दलित महिला पत्रकार : संघर्ष र सशक्तिकरणको प्रतीक
Wednesday, January 8th, 2025, 8:07 pm
Kalpristha
शिवानी विक
कोहलपुर, २४ पुस
वर्षौदेखि बाँकेमा पत्रकारिता गर्दै आएकी रूपा गहतराज विभेद, महिला हिंसा सामाजिक कुरितिबिरुद्ध कलम चलाउँछिन् । उनी दलनमा परेकाको आवाज, बिभेदमा पारिएकाहरुको आवाज शब्दमार्फत ओकल्छिन् । २०५९ सालदेखि विभिन्न रेडियो, पत्रपत्रिका र अनलाइनमा जोडिँदै आएकी रूपा अहिले कान्तिपुरमा बाँके जिल्ला संवाददाताको रुपमा कार्यरत् छिन् । उनी संचारिका समुह लुम्बिनी प्रदेशको उपाध्यक्ष पनि हुन् । पत्रकारिताको यात्रा उनका लागि सहज नभएपनि भविष्यका दलित महिला पत्रकारहरूको लागि प्रेरणा बनेको छ ।
रूपाले आफना सपनाहरूलाई पछ्याउने क्रममा थुप्रै बाधा र चुनौतीहरूको सामना गर्नुप¥यो । ‘एक समय म भाडाको कोठामा बस्थे । कोठा सस्तो र सुलभ थियो, तर जब घरबेटीले म दलित समुदायकी भन्ने थाह पाए । घरबेटीले अचानक मलाई कोठा खालि गर्न भने ।’ रुपाले सुनाइन् । यो घटनाले रुपाको मनमा एउटा गहिरो चोट लाग्यो । उनले त्यसै दिन पत्रकारिता पेशा अपनाएर समाजमा हुने अन्याय र भेदभावलाई उजागर गर्ने संकल्प गरिन् । उनी आफना अनुभवहरूलाई समेटेर लेख्न थालिन् । आखिर आफ्नो आवाजलाई सशक्त बनाउँदै समाजमा भएका अन्यायका बिरुद्ध लड्नका लागि उनले पत्रकारिता पेशा अंगालेकी हुन् ।
रूपा समाजमा परिवर्तन ल्याउनका लागि लेखन क्षेत्रलाई माध्यम बनाइन् । जसले समाजलाई फेर्न र आफूलाई सुधार्न प्रेरित गरिरहेको छ । पत्रकारितामार्फत सामाजिक न्याय र दलित समुदायका समस्याहरूलाई उजागर गर्दै आएकी छिन् । उनका लेखहरूले अन्याय र भेदभावका विषयमा चासो र चित्तबुझ्दो प्रतिक्रिया ल्याएको रुपाको अनुभव छ ।
पत्रकारिता सजिलो पेशा होइन । ‘हामीले दोहोरो विभेदको सामना गर्नुपर्छ । एक त दलित भएको कारण र अर्को महिला भएको कारण । यस्ता विभेदकारी दृष्टिकोणहरूका बाबजुद पनि आफ्नो कार्यक्षेत्रमा निरन्तरता दिन पाउनु र एउटा स्थान बनाउन पाउनु नै ठुलो उपलब्धी हो ।’ रुपाले भनिन् । दोस्रो चुनौती भनेको पेसागत अवसरहरूको अभाव हो । दलित महिलाहरूलाई विशेषगरी ग्रामीण क्षेत्रमा पत्रकारिता गर्न झन् कठिनाइ छ । सीमित स्रोतसाधन, तालिमको अभाव र सुरक्षाको चिन्ताले पेसागत यात्रा जटिल भएपनि त्यसमा लागिरहेको रुपा बताउँछिन् ।
अनिता विश्वकर्मा, बाँके जिल्लामै क्रियाशिल अर्की दलित समुदायकी पत्रकार हुन् । उनी सामुदायिक रेडियो प्रतिवोध एफएममा समचार प्रमुखको रुपमा कार्यरत छिन् । उनले २०७३ सालमा सामुदायिक रेडियो प्रतिवोध एफएमबाट पत्रकारिता सुरु गरेकी थिइन् ।
