फेरिदै छ सत्याल टोल
Wednesday, March 24th, 2021, 8:43 am
Kalpristha
सौरभ राना
खजुरा, ११ चैत
गत वर्ष चैत ११ गते अर्थात आजकै दिनलाई धेरै याद गर्छन । कोभिड–१९ ले देशभर लकडाउन घोषणा गरियो । मानिस घरको चौघेरामा बस्नु पर्ने अवस्था सृजना भयो । महामारीका रुपमा फैलिएको कोभिडले हरेक क्षेत्र प्रभावित बने । आर्थिक रुपमा कमजोर र निम्न वर्ग त झन कोभिडको मारमा परे । दैनिक काम गरेर गुजारा चलाउने मानिसले भोगेका समस्या पीडादायी नै छन । यस्तै पीडादायी अनुभव छन बाँके खजुरा–२ पुल्चोक सत्याल टोलकी पानमति सुनारसँग । उनले भनिन, ‘लकडाउनमा बिदेशबाट आउनु भएका श्रीमान घरमै बस्नु भयो ।
विदेशमा कमाएको पैसाले घर बनायौं । अलिअलि ऋण लागेको थियो । लकडाउन भएपछि त साबुन किन्ने पैसा पनि थिएन, दैनिक गुजारा चलाउन पनि मुस्किल परेको थियो ।’
घरमा साबुन किन्न पनि अप्ठयारो परिरहेका बेला बी–ग्रुपले गरेको सहयोग आफुहरुलाई धेरै फाइदा गरेको बताउँछिन पानमति । उनले थपिन, ‘बी–ग्रुप र अक्सफामका सर मेडमलाई धेरै धन्यवाद दिन चाहन्छौं । सत्याल टोली खजुराको विपन्न वस्ती हो । दलितको संख्या धेरै छ यहाँ । अधिकाशको आर्थिक अवस्था कमजोर छ । लकडाउन बेला सर मेडमले बाल्टिन दिनु भयो । हात धुन सिकाउनु भयो । साबुन, बृद्ध बृद्धालाई न्यानो कपडा, थर्मस दिनु भयो । समस्या परेको बेला यही कुरा पनि धेरै ठुलो हुदो रहेछ ।’
कोभिड प्रभावित समुदायलाई लक्षित गरेर भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) र अक्सफामको साझेदारीमा खजुरा गाउँपालिकाको १,२,३,४ र ८ मा सुरु भएको थियो ‘स्वच्छताका लागि व्यवहार परिवर्तन’ परियोजना ।
जसले समुदाय गएर महिलाहरुलाई व्यक्तिगत सरसफाई, घरायसी काममा महिला–पुरुषको सहभागिता जस्ता क्षेत्रलाई समेटेर काम गरेको थियो । १ हजार घरधुरी परिवारलाई लंैगिकता र सरसफाईले समुदायको विकासमा पार्ने प्रभावका बारेमा प्रशिक्षण दिइएको थियो । त्यसले सकारात्मक परिवर्तन गराउँदै खजुराका विपन्न वस्तीमा ।
सत्याल टोलकै ४५ वर्षे अनिता सार्की पनि अहिले आफनो व्यक्तिगत सरसफाइ र परिवारको सरसफाईमा सचेत छिन । उनको घरमा एउटा परिवर्तन आएको छ । जसबाट आफु खुसी भएको बताउँछिन उनी । अनिता भन्छिन,‘हामी दिनभर घरमा काम गरेर जादा राम्ररी हात थुन मन लाग्थेन । हात धुने बाल्टिन पाएपछि बच्चाहरु रहरले हात धोइरहन्छन । बृद्धहरुलाई धारा पेल्न कठिन हुन्थ्यो । तर अहिले सजिलो भएको छ ।’
