पर्यटनकै भरमा नेपालका होटल तथा रेस्टुरेन्ट चलेका हुन् त ?
Friday, January 3rd, 2025, 12:25 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
यहि बुधबार राष्ट्रिय तथ्याङ्ग कार्यालयले सार्वजनिक गरेको पछिल्लो राष्ट्रिय होटल तथा रेस्टुरेन्टको सर्वेक्षणले नेपालमा १ लाख ४२ हजार होटल तथा रेस्टुरेन्ट संचालन भएको देखाउँछ । तर सोही प्रतिवेदनले एक तिहाइ होटल तथा रेस्टुरेन्ट व्यवसाय दर्ता नभएको पनि बुझाउँछ । यस्तोमा नेपालमा एकिन कति होटल तथा रेस्टुरेन्ट छन् भन्ने प्रश्नको उत्तर अन्यौल छ ।
यसैसँग सम्बन्धित दोस्रो कुरा गर्ने हो भने नेपालका होटल तथा रेस्टुरेन्ट र अर्थतन्त्रसँग सम्बन्धित पाटो पर्यटन हो । जसमा आन्तरिक र वाह्य दुवै पर्दछन् ।
नेपाल पर्यटन बोर्डका अनुसार २०२४ मा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटक नेपाल आएका छन् । तथ्याङ्ग अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटकमात्र भित्र्याउन सकेको छ ।
यो स्थितिअनुसार नेपालमा संचालनमा रहेका (दर्ता भएका वा नभएका) होटल तथा रेस्टुरेन्टको संख्या र नेपालमा आउने पर्यटनको संख्यालाई हेर्दा पर्यटनकै भरमा नेपालका होटल तथा रेस्टुरेन्ट चलेका हुन छ त भन्ने प्रश्नको खोजी यो लेखमा गरिएको छ ।
नेपालमा राष्ट्रिय होटल तथा रेस्टुरेन्ट तथ्याङ्ग
राष्ट्रिय तथ्याङ्ग कार्यालयले सावर्जनिक गरेको पछिल्लो तथ्याङ्गअनुसार नेपालमा १ लाख ४२ हजार २ सय ३३ वटा होटल तथा रेस्टुरेन्ट रहेको तथ्यांक देखिँदै गर्दा कर्णाली प्रदेशमा सबैभन्दा थोरै ७ हजार १ एक १० वटा आवास तथा भोजनसँग सम्बन्धित व्यवसाय सञ्चालनमा छन् भने धेरै यस्ता व्यवसाय बागमती प्रदेशमा ५२ हजार १ एक २३ वटा छन् ।
सार्वजनिक नतिजा हेर्ने हो भने नेपालमा होटल उद्योगमा मात्र ५ खर्ब ४३ अर्ब रुपैयाँ बराबर लगानी भइसकेको देखिएको छ ।
नेपालमा सञ्चालनमा रहेका आवास तथा भोजनसँग सम्बन्धित व्यवसायमध्ये ३६.९ प्रतिशत कुनै पनि निकायमा दर्ता नरहेको तथ्याङ्क कार्यालयको अध्ययनले देखाएको छ ।
नेपालमा पर्यटनको तथ्याङ
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पर्यटन आगमनको तथ्यांकअनुसार अन्तर्राष्ट्रिय पर्यटन बजारमा उत्कृष्ट पर्यटन गन्तव्य मुलुकको पहिचान बनाएको नेपालमा पर्यटक आगमन भने औसत छ । गएको वर्ष पनि नेपालले औसत आगमनमै चित्त बुझाएको थियो ।
२०२४ मा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटक नेपाल आएका छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ । २०२२ मा ६ लाख १४ हजार ८ सय ६९ र २०२३ मा १० लाख १४ हजार ८ सय ८२ आएको तथ्यांकमा छ ।
होटल तथा रेस्टुरेन्टले अर्थतन्त्रमा पारेको प्रभाव
नेपालमा वार्षिक १० लाख पर्यटक आगमन २०१९ मै नाघेको हो । त्यसपछिका दुई वर्ष २०२० र २०२१ कोभिड महामारीले प्रभावित भयो । त्यसपछि संसारभरि तीव्र गतिले आगमन सुधार भए पनि नेपालको गति सुस्त भयो । जुन गति २०२४ मा समेत विस्तार हुन सकेन ।