सुर्खेतमा हुर्केकी अनिता पढ्नका लागि २०७१ सालमा बाँकेको कोहलपुर आईन् । त्यससमय उनले थुप्रै चुनौतीहरूलाई पनि सामना गर्न पर्यो । दलित भएकै कारण हरेक मोडमा भेदभाव र असमानतासंग जुध्नु पर्यो । अनिताले सञ्चार माध्यमले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने थाह पाइन् । यही सोचले उनलाई पत्रकारिता क्षेत्रमा प्रवेश गरायो । बाँकेमै रहेर उनले पत्रकारितालाई माध्यम बनाई आफ्नो समुदायका मुद्दाहरूलाई उजागर गर्न थालिन् । अनिताले दलित समुदायका समस्याहरू, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता महत्वपूर्ण विषयहरूमा लेख्न थालिन् । उनले भनिन्, ‘एउटा आवाजले पनि ठूलो परिवर्तन ल्याउन सक्छ, र यसैले हरेक व्यक्तिले आफनो आवाज उठाउन र न्यायको लागि लड्नुपर्छ ।’
अनिता आफ्नो काममा दलित भएका कारण असमान व्यवहार भएको अनुभव गर्छिन् । ‘समाजमा देखिएको बिभेद, तिरस्कार र आवाजविहिनको आवाज बन्दा उनलाई गर्भको महसुस हुन्छ । अनिता जस्तै धेरै व्यक्तिहरू, विशेषगरी दलित समुदायका सदस्यहरू, आफ्नो दैनिक जीवनमा असमान व्यवहारको सामना गर्छन् । यसले समाजका गहिरा समस्याहरूलाई उजागर गर्दछ, जहाँ जाति, वर्ग र पृष्ठभूमिका आधारमा भेदभाव हुन्छ । अनिताको अनुभव केवल व्यक्तिगत मात्र होइन, यो एउटा व्यापक सामाजिक समस्या हो, जसले समग्र समाजको समृद्धिमा अवरोध पु¥याउँछ । उनले भनिन्, ‘पुरस्कार र सम्मान केवल मेरो लागि होइन, म जस्ता आम दलित महिला पत्रकारको हौसला हो ।’
संचार क्षेत्रमा धेरै जिल्लामा एक जना पनि दलित समूदायका महिला भेटिदैनन् । तर, बाँके यस मामिलामा अगाडि छ । यहा दलित महिला पत्रकार अरू सरह हरेक विधामा प्रतिस्पर्धा गरिरहेका छन् । पवित्रा परियार, बाँकेमा सक्रिय दलित महिला पत्रकार हुन् । उनी सामुदायिक रेडियो प्रतिवोध एफएममा कार्यक्रम संयोजकको रुपमा कार्यरत छिन् । २०७६ सालमा बाल संसार रेडियो कार्यक्रम प्रस्तोताको पदबाट काम सुरु गरेकी थिइन् । पवित्रा नेपाल पत्रकार महासंघ बाँकेको निवर्तमान कार्यसमिती सदस्य र सन्चारिका समुह बाँकेको महासचिव हुन् ।
पवित्राले आफुले दलित भएकै कारण विभेद त खासै भोग्न परेको छैन तर वरिपरिका दलित समुदायका व्यक्तिले गैरदलितबाट दबिएको आफ्नै आँखा अगाडी देखेकी छन् । पत्रकारिता क्षेत्रमा थप दलित महिलालाई आकर्षित गर्नको लागि शिक्षा र तालिमको पहँुच बढाउनु आवश्यक रहेको पवित्रा बताउँछिन् । उनि भन्छिन्, ‘मध्यमवर्गीय र उच्च वर्गका व्यक्तिहरूलाई अवसर दिनुअघि, विपन्न र दलित समुदायका महिलाहरूलाई योग्य बनाउनका लागि विशेष तालिम र स्रोतहरु प्रदान गर्नुपर्छ, ।’ पत्रकारितामा दलित महिलालाई सही अवसर दिनु भनेको सामाजिक न्याय र समाज सुधारको बाटो रहेको उनले बताइन् । यसले समग्र पत्रकारिताको गुणस्तरलाई पनि सुधार गर्न सक्ने उनको भनाइ छ ।
