सुध्रिएन नेपालगन्जको विद्युत् सेवा : के कृत्रिम कटौति भइरहेको हो ?
Monday, July 5th, 2021, 10:23 pm
Kalpristha
प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रका प्रमुख लखन लला मलिक अहिले नेपालगन्जमा विद्युत आपुर्तिमा समस्या नरहेको बताउँछन् । तर, मलिकको टेबलमै भएको कागजमा एक दिनमा आठपटकसम्म विद्युत कटौति भएको रेकर्ड छ । आम उपभोक्तालाई सबैभन्दा बढी विद्युत् आवश्यक पर्ने साँझको समयमा पनि कटौति भइरहेको हुन्छ ।
वीरेन्द्र जैसी
नेपालगन्ज, २१ असार
नेपालगन्ज उप-महानगरपालिका-१२ की रमिता विकले छोरालाई अनलाइनमा पढाउँदा विद्युत कटौतिको पीडा सबैभन्दा बढी भोग्छिन् । ‘अनलाइनमा भर्खर ध्यान लगाएर पढ्न लागेको हुन्छ । त्यहीबेला झ्याप्पै बत्ती गइदिन्छ । कति बेला आउँछ थाहा हुन्न । न जाने थाहा हुन्छ न आउने ।’
नेपालगन्जमा पछिल्ला केही दिनयता गर्मी पनि बढी महसुस भइरहेको छ । बादल लागेपनि पानी नपर्दा उम्सोपन बढेको छ । यहीबेला विद्युत् कटौतिले नागरिकहरु हैरान भएका छन् । नेपालगन्ज-२ घरबारी टोल निवासी ज्येष्ठ नागरिक हिरादेवी रिमाल भन्छिन्, ‘बत्ती काटेको काट्यै हुन्छ । नेपालगन्जमा कहिल्यै सुध्रिएन बिजुली ।’
रिमालको गुनासोजस्तै नेपालगन्जमा विद्युत समस्याले अहिलेसम्म दिर्घकालीन समाधान पाएको छैन । कुनैबेला विद्युत आपूर्ति कम भएर विद्युत कटौति हुने नेपालगन्जमा अहिले विद्युत पर्याप्त भएर पनि बिना पूर्वसूचना कटौति भइरहेको छ । विद्युत् आपूर्तिको समस्या नरहेको विद्युत प्राधिकरणकै भनाई हो । प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रका प्रमुख लखन लला मलिक अहिले नेपालगन्जमा विद्युत्को आपुर्तिमा समस्या नरहेको बताउँछन् । तर, मलिकको टेबलमै भएको कागजमा एक दिनमा आठपटकसम्म विद्युत् कटौति भएको रेकर्ड छ । आम उपभोक्तालाई सबैभन्दा बढी विद्युत् आवश्यक पर्ने साँझको समयमा पनि कटौति भइरहेको हुन्छ ।
‘विद्युत्को आपूर्तिमा समस्या नभए किन पटक-पटक कटौति भइरहेको छ त?’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी प्रश्न गर्छन् । विद्युत् कटौतिको मारमा सर्वसाधारणजस्तै उद्योगीहरु पनि छन् ।
केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाछेड भन्छन् ‘१० मिनेटपछि बत्ती आउँछ । आएको पाँच मिनेट पनि टिक्दैन । किन यस्तो भइरहेको छ जानकारी पनि पाइएको छैन ।’ विद्युत् अनियमित हुँदा उद्योगीहरुले लोडसेडिङ हुँदाको भन्दा बढी समस्या भोग्नु परिरहेको छाछेडले बताए । ‘उद्योगहरुका लागि क्वालिटी विद्युत् चाहिन्छ । यसरी समय-समयमा आउने जाने हुँदा सबभन्दा बढी उत्पादनको क्वालीटीमा असर पर्छ । त्यसपछि मेसिनमा खाराबी आउँछ,’ छाछेडले थपे । जानकारी बिनै पटक-पटक हुने विद्युत् कटौतिको समस्याले मेसिनहरु संचालन गर्नै नपाउने अवस्था रहेको छाछेडले बताए । ‘मेसिन पुनः सुरु गर्न हामीलाई कम्तिमा पनि आधा घण्टा समय लाग्छ । यहाँ त पाँच मिनेटपनि बत्ती टिक्दैन । यस्तोमा कसरी उत्पादन गर्न सकिन्छ ?’ उनले भने ।
