छोरीसँगै कक्षा ८ मा भर्ना भएकी मुस्लिम बुहारीको सांसदसम्मको यात्रा
Wednesday, February 7th, 2024, 10:00 am
Kalpristha
बितिशा चौधरी
बर्दिया, २३ माघ
बर्दिया बाँसगढीकी जुवेदा खातुन एउटा मुस्लिम परिवारकी बुहारी हुन । कक्षा सातमा पढ्दै रहेको अवस्थामा १६ वर्ष मै उनको विवाह भयो । विवाह भएसँगै उनको पढाई रोकियो । १७ बर्ष मै पहिलो सन्तान जन्मियो । ३२ बर्ष नपुग्दै उनी चार छोरी कि आमा बनि सकेकी थिइन ।
चार सन्तानकी आमा बनि सक्दा पनि जुबेदामा पढ्ने चाहाना कायमै थियो । उनी उपयुक्त अवसरको पर्खाइमा थिइन । २०६४ सालमा सामुदायिक बन उपभोक्ता महासंघले उनको गाउँ लक्ष्मणामा सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुका लागि १६ हप्ताको तालिम संचालन गर्ने तयारी गरि रहेको थियो ।
तालिमका लागि अल्पसंख्यक, मधेशी र मुस्लिम सुमदायका महिलाको खोजी भयो । त्यति नै बेला गाउँका एक जना दाईले मुस्लिम समुदायबाट अलि अलि लेखपढ गर्न जानेकी बुहारी जुवेदालाई सहभागी गराउदा राम्रो हुने सल्लाह जुवेदाका ससुरालाई दिए । गाउँ मै तालिम हुने घरबाटै जान आउन सकिने किसिमको तालिम भएको थाहा पाए पछि परिवारका तर्फबाट जुबेदाले तालिममा सहभागी हुने अवसर पाइन ।
त्यही तालिममा सहभागी हुने अवसर पाएपछि जुवेदाको जीवनको नयाँ आयाम सुरु भयो । विवाह पछि रोकिएको पढ्ने चाहनाले गति लियो । एक बर्षकी छोरीलाई घर मै छाडेर उनी तालिममा सहभागी भईन । १६ हप्ताको तालिममा जुवेदाले महिला अधिकार लगायत राजनीतिक अधिकारका बिभिन्न पक्षहरुका बारेमा पढ्ने र बुझ्ने अबसर पाइन ।
१६ हप्ताको तालिम चलि रहेकै बेला जुवेदाले पुनः बिद्यालय मै भर्ना भएर पढाईलाई निरन्तरता दिने सोच बनाइन । पठाइलाई निरन्तरता दिन गाउ कै शिक्षकसँग सर सल्लाह गरिन । पठाइलाई निरन्तता दिने सोच बनाएकी जुवेदालाई हौसला दिदै पढाइलाई निरन्तरता दिन सल्लाह दिए । विवाह भएको १५ वर्ष पछि घर परिवारका सदस्यहरुलाई मनाएर जुबेदा आफ्नै जेठी छोरी हिना सँगै कक्षा ८ मा भर्ना भईन । घरको जिम्मेवारी सम्हाल्दै बालबालिका हेर्दै पढाइलाई निरन्तरता दिइन ।
उनको गाउँमा आमा छोरीसँगै एउटै कक्षामा पढ्ने जाने उनको मात्रै परिवार थियो । श्री पूणर् हिरा माध्यामिक बिद्यालय लक्ष्मणाकी शिक्षक गौरी सापकोटा भन्छिन- पढाइ छाडेको १५ बर्ष पछि विद्यालयमा भर्ना भएकी जुवेदामा पढ्ने उत्साह र जोश कायमै थियो । आफ्नै छोरीसँग एउटै कक्षामा पढ्नका लागि जुबेदा बिद्यालय गएको देख्दा उनका छिमेकी र आफन्तले कुरा काट्थे । तर उनले छिमेकी र आफन्तका कुराको परवाह नगरी पढाइलाई निरन्तता दिइन ।
पढाइलाई निरन्तरता दिने क्रममा एसइइ परिक्षा दिइन । तर सफल हुन सकिनन । एसइइ परिक्षामा फेल भएकी जुवेदालाई आफन्त र छिमेकीहरुले अब त रहर पुग्यो होला नि भन्दै पढाई छोडन सल्लाह दिए । जुवेदाले हिम्मत हारिनन । दोस्रो पटक छोरीसँगै २०७२ सालमा एसइइ परिक्षा पास गरिन । त्यस पछि उनले पढाइलाई निरन्तरता दिदै प्लस टु सम्मको अध्ययन गरिन ।
त्यसो त जुबेदा २०६३ साल देखि नै गाउँ घरमा हुने सामाजिक काममा सक्रिय थिइन । माइती र घर दुबै परिवार नेपाली काँग्रेस समर्थक भएका कारण जुवेदालाई पनि कांग्रेसको राजनीतिमा आउन सजिलो भयो । २०६६ सालमा काँग्रेसको सदस्यता लिएकी जुबेदाले बिभिन्न संघ संस्थाहरुमा आबद्ध भएर काम गर्दै राजनीतिक अनुभव संगाल्दै गइन । मेची देखि महाकाली बुहारी संयुक्त आवाज अभियान शाखा बर्दियाको जिल्ला संयोजक भएर काम गरिन ।
अभियानले महिला शिक्षाका क्षेत्रमा काम गथ्र्र्यो । जुवेदाले पनि बिपन्न गरिब बालबालिकाको पठन पाठनमा सहयोग गर्ने, महिला हिंसामा परेका महिलाको पक्षमा आवाज उठाउने काम गर्न थालिन । २०७२ सालमा जुवेदाले पिछडा वर्ग महिला शसक्तिकरण अभियान बाँसगढि नगरपालिकाको अध्यक्षको रुपमा २०७२ देखि २०७४ साल सम्म काम गरिन ।