पत्रकारिता गरेर के हुन्छ र भन्नेका लागि नेपालगन्जकी आशा परियार उदाहरण हुन् । नेपालगन्जको छापा पत्रकारितामा आशा परिचित नाम हो । ‘पत्रकारिता गरेरै मेरो परिवार र आफनो आवश्यकता पूरा गरेकी छु । म लेखेरै बाँची रहेको छु,’ उनी गर्वका साथ भन्छिन् । अहिले उनी सगरमाथा गन्तब्य राष्ट्रिय दैनिक पत्रिका नेपालगन्जमा संवाददाताको पदमा कार्यरत छिन् । उनले २०७४ सालमा रुबरू एफएम नेपालगन्जबाट पत्रकारिता सुरु गरेकी थिइन् ।
आशाको पत्रकारिताको यात्रा कुनै समय कठिनाइले भरिपूर्ण थियो । अटो भाडाका लागि पैसा नपाएर उनले पैदल यात्रा गरेको सम्झना उनलाई अझै ताजा छ । आज, उनले आफ्नै स्कुटर किनेर यात्रा गर्न सक्ने अवस्थामा पुगेकी छिन् । परिवारलाई आर्थिक र सामाजिक सहयोग पु¥याउनको लागि उनले पत्रकारिता क्षेत्रमा आफ्नो स्थान बनाएकी छिन् । आशाले भनिन्, ‘पत्रकारिता क्षेत्रका दलित महिलाहरूलाई थप प्रोत्साहन र अवसरहरू प्रदान गर्नुपर्छ । मोफसलमा रहेका पत्रकार महिलाहरूलाई व्यावसायिक तालिम र फेलोसिप प्रदान गरे क्षमता र आत्मविश्वासलाई बढाउन थप मद्दत गर्नेछ ।’
विद्युत्मा रैका, अछाम जिल्लाबाट सुरु भएको पत्रकारिताको यात्रा अहिले बाँकेमा आइपुगेको छ । तत्कालिन जाल्पादेवी गा.वि.स.मा रहेको सफलता बालमञ्चको अध्यक्ष हुँदै गर्दा उनले आधारभुत बाल पत्रकारिताबाट आफ्नो लेखन यात्रा सुभारम्भ गरेकी थिईन । २०६९ सालमा रेडियो रामारोशनबाट व्यवसायीक पत्रकारिता सुरु गरेकी थिइन् ।
पछिल्लो ५ वर्षदेखि रैकाले बाँकेमा पत्रकारिता गर्दै आएकी छिन् । उनी पहरा नेपाल डटकमको अध्यक्ष तथा सम्पादक पदमा कार्यरत छिन् । उनले आफूलाई सवल पत्रकार साबित गर्न नेपालगन्जमा पनि कुनै कसर राखेकी छैनन् । विद्युत्माले पत्रकारिता थाल्दा सबैभन्दा पहिले त महिला भैसकेपछि घर बाहिर निस्किनु नै चुनौती थियो । घर परिवारसंग नै उनले लडेर यस क्षेत्रमा होमिएकी हुन् । सुरुमा उमेर पनि सानै भएका कारण घर बाहिर बस्न पनि निकै समस्या थियो । गाउँ सामजले पनि अनेकथरी कुरा गर्थे, यि विभिन्न समस्याहरुलाई झेल्दै पत्रकारिता पेशालाई निरन्तरता दिएको उनले बताईन् । अहिले समुदायका लागि उनले पु¥याएको योगदानले सकारात्मक प्रतिक्रिया र समर्थनले प्रेरित बनाएको उनी बताउँछिन् ।