छाडेडको जस्तै भनाइ नेपालगन्ज उद्योग वाणिज्य संघका एसोसियट सदस्य एवं उद्योगी संजय अग्रवालको पनि छ । ‘कोहीपनि उद्योगी र उपभोक्ता अनियमित विद्युत्को मारबाट मुक्त छैनन् । सबैले यसबाट ठूलो घाटा व्यहोरिरहेका छन्,’ अग्रवालले भने । उनले विद्युत् अनियमितको समस्याका विषयमा पटक-पटक गुनासो गरिएपनि समाधान हुन नसकेको बताए ।
‘धन्यवाद दिन नपाउँदै समस्या दोहोरियो’
विद्युत् कटौतिको समस्याले सीमा नाघेको भन्दै असार १६ गते नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी र अन्य व्यवसायीक एवं सामाजिक अगुवाहरु विद्युत वितरण कार्यालय नेपालगन्जका प्रमुख मलिकलाई भेट्न पुगे । उनीहरुले मलिकलाई आफ्नो आक्रोशमिश्रित गुनासो राखे । उपभोक्ताको गुणस्तरीय सेवा पाउने अधिकारबारे अवगत गराए । उनीहरु कडारुपमा प्रस्तुत हुँदै प्रमुख मलिक कृत्रिम विद्युत कटौतिमा संलग्न भएकोसमेत आरोप लगाए । मलिकले कृत्रिम विद्युत् कटौतिको आरोपलाई अस्वीकार गर्दै प्राविधिक कारणले नै विद्युत कटौति भइरहेको बताए । उनले कोहलपुरमा रहेका ट्रान्सफर्मरमा ओभरलोड हुने र विकास निर्माणका कामले विद्युत् लाइनलाई अवरोध गर्दा कटौति गर्नुपरिरहेको बताए । साथै उनले समस्या समाधानमा पहल गर्ने आश्वासन पनि दिए । मलिकले भने, ‘कार्यालयमै आएर गुनासो गर्नुभएपछि हामीले नयाँ तरिकाले मर्मतको कामको व्यवस्थापन गर्यौँ । दुई तीन ठाउँको काम अलग-अलग समयमा गर्नेभन्दा एकैपटक मिलाएर गर्ने गरेका छौँ,’ मलिकले आइतबार कालपृष्ठ समाचाददातासँग भनेका थिए । तर उनले त्यसो भनेकै दिन पटक-पटक विद्युत् कटौति हुन सुरु भइसकेको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले पनि गुनासोपछि एकदिन समस्या कम भएको महसुुस गरेको बताए । तर त्यसपछि पुनः उस्तै अवस्था दोहोरिएको भन्दै वेश्यले थपे, ‘मैले त सुधार भयो भनेर हाकिम साबलाई फोन गरेर धन्यवाद पनि दिएँ । तर, धन्यवाद दिएको केही बेरमै पुनः उस्तै समस्या दोहोरिहाल्यो ।’
उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले कालपृष्ठसँगको कुराकानीमा वितरण प्रमुख मलिकले विद्युत् कटौति हुनुको यथार्थ कारण नबताउने गरेको गुनासो गरे । ‘कि त समाधान हुनै नसक्ने समस्या हो भने बताउनुपर्यो । हैन भने आफ्नो र माथिल्लो तहबाट पहल गरेर उपभोक्ताको गुणस्तरीय सेवा पाउने अधिकार सुनिश्चित गर्नुपर्यो ।’
उद्योग वाणिज्य संघका महासचिव चिरन्जिवी ओली प्राधिकरणले आफ्ना कारण देखाएर उपभोक्तालाई समस्यामा पार्न नपाइने बताउँछन् । ‘उपभोक्ताले पे गरेका हुन्छन् । त्यसको गुणस्तरीय सेवा पाउनुपर्यो,’ ओलीले भने ।
समन्वय र कर्मचारी अभावले समस्याः मलिक
वितरण केन्द्र प्रमुख मलिक हाल नेपालगन्जमा विद्युत् कटौतिको मुख्य कारण निर्माणका काम गर्दा समन्वयको अभाव हुनु रहेको दावी गर्छन् । ‘हामीकहाँ धेरैजसो काम असारमा आएर हतारमा सक्ने चलन छ । काम गर्दा हामीलाई जानकारी पनि गराउँदैनन् । लाइनमा समस्या आइसकेपछि मात्रै भन्छन् । यहाँबाट गएर लाइन मर्मत गर्दासम्म उपभोक्ता आत्तिइहाल्छन्,’ मलिकले भने । मलिकले अहिले समस्या बढेको बताएपनि कटौतिको समस्या विगत ६-७ महिनादेखि नै उस्तै छ । अर्कोतिर निर्माणका