खजुरा गाउँपालिका–२ सत्याल टोलको मुख्य आय आर्जन गर्ने क्षेत्र हो कृषि र मजदुरी । तरकारी खेती, बाख्रापालन, पशुपालन गरेका छन केहिले । तर व्यावसायिक रुपमा होइन । आर्थिक स्तर सुर्धार गर्न संघर्ष गरिरहेका छन सत्याल टोलका बासिन्दाले । त्यसमा थप हौसला थप्ने गरेको छ महिला समुहले सिकेका सामुहिक चेतनाले । महिलाहरु समुहमा बसेर गाउँको समस्या, सरसफाई र सहयोगका बारेमा कुराकानी गर्ने गर्छन । त्यसले गाउँलाई सफा राख्न पनि सहयोग गरेको अनुभव सुनाउँछन सत्याल टोलकै मंगल सुनार ।
सत्याल टोल जस्तै खजुरा–१ न्याउलीडाँडाका जनता पनि आर्थिक स्तरमाथि उकास्न मिहिनेत गरिरहेका छन । रोजगारी प्रमुख समस्या देखिएको न्याउलीडाँडाका परियोजनाले नयाँ आसाको किरण जगाएको छ । समुहमा बसेर सिकेको कुरा व्यवहारमा लागु गर्दा आफनो परिवारलाई फाइदा पुगेको बताउँछिन न्याउलीडाँडाकी रेश्मा थापा । उनले भनिन,
‘लकडाउनका बेला हामीले रोगबाट कसरी बच्ने भनेर सिकेका थियौं । सरसफाई, खानपिनमा कसरी सुधार त्यसको बारेमा सिक्यौं । म अहिले पानी तताएर खाने गर्छु । यसले मेरो परिवारमा अहिले बिरामी कम हुने गरेका छन । यो पनि मेरो लागि फाइदा हो ।’
परियोजना संयोजक प्रकाश शर्मा सरसफाई समुदायको आर्थिक स्तर बृद्धिमा अप्रत्यक्षमा रुपमा सघाई रहेको बताउँछन । उनले भने,‘कोभिडले समस्यामा परेका समुदायले कसरी सहयोग गर्न सकिन्छ भनेर काम गरेका थियौं । त्यसले समुदायको चेतनाको स्तरमात्रै होइन आर्थिक स्तरलाई माथि उकास्न सहयोग गरेको छ । सरसफाईले रोगको संक्रमण कम गर्न सहयोग गर्छ । रोग लागेन भने पनि मानिसको खर्च कम हुन्छ ।’
परियोजना अन्तर्गत खजुरा गाउँपालिका, वडा कार्यालय, विद्यालयलाई पनि हात थुने स्वचालित मेसिन, टंयाकी, सेनिटाइजर, मास्क, सुचना प्रभाव गर्नका लागि टिभी लगायतका कुरा सहयोग गरिएको छ । जसले संकटको बेला काम गर्न सहयोग गर्ने बताउँछन परियोजना संयोजक शर्मा ।
विपन्न र समुदायमा पछि परेका वर्गलाई समेटेर कार्यक्रम संचालन गरिएको बताउँछिन्,स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना संचालन गरिरहेको बी–ग्रुपकी जनस्वास्थ्य प्रर्वधन अधिकृत दुर्गा पन्थी । परियोजनाले निम्न बर्गको मानिसको स्वास्थ्य स्तरलाई सुधार गर्दै समुन्नत समाज निर्माण गर्नमा सहयोग गर्ने बताउँछिन दुर्गा ।
लैंगिक अधिकृत सोम गुरुङ खजुराको सत्याल टोल, न्याउँलीडाँडा जस्ता ठाउँमा देखिएको परिवर्तन महत्वपुर्ण भएको बताउँछन । उनले भने,‘समुनत समाज निर्माणमा महिला र पुरुषको सहकार्य जरुरी छ । घरको काम महिलाले मात्र गर्नु पर्छ भन्ने हाम्रो सोच छ । तर अहिले यस्तो सोचमा परिवर्तन आएको खजुरामा । यो निकै महत्वपुर्ण कुरा हो ।’