काठमाण्डौ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएकोमा नगरपालिका फोरम असन्तुष्ट, अझै कडा बनाउन सुझाव
Thursday, September 3rd, 2020, 1:27 pm
amit
काठमाण्डौ, १८ भदौ । काठमाण्डौ उपत्यकामा बुधबार मध्यरातीबाट थप गरेको निषेधाज्ञा आदेशप्रति उपत्यका नगरपालिका फोरमले असन्तुष्टि व्यक्त गरेको छ । नगरपालिका फोरमले विज्ञप्ति जारी गर्दै तीनवटै जिल्ला प्रशासनले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञा खुकुलो भएको भन्दै असन्तुष्टि व्यक्त गरकेको छ।
तीनवटै जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्दै उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल–व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग गर्ने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने बताइएको छ भने नगरपालिका फोरमले सबैभन्दा बढी असन्तुष्टि यही बुँदामा रहेको विज्ञप्तिमार्फत जनाएको छ।
उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्ति अनुसार यही भदौ १८ गतेदेखि लागू हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो २ बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल–व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ भने यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अतिआवश्यक वस्तु र सेवालाई विहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल–व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ।
अहिले उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेको र उनीसँग भर्चुअल संवाद गरी विज्ञप्ति जारी गरेको मध्यपुर ठिमीका मेयर श्रेष्ठले जानकारी दिएका छन्।
मेयर श्रेष्ठले काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण तथा मृत्युदर समेत तीव्ररूपमा बढिरहेको सन्दर्भमा उपत्यकालाई भयावह स्थितिबाट जोगाउन कडा रूपमा निषेधाज्ञा आवश्यक रहेको उपत्यका नगरपालिका फोरम, काठमाडौंको ठहर रहेको पनि जानकारी दिएका छन्।
विज्ञप्तिमा उल्लेख गरे अनुसार वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखी उपत्यकाका स्थानीय तहबाट प्रवाह गरिँदै आएका अत्यावश्यक बाहेकका सेवा–प्रवाह भदौ २४ सम्म बन्द रहने जानकारी गराइएको छ।