अबको ७३ दिनपछि भारतको पहिलो कोरोना भ्याक्सिन ‘कोभिसिल्ड’ को उत्पादन सुरु
Sunday, August 23rd, 2020, 2:28 pm
amit
एजेन्सी, ७ भदौ । छिमेकी राष्ट्र भारतले अबको ७३ दिनपछि कोरोनाविरुद्धको भ्याक्सिन तयार आफ्नै देशमा गर्ने भएको छ ।
भारतको पहिलो कोरोना भ्याक्सिनको नाम ‘कोभिसिल्ड’ रहेको छ भने यसलाई पुणेस्थित कम्पनी सिरम इन्स्टिच्युटले निर्माण गरिरहेको बिजनेस टुडे समाचारपत्रको रिपोर्टमा उल्लेख गरिएको छ । यसैगरी रिपोर्ट अनुसार उक्त भ्याक्सिन ‘राष्ट्रिय खोप कार्यक्रम’अन्तर्गत नागरिकलाई निःशुल्क प्रदान गरिने छ ।
सिरमका एक वरिष्ठ अधिकारीका अनुसार सरकारले सो कम्पनिलाई विशेष निर्माण प्राथमिकता दिएको र ट्रायल प्रोटोकलको प्रक्रिया तीव्र गरिएको छ ।
यसैगरी अबको ५८ दिनमा परीक्षण पूरा हुनेछ भने तेस्रो चरणको परीक्षणको पहिलो डोज आज (२३ अगस्ट) बाट शुरू गरिएको जानकारी दिदैँ उनले भने दोस्रो डोज २९ दिनपछि दिइने छ र अन्तिम परीक्षण त्यसको १५ दिनपछि दिइने छ । यही अवधिबीच कोभिसिल्ड बजारमा लैजाने योजना रहेको छ ।
कोभिड १९ को एक भ्याक्सिनको क्लिनिकल ट्रायल तेस्रो चरणमा रहेको र भारत सरकारलाई पूर्ण विश्वास छ कि यो वर्षको अन्त्यसम्ममा भ्याक्सिन तयार हुने केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धनले बताएका छन् ।
सिरमले एस्ट्राजेनेका कम्पनीसँग विशेष सम्झौता गरी निर्माण अधिकार खरिद गरेर भारतलगायत अन्य ९२ मुलुकमा भ्याक्सिन बिक्री गर्ने योजना बनाएको छ । यसवापत सिरमले रोयल्टी प्राप्त गर्नेछ ।
केन्द्र सरकारले सिरमसँग सीधै भ्याक्सिन खरिद गर्ने र नागरिकलाई निःशुल्क प्रदान गर्ने योजना बनाएको छ। केन्द्रले आगामी जुनसम्म सिरमसँग १३० करोड भारतीयका लागि ६८ करोड डोज माग गरेको छ ।सरकारले भ्याक्सिन बनाइरहेका अन्य कम्पनीसँग पनि परीक्षणमा सफलता पाएपछि खरिद गर्न सक्नेछ ।
त्यस्तै सिरम कम्पनीले प्रत्येक महीना ६ करोड डोज कोरोना भ्याक्सिन बनाउने योजनामा रहेको छ । आगामी अप्रिलसम्म कम्पनीले क्षमता बढाएर १० करोड डोज प्रतिमहीना बनाउन सक्ने बताइएको छ ।
सो योजनाका लागि कम्पनीले २०० करोड रुपैयाँ लगानी थप गरिसकेको छ भने सिरम इन्स्टिच्युट अफ इन्डिया संसारकै सबैभन्दा बढी भ्याक्सिन निर्माता कम्पनी हो । यो कम्पनीले प्रत्येक वर्ष १.५ अर्ब भ्याक्सिनको डोज बनाउँछ, जसमा पोलियोदेखि मिजल्ससम्म समावेश छ ।
यसैगरी बिल तथा मिलिन्डा गेट्स फाउन्डेसनले पनि सिरमलाई ११२५ करोड रुपैयाँ आर्थिक सहयोग गर्न तयार भएको छ । यसबाट कोरोना भ्याक्सिनको १० करोड डोज बनाउन सकिने र गरिब देशलाई दिन सकिने छ ।
सिरमका अनुसार एक डोज बनाउन लाग्ने हजार भारुबाट घटाएर २५० सम्म बिक्री गर्न आर्थिक सहयोगले मद्दत गर्नेछ ।