागि हुने अवसर आउँछ र बिदेश गएपनि तालिम लिँदा राम्रै होला भनेर तालिममा सहभागि भए । त्यसपछि उनले जीवन उपयोगी सीप तालिम लिए । नेपालगन्जमा युवाको क्षेत्रमा काम गर्दै आएको सामाजिक बिकास मन्च (एस डिएफ) ले दिएको त्यो अवसर उनका लागि आर्थिक रुपमा अघि बढ्ने बाटो नै बन्यो ।
तालिम लिएपछि उनी केही उद्यम गर्नुपर्ने निष्कर्षमा पुगे । उनले अरुले गरिरहेको उद्यमभन्दा फरक गर्न गँड्यौला फर्म संचालन गर्छु भनेर निधो गरे । त्सपछि सामाजिक बिकास मन्च आर्थिक रुपमा त्यो फर्म बनाउन सहयोगी बन्यो । मन्चले सेभ द चिल्ड्रेनको साझेदारीमा तालिम प्रदान गरेको थियो । गँड्यौला खेती गर्न थाल्छु भन्ने सुनेर टोल छिमेक तथा साथी भाईले मिथलेशको खिल्ली उडाए । तर उनले ति खिल्लीको पछि नलागेर केही गर्ने अठोटका साथ गँड्यौला खेती गर्न शुरु गरे ।
उनले गँड्यौला पालन सम्बन्धी तीन दिने तालिम लिए । गँड्यौला पालनका लागि चाहिने पिट वा (गँड्यौला पाल्न बनाइने संरचना) मन्चले निर्माणमा सहयोग गर्यो । त्यसपछि उनले आफ्नो मिहिनेत लगाउन शुरु गरे । सुरुमा एक टयाक्टर गोबर ल्याएर पिटमा हाले र यसैबाट आर्थिक आम्दानी गर्न सकिने भनेर लागे ।

………….
उनको मेहनतको करिब चार महिनामा गँड्यौलाबाट उत्पादन भएको मल बेच्न पनि उनले सुरु गरिसकेका छन् । अहिलेसम्म उनले दश क्विन्टल मल बिक्री गरेका छन् । कतिपय छिमेकीलाई पनि दुई चार किलो मल निःशुल्क दिएका छन् । यसबाट उत्पादन हुने मलले खेतबारीका लागि जीवन प्रदान गर्ने भन्ने कुरा तथा मलको आवश्यकता बुझाउनका साथै प्रचार प्रसार गर्न छिमेकीलाई प्रयोग, अभ्यासका लागि निःशुल्क मल दिएको उनले बताए ।
उनले थालेको कामबाट अभिभावकमा पनि आशा पलाएको छ । गँड्यौलाबाट उत्पादन भएको मल दुई हजार पाँच सय रुपैयाँ क्विन्टलमा बिक्री हुन्छ । उनले उत्पादन गरेको मल जुम्ला पठाएका छन् । सानो बोरामा प्रति केजी ३० रुपैया र ठुलो बोरामा प्रति केजी २५ रुपैयामा बिक्री हुन्छ भने गँड्यौला दुई हजार रुपैया किलोमा जाने गर्छ । आफ्नो उद्यमलाई फराकिलो बनाउन उनले फर्म बनाएका छन् । उनले एम.एस अर्गानिक एग्रो फर्म नामबाट उत्पादन बिक्री थालेका छन् ।
यसका साथै आफ्नो खेतमा समेत मलको प्रयोग गरेका छन् । अर्गानिक मलको प्रयोगले अघिल्लो वर्षको भन्दा यो पटक खेती राम्रो भएको उनले बताए । यसलाई व्यवसायीक रुपमा लैजाने योजना समेत मिथिलेशले बनाएका छन् । एउटा सटरमा गँड्यौला तथा मल राख्ने र बिउबिजन राखेर व्यवसायीकतामा जाने उनले बताए ।
उनले गर्ने आम्दानीबाट केही बालबालिकालाई छात्रबृति समेत दिने बताएका छन् । मन्चले नेपालगन्जमा संचालन गरेको पावर फोर एवाई परियोजना अन्तर्गत कामको अवसर खोजी रहेका युवाहरुलाई उद्यम बिकास तालिम तथा सटार्टप सहयोग प्रदान गरेर स्वरोजगार बनाइरहेको छ ।
गँड्यौली मलमा पाइने खाद्य तत्वहरु:
नाइट्रोजनः २.५ – ३.० % क्याल्सियमः ०.५ – १.० %
फस्फोरसः १.५ – २.० % म्याग्नेसियमः ०.२ – ०.३ %
पोटासः १.५ – २.४ % सल्फरः ०.४ – ०.५ %
र अन्य सुक्ष्म खाद्यतत्व, भिटामिन, इन्जांइम् र हर्मोनहरू
गँड्यौले मलको फाइदा ः
यो मल कालो, गन्ध विहिन र बुरबुराउँदो हुन्छ ।
यसमा साधारण कम्पोष्ट मलभन्दा खाद्य तत्वहरू बढी रूपमा पाइन्छ ।
यो मलमा पानी सोस्ने झारपातहरू र घरेलु फोहोरबाट बन्ने हुँदा वातावरण सफा देखिन्छ । गँड्यौला मल बढी उत्पादन भएमा हाँस, कुखुरा आदिको आहारा बनाउन सकिन्छ । यस मलमा विषालु तत्व र अनावश्यक बिउ पाइँदैन ।
गँड्यौला कृषकको असल मित्र भएकाले बोटविरुवाका लागि माटो खुकुलो र मलिलो बनाउँछन् । जसले गर्दा उत्पादनमा वृद्धि भई किसानको जीवनस्तर सुदृढ बन्दै जान्छ । हाँस कुखुरा पालनका लागि पनि गँड्यौला आवश्यक मानिन्छ ।