विद्युत्माले सबैखाले समाचार लेख्छिन् । तर, दलित र सिमान्तकृत समूदायका समाचार बढी लेख्छिन् । ‘पत्रकारिता भनेको केवल समाचार लेख्ने काम होइन, यो समाजको रगत र आत्मा हो ।’ विद्युत्माले भनिन्, ‘ पत्रकारारिताले न्यायका लागि संघर्ष गर्न प्रेरित गरेको छ ।’ विद्युत्माको प्रेरणाले उनकी बैनी जनता रैका पनि पत्रकारितामा सक्रिय छिन् । उनले २०८० सालदेखि सामुदायिक रेडियो कोहलपुर एफएमबाट पत्रकारिता थालेकी छन् । अहिले सामुदायिक रेडियो कोहलपुर एफएममा नै कार्यरत छिन् ।
पत्रकार महासंघ बाँकेमा ३ सय ३३ जना पत्रकार छन् । त्यसमध्ये ८० जना महिला पत्रकार छन् । करिब १० जना दलित महिला पत्रकारको संख्या रहेको छ । पत्रकार महासंघको कार्यसमिति सदस्यको पदमा १ जना दलित महिला रहेको पत्रकार महासंघ बाँकेका निवर्तमान सचिव कमल डांगीले जानकारी दिए ।
दलित महिला पत्रकारहरूको उल्लेखनीय अग्रसरता र उनीहरूको योगदानलाई चित्तबुझ्दो रूपमा रहेको उहाँले बताउनुभयो । उहाँले महासंघमा आवद्ध नभएपनि बाँकेका अन्य समुदायका महिला पत्रकारहरूभन्दा दलित महिला पत्रकारहरू बढी सक्रिय रहेको बताउँदै यसले समाजमा दबिएका आवाजहरूलाई सशक्त रूपमा व्यक्त गर्न सकिन्छ ।
‘हरेक ठाउँमा दलित महिला पत्रकारहरूको सहभागिता सुनिश्चित गर्नुपर्छ, यसले तिनीहरूलाई सशक्त बनाउने मात्र होइन, बरु उनीहरूको विचार र दृष्टिकोणलाई पनि मान्यता दिन्छ । सहभागी गराउँदा, तिनीहरूले नयाँ सीप र ज्ञान प्राप्त गर्छन्, जसले उनीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत पु¥याउँछ ।,’ डागीले भने । दलित पत्रकार महिला व्यवसायिक पत्रकारिता मात्र होइन पत्रकार सम्बद्ध सस्थामा नेतृत्वमा समेत पुग्ने कसरतमा छन् । उनीहरु विभिन्न संघ संस्थामा अध्यक्ष, उपाध्यक्ष लगायतका पदमा कार्यरत छन् ।
बाँकेमा दलित महिलाहरु पत्रकारितामा लाग्ने कारण धेरै छन् । प्रमुख कारण हो सबैको प्रेरणा । २०६४ सालमा दलित सेवा संघ बाँकेको साझेदारीमा सामुदायिक रेडियो प्रतिवोध एफएमको स्थापना भएको थियो । यसले दलित समुदायका महिला पत्रकारहरूको लागि एउटा महत्वपूर्ण अवसर प्रदान ग¥यो । रेडियोमा आवद्ध हुन पाउँदा, तिनीहरूले आफ्नो आवाजलाई व्यापकमा पु¥याउन, सामाजिक मुद्दाहरूलाई उजागर गर्न र सामुदायिक परिवर्तनमा योगदान गर्न सक्ने मौका पाए ।
बाँकेमा लामो समयदेखि पत्रकारीता गर्दै आएका सामुदायिक रेडियो प्रतिवोधका स्टेशन म्यानेजर हेमन्त बि.कले दलित सेवा समाजबाट निरन्तर दलित महिला पत्रकारहरूको क्षमता अभिवृद्धि र प्रोत्साहन गर्दा पनि धेरै जना पत्रकारितामा आएको बताउँछन् । ‘हामी दलित महिला पत्रकारहरूको क्षमता अभिवृद्धिमा निरन्तर प्रयासरत छौँ । यसका लागि प्रशिक्षण, कार्यशाला, र अन्य सघन कार्यक्रमहरूको आयोजना गछौं । ’उनले भने, ‘दलित महिला पत्रकारहरूको लागि आवश्यक स्रोत र अवसर प्रदान गरेर, हामी उनीहरूको पेशागत विकासलाई सघाइरहेका छौ ।’ दलित महिलाहरूलाई पत्रकारितामा आउँदा समाजका सिमान्तकृत समुदायका विषय ल्याउन, समाचारमा विविधता र सामाजिक न्यायको वृद्धि गर्नमा सहज भएको बताए ।