२०२४ को कूल पर्यटक आगमन केलाउँदा पहिलो स्थानमा भारतीय पर्यटक छन् । यसको अर्थ धर्म, संस्कृति, परिवेश र भाषा धेरै मिल्ने नेपालीसँगको भारतीयलाई नेपालमा भ्रमण गर्न धेरै सहज छ । खुल्ला नाका र सहज यातायात व्यवस्थाले पनि भारतीयलाई नेपाल विभिन्न वाहानामा धुम्न आउनु सहज छ । जसका कारण नेपालमा आउने ठूलो पर्यटनको संख्या भारतीयले ओगटेका छन् ।
यस्तै अमेरिकी पर्यटक आगमन दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा चिनियाँ छन् ।
यसैगरी वर्षमा छोटो समय घुम्नका लागि ११ लाख पर्यटक नेपाल आउँदा रोजगारीमा जोडिने संख्या पनि कम छैन । देशैभरि आवास तथा भोजनसँग सम्बन्धित व्यवसायहरूमा १ लाख ६ हजार ४ सय ५९ जना कर्मचारी छन् । देशैभरि यस्तो व्यवसायसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएका मानिसहरूको संख्या भने ३ लाख ८७ हजार ७ सय ४७ जना रहेको छ ।
तथ्याङ्क कार्यालयका अनुसार नेपालमा सञ्चालित होटल, रिसोर्ट, रेस्टुरेन्टमा वा पार्टी प्यालेसमा एकै पटकमा २२ लाख मानिसहरूलाई खाना वा खाजा खुवाउन सक्ने क्षमता छ भने एक रातमा १० हजार मानिसहरू सुत्न सक्ने क्षमता नेपालका होटलहरूले बनाइसकेका छन् ।
अर्को भनेको नाफाको स्वरुप पनि हो । सर्वेक्षण अनुसार नेपालमा आवास तथा भोजनसँग सम्बन्धित व्यवसायहरूले औसतमा नाफा कमाएको देखिन्छ । यस क्षेत्रमा १ रुपैयाँ लगानी गर्दा औसतमा २० पैसा नाफा कमाएको देखिन्छ । तर यहि कुरा कर्णाली प्रदेशमा भने फरक रहेको सर्वेक्षणमा देखिएको छ । कर्णाली प्रदेशमा १ रुपैयाँ लगानीले करिब दोबर नाफा कमाएको देखिन्छ ।
तथ्याङ्क कार्यालयले होटल, रेस्टुराँ, लज, रिसोर्ट, होमस्टे, होस्टेल तथा पार्टी प्यालेस लगायतका व्यवसायको आर्थिक अवस्थाबारे गरेको अध्ययन अनुसार गत वर्षसम्म यो क्षेत्रमा दुई खर्ब १६ अर्ब रुपैयाँ लगानी भएको छ । त्यसको अहिलेको सम्पत्तिको मूल्याङ्कन तीन खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ ।
पर्यटन र हाम्रो अवस्था
कोभिड महामारीका समयमा नराम्ररी प्रभावित भएको खाना तथा आवाससम्बन्धी व्यवसाय अहिले देशको अर्थतन्त्रकै एउटा बलियो आधारका रूपमा उठ्न सुरु गरेको अध्ययनले देखाएको छ । यो व्यवसायले नेपालको कूल गार्हस्थ उत्पादन जीडीपीमा गर्ने योगदान करिब दुई प्रतिशत पुगेको छ । नेपालमा खाना तथा आवास क्षेत्र फस्टाउँदै जानुको एउटा प्रमुख कारण क्रमशः बढ्दै गएको घर बाहिर खाने प्रवृत्ति र घुम्ने संस्कृति पनि रहेको छ । पर्यटन बोर्ड निर्देशक मणिराज लामिछाने कोभिड महामारीदेखि आगमनमा परेको असरले केही सुस्त भए पनि अपेक्षा अनुसार पर्यटक आएको जिकिर गरेका थिए ।
