प्रेस पासको दुरुपयोग बढेसंगै चेकजाँचमा कडाइ गर्न पत्रकार महासंघको ध्यानाकार्षण
Sunday, August 30th, 2020, 2:55 pm
amit
काठमाण्डौ, १४ भदौ । नेपाल पत्रकार महासंघले निषेधाज्ञाका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा गैरपत्रकारले प्रेस पासको दुरुपयोग गरेको पाइएको भन्दै चेकजाँचलाई कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
यसैगरी जनतालाई सुसूचित गराउने उद्वेश्यका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय भएको र यस्ता दुरुपयोगले पत्रकारिता पेसाको प्रतिष्ठा र मर्यादामा आँच पुग्ने पनि ठहर गर्दै महासघंले चेक जाँचलाई कडाइ पार्न प्रहरीलाई आग्रह गरेको छ।
सरकारले निषेधाज्ञा अवधिभर प्रेस अत्यावश्यक भित्र पर्ने भएकाले छुट दिइएको हो । तर, प्रेस प्रतिनिधि कार्डको दुरुपयोग हुन थालेपछि महासंघले कडाइ गर्न भनेको हो।
महासंघका अनुसार आमसञ्चारकर्मी र सञ्चार प्रतिष्ठानलाई पनि पेसागत कामका समयमा मात्रै प्रेस लेखिएका सवारीसाधन प्रयोग गर्न, आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गरिएको छ।
त्यसैगरी महासंघले विज्ञप्ति जारी गर्दै प्रेस पासको दुरुपयोग रोक्न नेपाल प्रहरी लगायतका सम्बन्धित निकायहरूलाई आग्रह गर्दै प्रेस उल्लेखित सवारी साधनमा सवार सबै यात्रुको प्रेस पास चेक जाँच गर्न, प्रेस पास अधिकाधिक भए नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेसागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालय सहितका सम्बन्धित निकायको ध्यानाकार्षण गर्दै कसैले प्रेसको दुरुपयोग गरेको पाइएमा कानुनी कारबाही गर्न आग्रह गरेको छ।