त्रिभुवन विश्वविद्यालयको परिक्षामा अनियमितता भएको आरोप सहित सर्वोच्चमा मुद्धा दायर
Wednesday, December 2nd, 2020, 11:09 am
amit
काठमाण्डौ । गत कात्तिक २६ मा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रकाशित गरेको परीक्षाफलमा अनियमितता भएको भन्दै असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।
असन्तुष्ट पक्षले १८ वटा विषयको नतिजा शून्य आएको, २३ वटा विषयमा आवश्यक संख्या नै उत्तीर्ण हुन नसकेको, १ सय ७७ वटा पद फ्रिज भएको कुरा रहस्यमयी भएकोले परिक्षामा अनियमितता भएको आरोप लगाएको छ ।
प्रकाशित नतिजामा एउटै परीक्षार्थीको नाम उत्तीर्ण र रद्द दुवैमा प्रकाशित समेत भएकोले ठूलो लार्पबाही सहित अनियमितता भएको आरोप लगाएका छन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले प्राध्यापन गर्ने विषय इएनटी (विज्ञापन नम्बर १६१र०७५र०७६) मा २ जनाको रिक्त पदमा ३ जना परीक्षार्थी संलग्न भएकोमा कसैले पनि उत्तीर्णाङ्क अंक प्राप्त गर्न नसक्नु र क्लिनिकल फर्माकोलोजीतर्फ रहेको विज्ञापन नम्बर १७८र०७५र०७६ को खुलातर्फ २ जना परीक्षार्थीले परीक्षा दिएकोमा ३ जना उत्तीर्ण हुनुले त्रिविको परिक्षा प्रणालीमा नै प्रश्न चिन्ह उब्जिएको छ ।
यसबारे छानबिन हुनुपर्ने भन्दै गएको मंसिर १४ गते सर्वोच्च अदालतमा असन्तुष्ट २६ जना परीक्षार्थीले मुद्दा दर्ता गरिएको हो । सेवा आयोगले गोल्ड मेडलिस्टहरुलाई छानीछानी अनुत्तीर्ण गरेको पीडित पक्षले आरोप लगाएका छन् । मुद्दा दर्ता गर्ने अधिकांश गोल्डमेडलिस्टहरु छन् ।
सेवा आयोगले थप गरेको उत्तर पुस्तिकामा कोडिङ तथा डिकोडिङ गरेकाले रद्द गरेको भन्नु नियमसँगत नभएको उनीहरुको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष लालुप्रसाद पौडेलले नतिजा प्रकाशनमा केही त्रुटि भएको स्वीकार गर्दै आउने दिनमा त्यसलाई सुधार गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले मानविय त्रुटिका कारण एउटै परीक्षार्थीको नाम रद्द र सफल दुवै ठाउँमा हुन गएको बताउनुभएको छ । त्रिवि सेवा आयोगबाट नतिजा प्रकाशनमा केही त्रुटि भए पनि पाठ्यक्रम अनुसार प्रश्न नआउनुमा त्रिवि सेवा आयोगको कुनै दोष नभएको उहाँको तर्क छ ।
यसअघि त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले २ सय ४० जनाको उपप्राध्यापक पदको लिखित परीक्षा रद्द गरेको थियो । उपप्राध्यापक बन्न उत्तरपुस्तिकामै मोबाइल नम्बर लेखेर पठाएपछि उनीहरूको परीक्षा र उत्तरपुस्तिकालाई मान्यता नदिने निर्णय भएको आयोगले जानकारी दिएको थियो ।