अर्कोतर्फ भारत जस्तै नजिकको छिमेकी राष्ट्र चीन भएता पनि त्यहाँबाट नेपाल घुम्न आउने पर्यटनको संख्या कम हुनुलाई नेपालको पनि केही कमजोरी हो की भन्न सकिन्छ । चीनबाट नेपाल आउने पर्यटकको आगमनलाई बढाउन चीन सरकारसँगकै समन्वयमा विभिन्न प्रयास भइरहेको पनि उल्लेख गरिन्छ । तर यो प्रयास कत्तिको प्रभावकारी बन्न सकेको छ भन्ने कुरा सम्बन्धित निकायले विश्लेषण गर्नु पर्दछ । उसोत यसअघि कोरोना महामारी कम भएको धेरै पछिसम्म पनि चीनले आफ्ना नागरिकलाई विदेश भ्रमणमा जान खुला गरेको थिएन ।
यस्तै नेपालमा बेला बेलामा हुने ठुल्ठूला सडक दुर्घटनाका कारण भारतीय पर्यटकमा परेको मनोवैज्ञानिक असर र चीनको आन्तरिक अर्थतन्त्रका कारण पर्यटक कम हुँदा त्यसले नेपालमा आगमन बढाउन नसकेको अर्को स्थिति छ । यसलाई चिर्न पछिल्लो समय समूहमा पर्यटक तान्न भइरहेका प्रयासले भने सकारात्मक परिणाम दिइरहेको देखिन्छ ।
नेपालमा सडकको दयनीय अवस्थाको पर्यटन बजारमा बढी आलोचना भइरहेको छ । काठमाडौंबाट प्रमुख पर्यटन गन्तव्य पोखरा, चितवन र लुम्बिनी पुग्ने सडक पुनर्निर्माण क्रममा छन् । जसले पर्यटन आगमनमा केही असर समेत गरेको छ । कामको गति कम हुँदा पछिल्लो आधा दशकयता यी सडक हुँदै यात्रा गर्ने सर्वसाधारण र पर्यटकले सास्ती पाइरहेका छन् । अर्कातर्फ, दुर्घटनाको दरसमेत बढिरहेको छ ।
यसको नकारात्मक प्रचारले भारतीय पर्यटक आगमन प्रत्यक्ष प्रभावित हुने व्यवसायी बताउँछन् । अकोतर्फ, हवाई यात्रा समेत महँगो छ । तर, विश्सनीय छैन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सेवा विस्तार गर्न सकेको छैन ।
होटल संघ नेपाल (हान) अध्यक्ष विनायक शाह भन्छन्, ‘एक त नेपाल आउने कनेक्टिभिटी नै भरपर्दो छैन, अर्कातर्फ नेपाल आएपछिको आन्तरिक आवागमन सहज छैन, यो अवस्थामा पर्यटक आउनु नै ठूलो कुरा भइसक्यो ।’
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने चीनमा आक्रामक बजारीकरण हुँदाहुँदै आगमन सुधार नभएको स्वीकार गर्छन् । यसो हुनुमा चीनको आन्तरिक अर्थतन्त्रले समेत भूमिका खेलेको हुन सक्ने उनको भनाइ छ ।
होटल तथा रेस्टुरेन्टको यथार्त
पहिलो, समर्गमा नेपालमा दर्ता भएका १ लाख ४२ हजार बढी होटल तथा रेस्टुरेन्ट छन् तर ३६.९ प्रतिशत कुनै पनि निकायमा दर्ता हुन सकेका छैनन् । र ती दर्ता भएका होटल तथा रेस्टुरेन्टमा ५ खर्ब ४३ अर्ब बढी लगानी भएको देखिन्छ । तर यसले के बुझाउछ भने सम्बन्धित निकायले छुटेका होटल तथा रेस्टुरेन्ट समक्ष दर्ताका लागि पुग्न सकेको छैन वा दर्ताका लागि कडाई गर्न नसकेको बुझिन्छ ।
दोस्रो, नेपालका होटल तथा रेस्टुरेन्टमा ३६ लाख पर्यटन आगमनलाई थेग्न सक्ने, २२ लाख मानिसलाई एकैपटक खाना र खाजा खुवाउन सक्ने र एक रातमा १० हजार मानिसहरू सुत्न सक्ने क्षमता छ । तर नेपालमा ११ लाख पर्यटक मात्रै आउँदा औसतमा ४० प्रतिशत होटल तथा रेस्टुरेन्टका कोठाहरू मात्रै प्रयोगमा आएका छन् । यसको अर्थ बाँकी रहेका सेवाहरु कसरी प्रयोग भइरहेको छन् त !
