नेपाली भाषा साहित्यका सागर : भानुभक्त आर्चाय
Saturday, July 13th, 2024, 8:41 pm
Kalpristha
शोभा गुरुङ
एक दिन नारद सत्यलोक पुगि गया, लोकको गरुँ हित् भनि ।
ब्रह्मा ताहि थियाँ परयाँ चरणमा, खुशि गरायाँ पनी ।।
क्या सोध्छौ तिमी सोध भन्छु म भनि, मर्जी भएथ्यो जसै ।
व्रह्माको करुणा बुझेर ऋषिले, विन्ती गर्या यो तसै ।।”
यति सरल शव्द, र शैलीमा काव्यात्मक भाखामा जनजनले घरघरमा पढने यो रामायणको नेपाली अनुवादक आदिकवी भानुभक्त आर्चायलाई आजको दिनमा नसम्झिने नेपाली विरलै मात्र होलान । बाबु धनन्जय र आमा धर्मावतीको कोखबाट वि.स. १८७१ असार २९ गते तनहुँको चुदी रम्घामा जन्मेका भानुभक्त सानै देखि बाजे श्रीकृष्ण आर्चायको पछि लागेर नेपाल र भारतका थुप्रै ठाउँमा पुगेका थिए । श्री कृष्ण आर्चाय संस्कृतका विद्धान पण्डित थिए । बाजेसँग बनारसमा बसि भानुभक्तले सामा्न्य विधा आर्जन गरेका भए पनि संस्कृत भाषामा लेखेका ठुला ठुला रामायण , महाभारत, रामचरित मानस जस्ता धार्मिक पुस्तकहरु पढने गर्थे र कतिपय संस्कृत पुस्तकका श्लोकहरु त उनी किताबै नहेरि मुखाआकार नै भन्दै हिडथे । बाजेकै संगतले साह्त्यि, धार्मिक पुजापाठ, कर्मकाण्ड सवैमा उनी पोख्त भए ।
त्यति बेला नेपाली भाषालाई कमसल , असभ्य र अशिक्षीत गाउँलेहरुले बोलिने भाषाको रुपमा लिईन्थ्यो । संस्कृत पढन सवैलाई छुट पनि थिएन । केहि सिमीत ठुला उच्च घराना बाहेक सवै जनताहरु संस्कृत शिक्षाको पहुँचबाट टाढा थिए ।
भानुभक्त अध्ययन सकेर आए पछि त्यस बेलाको समय, परिवेश, समाज माथि थुप्रै कविताहरु लेखे । कसैलाई केहि भन्नु छ भने, केहि समाचार दिनु छ भने उनी कविता कै माध्यमबाट दिने गर्दथे । एक पटक साथी तारापतिको घरमा बास बस्न पुग्दा रातभरि सासु बुहारीको झगडाले सुत्न नपाएका भानुभक्तले विहान सवेरै उठि “बधुशिक्षा” (वि.स.१०१९) उपदेश मुलक कविता लेखि तारापतिलाई छाडेर आएका थिए ।
धन ईज्जत र घरबार देख्छु बढिया , छैनन् कुनै चीज कमी ।
बुहारी यदि कर्कशा हुन गया, क्या घर गरौला तिमी ।।
साह्रै झोक उठ्यो र मलाई, बधूशिक्षा बनाया पनि
यसले पत्नि, बुहारी, छोरीहरुको, तालिम गरौंला भनी ।। ……………………….
“बधुशिक्षा” मा नारीलाई घरभित्रकै काम गर्ने, पतिलाई देउता समान मान्ने, सासु ससुरा, नन्द आमाजु, देवर, जेठाजुका अगाडी नम्र बोल्ने, उनीहरुको सेवा गर्ने, उनीहरुले खाई सके पछि मात्र खाने, विहान सवेरै उठने, लिपपोत गरि स्नान गरि पुजा गर्ने, घरका सवै सदस्यहरुको ईच्छा, चाहना अनुसार व्यवहार गर्नेे, पतिको मृत्युमा सति जाने, सौतालाई राम्रो व्यवहार गर्ने जस्ता नारीलाई एकदमै तल्लो दर्जाको रुपमा वर्णन गरिएको छ त्यसैले “बधुशिक्षा” पढनेहरुले भानुभक्तको आलोचना पनि गरेको पाईन्छ । बधुशिक्षा पढने जो कोहिले भानुभक्तलाई मन नपराउन सक्छन । आज भन्दा दुई शताब्दि भन्दा अघिको नेपाली समाजको सापेक्षता, यर्थाथता आजको समयसँग पक्कै पनि मेल खादैन तर भानुभक्तले त्यस बेलाको नेपाली समाज र समय यर्थाथलाई साहित्यको माध्यमबाट उजागर गर्नु पनि ठुलो काम हो जसले गर्दा आज हामी उनी र उनका थुप्रै कृतिहरुलाई सम्झि रहेका छौं । भानुभक्तले साहित्य क्षेत्रमा त्यसबेलाको बस्तु यर्थाथ माथि कलम नचलाएका भए २०० वर्ष अघिको साहित्यिक ईतिहास आज हामी यसरी चर्चा गरि रहेका हुदैन्थ्यो होला ।
साहित्यकारले साहित्यको विविध पाटाबाट समाजलाई सन्देश दिई रहेको हुन्छ । भानुभक्तले पनि “प्रश्नोत्तर” (वि.स.१९१०) को माध्यमबाट दिएको सन्देशलाई हामी नसम्झि रहन सक्दैनौ ।
कुन हो सवैले, गुरु भन्नु परन्या ?