महिला शसक्तिकरण अभियानका क्रममा छोरा छोरीलाई समान व्यवहार गर्नुपर्छ भनेर आवाज पनि उठाइन । घरमा बसेका बालबालिकालाई विद्यालयमा भर्ना गराउने अभियानमा सक्रिय भइन । आफ्नो समुदायमा मात्र नभएर अन्य समुदायका कालिकाहरुलाई पनि बिद्यालय भर्ना गराउन लागि परिन । गरिबी र आर्थिक अभावका कारण पढ्न पाउने अधिकारबाट बन्चित हुनु हँुदैन भनेर बालिकाहरुलाई निशुल्क पढ्ने व्यवस्था मिलाएको जुबेदा बताउँछिन । जुवेदालाई समुदायबाट पनि थुप्रै चुनौतिको सामना गनुपर्यो । जुवेदा भन्छिन — श्रीमान फर्मान अलि र सासु ससुराको सहयोग कै कारण आफ्नो पढाइ र राजनीतिक यात्राले निरन्तता पाएको हो ।
तर गाउँ समाजका अधिकांश ब्यक्तिलाई चार सन्तानकी आमा भइसकेकी मुस्लिम परिवारकी बुहारी आफ्नै छोरीसँगै बिद्यालयमा गएको राजनीतिक कार्यक्रममा सहभागी भएको मन परेको थिएन । गाउँ समाजका मान्छेले अनेक कुरा काटथे । गाउलेको मुख थुन्न नसके पनि जुवेदाले श्रीमान सासु सुराको बिश्वास जितेर आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाइन । गाउ भन्दा बाहिरका कार्यक्रममा सहभागी हुदा श्रीमानलाई साथ मै लिएर जाने गरेको उनले बताइन ।
निरक्षर रहेका श्रीमान फर्मान भन्छन् —आफु निरक्षर भए पनि श्रीमति छोरा छोरी पढे लेखेका हुन भन्ने चाहाना थियो । श्रीमतीको पढ्ने चाहाना थियो । आमा बुवासँग सल्लाह गरेर घरको ब्यबहार सम्हालेर श्रीमती र छोरीहरुलाई पढ्ने ब्यवस्था मिलाए । पढने अबसर पाएकी कारण आज मुस्लिम सुमदायकी एउटी बुहारी सांसद बन्न सकिन । त्यो हाम्रो परिवारका लागि मात्रै नभएर हाम्रो गाउ समाजका लागि पनि खुसीको कुरा हो ।
जुवेदाले घर परिवारको मात्रै नभएर नेपाली काँग्रेस पार्टीका नेताहरुको बिश्वास समेत जित्दै गइन । जुबेदालाई बिश्वास गरेर नेपाली काँग्रेस बर्दियाका नेताहरुले कांग्रेसको १२ औँ र १३ औँ महाधिवेशन प्रतिनिधि हुने अवसर दिए । कांग्रेसको १४ औँ महाधिवेशनमा पहिलो महिला मुस्लिम केन्द्रिय सदस्य निर्वाचित भएर जवुदाले राजनीतिक फड्को मारिन । एक पछि अर्को सफलता हात पार्दै गएकी जु्वेदा आफुलाई सामान्य महिलाका रुपमा चिनाउँछिन । जुवेदा भन्छिन — हामी, दुःख, सुख गरेर पढ्ने रहर पुरा गर्दा गदै यहाँ आइपुगेकी हु । आफ्नो संघर्ष र सफलतालाई मुस्लिम समुदायका छोरी बुहारीको हितमा प्रयोग गर्ने योजना उनको छ । जुवेदा २०७९ सालमा कांग्रेस पार्टिबाट संघीय सांसद भइन ।
उनी भन्छिन — सांसद नै भइ हाल्छु भन्ने विश्वास त थिएन तर पार्टीले मलाई अवसर दियो । श्रीमान, सासु ससुरा लगायत परिवार, आफन्तहरुको हौसला र बिश्वासले सांसद बन्न सफल भएको बताउँछिन । सांसद भए पछि पनि जुवेदा बर्दिया बहुमुखी क्याम्पसमा भर्ना भएकी छिन । कक्षा लिन जान नपाए पनि घर मै अध्ययन गरेर परिक्षा दिन जाने उनको योजना छ ।
उनी सांसद भएको एक वर्ष भएको छ । सांसद भए पछि उनी आफ्नो क्षेत्रमा सडक, नाला लगायत बिकास निर्माणका योजनाहरु ल्याउने र ती योजनाहरुलाई सम्पन्न गर्नका लागि सहजिकरण गर्ने काममा लागि परेकी छिन । जुवेदा भन्छिन-अब मेरो मुख्य ध्यान मुस्लिम समुदायका छोरी बुहारीको शिक्षाका लागि सहज बाताबरण र अबसर सृर्जना गर्ने तर्फ केन्द्रित हुने छ ।
मुस्लिम महिलाहरुले घर परिबार भन्दा बाहिर गएर केही गर्न सक्दैनन, खालि चुलो चौको घर व्यवहारमा मात्रै सिमिति हुन्छन भन्ने समाजको पुरानो सोचलाई परिवर्तन गर्नु पर्छ । मुस्लिम महिलाहरुले पनि अवसर पाए भने धेरै कामहरु पुरुष सरह काम गर्न सक्छन् समाजलाई पनि परिवर्तन गरेर अगाडि बढाउन सक्छन भन्ने सन्देश दिनु आवश्यक छ ।