तेस्रो, नेपालमा औषतमा दैनिक ३ हजार १ सय ८७ जना पर्यटनहरु आउने गर्दछन् । यसले नेपालमा संचालित होटल तथा रेस्टुरेन्टको कति प्रतिशत खर्च थेग्न सकेको छ भन्ने प्रश्न हो । उसोत नेपालका होटल तथा रेस्टुरेन्टमा गरिएको १ रुपैयाँ लगानीले वर्षमा २० पैसादेखि दोब्बरसम्म नाफा दिइरहेको छ । यसको अर्थ कतै न कतै आन्तरिक पर्यटन वा स्थानीयले पनि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा ठूलै योगदान गरेको मान्न सकिन्छ ।
माथि गरिएका विश्लेषणबाट पर्यटनकै भरमा नेपालका होटल तथा रेस्टुरेन्ट चलेका हुन् त ? भन्ने प्रश्नको जवाफ खोज्ने प्रयास गरिएको हो । समर्थ विश्लेषण व्यक्तिअनुसार फरक फरक हुन सक्छ, तर यस दृष्टिकोणबाट नेपालामा सञ्चालित होटल तथा रेस्टुरेन्टमा आन्तरिक पर्यटन र स्थानीयको योगदान राम्रै रहेको देखिन्छ ।
अर्कोतर्फ समय परिवर्तनसँगै नेपालीहरुमा होटल तथा रेस्टुरेन्टमा जाने संस्कृतिको पनि विकास हुँदै गएको छ । त्यस्तै सामुहिक, संस्थागत होस् वा व्यक्तिगत विभिन्न कार्यक्रमहरु जस्तै विवाह, जन्ममहोत्सव, पास्नी, बैठक, सेमिनार, वार्षिक कार्यक्रमलगायतका कार्यक्रमहरु पनि धेरै जसो होटल तथा रेस्टुरेन्टमा हुने गरेको पाइन्छ । यस कार्यक्रमले स्थानीय क्षेत्रमा सञ्चालन रहेका होटल, रेस्टुरेन्ट, लज, रिसोर्ट, होमस्टे, होस्टेल तथा पार्टी प्यालेसको आर्थिक कारोबारलाई राम्रै टेवा दिएको देखिन्छ ।
यसर्थ राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी हेमराज रेग्मीले भनेझै यस व्यवसायले नेपालको कुल गार्हस्थ उत्पादन जीडीपीमा करिब दुई प्रतिशतको योगदान पुगेको छ र भविष्यमा यस क्षेत्रका व्यवसाय फस्टाउँदै जानेछ भन्ने प्रशङ्ग सार्थक हुने देखिन्छ । जसरी जापान, कोरिया, अष्ट्रेलियालगायतका देशमा नेपालीहरुको सकृयता यस क्षेत्रमा बढे झै नेपालमा पनि यस क्षेत्रमा सुधार गर्नु पर्ने देखिएका कमिकमजोरीलाई सुधार्दै जाने हो भने आन्तरिक पर्यटन र स्थानीयसँगै वाह्य पर्यटनको संख्यामा बढोत्तरी गर्न सकिन्छ ।