जो हो हितैको , उपदेश गरन्या ।
कुन हो जति जति दियो, उती बढन जान्या ?
विध्यै रहेछ बुझि, निश्चय तेहि मान्या ।
एउटा सामान्य घाँस काटेर जिविकोआर्जन गर्ने घाँसीसँगको कुराबाट आफु निकै चिन्तित भएको भाव यसरी प्रष्ट पारेका छन ः
भर जन्म घाँस तिर मन दिइर्, धन कमायो
नाम क्यै रहोस पछि भनेर, कुवा खनायो ।
घाँसी दरिद्र घरको तर, बुद्धि कस्तो
म भानुभक्त धनी भैकन, किन यस्तो ।।
मेरा ईनार न त सत्तल, पाटिकै छन
जे धन चीजहरु छन घर, भित्रनै छन ।
त्यस घाँसीले कसरी आज, दिएछ अर्ति
धिक्कार हो म कन बस्नु, न राखि किर्ती ।।
त्यति बेला नेपाली भाषालाई हेरिने दृष्टि जस्नो भए पनि भानुभक्तले नेपाली साहित्य र संस्कृतिक चेतना, राष्ट्रिय पहिचान, समाज र चिन्तनसँग पैठेजोरी गर्दै गर्दा ३७ वर्षको उमेरमा सरकारी जागिर पाए । २ वर्षे जागिर पछि रकम हिनामिनाको आरोपमा उनी कुमारी चोकको खोरमा जाकिनु परयो ।
“रोज रोज दर्शन पाउँछु चरणका,े ताप छैन मनमा कछू
रातभर नाच पनि हेर्छु खर्च नगरि, ठुला चयनमा मछू
लामखुट्टे उपियाँ उडुस यी सँगी छन, यिनकै लहईमा बसी
लामखुट्टेहरु गाउँछन यि उपियाँ नाच्छन, म हेर्छु बसी ।
थुनामा पर्दा कोरेका थुप्रै कविताहरु मध्ये यो कविता कैदि जिवनको वास्तविकता झल्काउँदै लेखेका कविताहरु मध्ये एक थियो तर त्यहि खोर त्यहि वन्दि जीवननै उनको लागि वरदान सावित भयो । पाँच महिना सम्म जेल भित्र रहदा उनले २५ हजार श्लोक भएको बाल्मिकीद्धारा लिखीत संस्कृत भाषाको रामायणलाई १२ सय श्लोकमा नेपाली भाषामा सरल ढंगले सवैले वाचन गर्न सक्ने किसीमको काव्यात्मक शैलीमा रामायण तयार गरे । अहिले जनजनको घरघरको विहानीको शुरुवात रामायणको श्लोकबाट नै हुन्छ । नेपाली भाषा साहित्यमा यो नै पहिलो महाकाव्य थियो । रामायणको उत्तर काण्डको “रामगीता” पनि नेपाली भाषामा भानुभक्तले नै अनुवाद गरेका थिए ।
त्यति बेला तुच्छ मानिने नेपाली भाषामा संस्कृत भाषाको रामायणलाई अनुवाद गर्नु चानचुने कुरो थिएन । यस अर्थमा पनि उनको हिम्मत, साहस र नेपाली भाषा साहित्य प्रतिको प्रेमलाई जति प्रशंसा गरे पनि कमै हुन्छ भन्दा फरक नपर्ला । उनले गरेको नेपाली भाषा र संस्कृती प्रतिको भाषिक क्रान्तीले नै आज हामी नेपालमा मात्र नभई विश्व भरि नै छरिएर रहेका नेपालीहरु नेपाली भाषा र साह्त्यिमा रमाउन पाई रहेको छौं । नेपाली भाषा साहित्यका धरोहर भानुभक्त आर्चाय नेपाली भाषिलाई एक सुत्रमा बाध्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाल र नेपाली भाषाको पहिचान दिलाउन सक्ने एकताका प्रति मूर्ति हुन अतः आज उनको २११औं जन्म जयन्तीका दिन यस्ता बहुप्रतिभाशाली, ्राष्ट्र कवि, नेपाली भाषा साहित्यका सागरलाई सम्पूर्ण नेपालीहरुले सम्मानका साथ स्मरण नगरि रहन सक्दैनौ ।