काम नहुने रातिको समयमा पनि विद्युत कटौति भइरहेको हुन्छ । अन्तरनिकाय समन्वयको अभावको समस्या पुरानो बाहना भएको सम्बद्धहरुको भनाई छ । त्यो समन्वय गर्ने जिम्मेवारी पनि सम्बन्धित निकायको भएको उनीहरुको भनाई छ । विद्युत् आपूर्तिमा पनि समस्या नहुनु र मलिकले भनेअनुसार निर्माणका काम नचल्ने समयमा पनि विद्युत् कटौति भइरहनुले कृत्रिम कटौति भइरहेको संकेत गर्दैन ? भन्ने प्रश्नलाई मलिक खारेज गर्छन् ।
मलिकले विद्युत कटौतिको अर्को कारण कर्मचारी अभाव रहेको पनि बताए । उनले भने, ‘एकैचोटी दुई तीन ठाउँमा मर्मत गर्नुपर्ने हुन्छ । कर्मचारीको सीमितताले कहिलेकाहीँ समयमै सुचारु गर्न नकिएको पनि हुनसक्छ
उनका अनुसार नेपालगन्ज वितरण केन्द्रमा एक सय ५५ जनाको दरबन्दी छ । तर हाल ७३ जनामात्रै दरबन्दी अनुसारका कर्मचारी उपलब्ध छन् । ‘ज्यालादारी र दरबन्दी गरेर पनि जम्मा एक सय २२ जना कर्मचारी मात्रै उपलब्ध छन्,’ मलिकले आफ्नै गुनासो तेस्र्याए, ‘यस्तो बेला पनि हाम्रा साथीहरुले रातदिन नभनेर काम गरिहेका छन् । तर सबैले कुरो बुझिदिँदैनन् ।’
केन्द्रमा प्राविधिकतर्फ आठ जना अधिकृतको दरबन्दी रहेकोमा तीन जना, सहायकस्तरका ९३ कर्मचारीको दरबन्दी रहेकोमा ४१ जना र प्रशासनतर्फ पाँच जना अधिकृतको दरबन्दी रहेकोमा ३ जना, ४९ जना सहायस्तरको दरबन्दी रहेकोमा २६ जनामात्रै उपलब्ध रहेको मलिकले जानकारी दिए । बाँकी कर्मचारीहरु ज्यालादारी र करारका रहेको उनको भनाइ छ ।
मलिकले यसवर्ष कार्यलयको क्षेत्र पनि थपिएको बताए । राप्तिसोनारी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ एवं नरैनापुर गाउँपालिका पनि केन्द्रको जिम्मामा आएको उनले जानकारी दिए । क्षेत्र बढेपनि कर्मचारी नथपिएको उनको भनाई छ । मलिकले भने, ‘माथि कुरा राख्दा सबैतिर यतिकै कर्मचारीले काम चलाइराखिएको छ भन्ने जवाफ आउँछ । तर, हामीलाई व्यवस्थापन गर्न गाह्रो भइरहेको छ ।’
यसबाहेक कोहलपुरमा रहेका दुवै ट्रान्सफर्मरको क्षमता वृद्धि गरी ६३ एमभिएको बनाउनुपर्ने उनको भनाइ छ । अहिले एउटा ६३ बनाइएपनि अर्को ३० एमभिएको नै रहेको छ । नेपालगन्ज आउने विद्युत लाइन जोडिएको सोही ३० एमभिएको ट्रान्सफर्मरमा धेरै क्षेत्रको लोड हुँदा कहिलेकाहीँ ओभरलोड भएर पनि विद्युत कटौति हुने गरेको मलिकले बताए । उनका अनुहार हाल उक्त ट्रान्सफर्मरमा भएको केही लोड घटाइएको छ । ॅत्यसपछि उक्त कारणले हुने समस्या कम भएको छ । तर दिर्घकालिन रुपमा समाधानका लागि दुवै ट्रान्सफर्मर ६३ एमभिएकै बनाउनुपर्छ,’ उनले भने ।
मंगलबार प्रशासनमा बृहत छलफल
विद्युत् कटौतिको समस्या कम नभएपछि मंगलबार सर्वपक्षीय छलफल तथा दवाबमूलक कार्यक्रम गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा हुने कार्यक्रमममा विभिन्न पेशागत तथा सामाजिक संघ संगठनका प्रतिनिधि र सरोकारवालाको सहभागिता रहने नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रममा विद्युत् कटौतिको दिर्घकालिन समाधानका विषयमा छलफल हुने र उपभोक्ताको गुणस्तरीय विद्युत् सेवा पाउने अधिकार सुनिश्चित गर्न माग गरिने उनले बताए ।