नेपाल पत्रकार महासंघ बाकेका पूर्व अध्यक्ष झकल गैरेले बाँकेमा दलित महिला पत्रकारहरूको संख्या बढ्नु समावेशीकरणको आशाजनक संकेत भएको बताउँछन् । तर पत्रकारितामा उनीहरूको निरन्तरता सुनिश्चित गर्न अझै धेरै काम गर्नुपर्ने उनको सुझाब छ । “पत्रकारिता एउटा चुनौतीपूर्ण पेशा हो र यसमा सफलता प्राप्त गर्नका लागि त्यहाँको पारिश्रमिक र सुविधाहरू राम्रो हुनु आवश्यक छ । यसका लागि विभिन्न सञ्चार संस्थाहरूले सघाउनुपर्छ ।’ उनले भने ।
बाँकेमा राष्ट्रिय दलित पत्रकार संघ छ । यसमा आवद्ध २१ जना पत्रकारमध्ये दलित महिला पत्रकार ९ जना छन् । ‘नेपालको पत्रकारितामा विविधता र समावेशिता बढाउने प्रयासका लागि कडा मेहनत भइरहेको छ । बँकेमा दलित महिलाको पत्रकारितामा प्रतिनिधित्व लोभलाग्दो छ ।’ राष्ट्रिय दलित पत्रकार संघ बाँकेका अध्यक्ष कबिन्द्र परियारले भने, ‘यसले महत्वपूर्ण सामाजिक परिवर्तनको संकेत गरेको छ ।’ जबकि राष्ट्रिय दलित पत्रकार संघ नेपालमा देशभर १८ सय पत्रकार आवद्ध छन् । त्यसमध्ये करिब ७ सय जना महिला पत्रकार रहेको राष्ट्रिय दलित पत्रकार संघ नेपालका महासचिव लक्ष्मण दर्नालले जानकारी दिए ।
बाँकेमा दलित महिला पत्रकारहरू दैनिक समाचार, पत्रिका, रेडियो र डिजिटल मिडियामा सक्रिय रूपमा काम गरिरहेका छन् । सामाजिक समावेशीकरणका दृष्टिले हेर्दा यसले सामाजिक न्याय र समान अवसरको दिशामा सकारात्मक संकेत दिएको सरोकारवालाहरु बताउँछन् ।
शिवलाल पाण्डे उनी कोहलपुरका नागरीक अगुवा हुन् । उनी भन्छन् ‘दलित महिला पत्रकारको अग्रसरता एकदमै राम्रो छ । यसले सकारात्मक सोंच र परिवर्तनको संकेत दिन्छ । दलित महिलाहरू प्रायः समाजमा अवहेलित र असमान व्यवहारको शिकार हुन्छन् ।’ उनी भन्छन् ‘हामी सबैले दलित महिलाहरूको आवाजलाई सुन्न र समर्थन गर्नुपर्छ । यसका लागि तिनीहरूलाई शिक्षा, स्रोत र अवसर प्रदान गर्न महत्वपूर्ण छ । यदि हामीले तिनीहरूको क्षमतामा विश्वास गर्छौं र अवसर दिन्छौं भने समाजमा सकारात्मक परिवर्तनलाई साकार गर्न सजिलो हुन्छ ।’ दलित महिला पत्रकारको अग्रसरता समाज परिवर्तन र सोंचाईमा नया परिप्रेक्ष्य ल्याउँछ । हामी सबै मिलेर तिनीहरूको आवाजलाई समर्थन गर्न र सामाजिक अन्यायको बिरुद्धमा एकजुट हुनुपर्ने उनको धारणा रहेको छ ।