नेपालगन्जमा अनलाइन डेलिभरीको सफलताउन्मुख ब्राण्ड ‘कान्छा दाइ’ (भिडियोसहित)
Saturday, July 10th, 2021, 6:02 pm
Kalpristha
नेपालगन्जमा धेरै रेष्टुरेन्ट तथा होटेलबाट खाना होम डेलिभरी गर्ने एकमात्र एप हो कान्छा दाइ । अहिले नेपालगन्जमा भएका एपमध्ये सबैभन्दा बढी डाउनलोड भएको, सबैभन्दा धेरै रिभ्यु भएको एप पनि यही हो । एकाधबाहेक रिभ्यु सकारात्मक छन् । यो सामग्री तयार पार्दासम्म एपमा ८१ वटा रिभ्यु छन् । ५ मा ४.५ स्टार रेटिङ छ ।
वीरेन्द्र जैसी, नेपालगन्ज, २५ असार–
आधा घण्टामै नेपालगन्जका रोजेका होटेल तथा रेष्टुरेन्टको रोजेको खानाको परिकार घरमै मगाएर खान मन लाग्यो भने…। अब यो ईच्छा ईच्छामै सिमित रहँदैन । तपाईंले आफ्नो स्मार्ट फोनमा एउटा एप डाउनलोड गर्नुपर्छ । जसका नाम हो ‘कान्छा दाइ’ ।
यो एपको अवधारणा वर्तमान संसारमा नयाँ भने होइन । नेपालमै पनि नेपालगन्ज बाहेकका अन्य ठूला शहरमा ‘अनलाइन फुड डेलिभरी एप’ सन्चालनमा छन् । केही एपहरु उद्योगकै रुपमा स्थापित भइसकेका छन् । ‘कान्छा दाइ’ एप अन्य एपको तुलनामा कान्छो नै हो । एपका संस्थापक गिरीधर गौतम नेपालगन्जमा पनि एपकै रुपमा नभएपनि अनलाइनबाट अर्डर लिएर खाना होम डेलिभरी गर्ने काम ‘कान्छा दाइ’ एपभन्दा पहिले नै सुरु भइसकेको सम्झिन्छन् । यहाँका केही रेष्टुरेन्ट एवं होटेलहरुले आफ्नो निजी एप बनाएर फुड होम डेलिभरीको काम गर्दै आएका थिए । त्यही बिचमा २०७७ सालमा कान्छा दाइ एप पनि आएको हो । अहिले नेपालगन्जमा ‘कान्छा दाइ’ले आफूलाई अरुभन्दा बढी परिचित बनाउन सकेको छ । त्यसको कारण हो यस एपमा तपाईंले राजेको खाना, आफ्नो बजेटअनुसार रोजेको होटेल तथा रेष्टुरेन्टबाट मगाउन सक्नुहुन्छ । ‘यसका साथै ग्राहकमैत्री सेवाका साथ र तोकेको समयमा खाना उपलब्ध गराउने प्रतिबद्धतालाई कायम गरेकोले पनि हामीले अरुले भन्दा बढी माया पाउन सकेको होला,’ संस्थापक गिरीधरले भने ।
कसरी सुरु भयो एप ?
एपका संस्थापक गौतम एक सफ्टवेयर इन्जिनियर हुन् । उनले भारतको राजिव गान्धी विश्वविद्यालय मध्यप्रदेशबाट कम्प्युटर साइन्समा ब्याचलर अफ इन्जियिरिङ गरेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ७ तिलकाना घर भएका गौतमले ७ कक्षासम्म गाउँमै अध्ययन गरे । त्यसपछि उनी भारत गएर उतै उच्च शिक्षासम्म पढे । उनका बुवा पिताम्बर गौतम भारतमा जागिर गर्थे । बुवाले जागिरपछि गाउँमा आएर राईस मिलको उद्योग सुरु गरे । गिरीधरले इन्जिनियरिङको अध्ययनपछि केही वर्ष भारतमै एक सफ्टवेयर कम्पनीमा काम गरे । त्यही बिचमा केही पारिवारिक कारण र अब नेपालमै केही गरौँ भन्ने सोचले उनी स्वदेश फर्किए । उनी स्वदेश फर्किएर केही वर्ष नेपालगन्जमै जागिर गरे । विद्यालयमा पढाए । करिब ४ वर्षसम्म उनले बजारको अनुसन्धान पनि गरे । त्यसक्रममा केही साथीहरु पनि उनको योजनामा जोडिए । आफ्नो सीपलाई उपयोग गर्दै नेपालगन्जका विद्यालयका लागि उपयोगी सफ्टवेयरहरु बनाए । थुप्रै वेबसाइट र मोबाइल एप्लिकेशनहरु बनाए । सेवाग्राहीमाझ उनले राम्रो परिचय बनाए । युवाहरु लक्षित एडभेन्चर गेम ‘गो कार्टस्’ पनि नेपालगन्जमा उनले भित्र्याए । तर कोरोनाका कारण उक्त खेलबाट गरिएको अपेक्षा पूरा हुने क्रम स्थगित भएको छ । अहिलेपनि कोहलपुरमा उनको सफ्टवेयर सम्बन्धित कम्पनी चलिरहेको छ ।
त्यहीबिचमा गौतम र उनका साथीहरुको ध्यान फुड डेलिभरीतिर मोडियो । कोरोनाका कारण भएको पहिलो लकडाउनका बेला उनीहरुले सुरु गरेका सबै व्यवसायहरु ठप्प भए । उनीहरुले सम्पूणर् ध्यान होम डेलिभरी एपको निर्माणमा लगाए । ॅकान्छा दाइ डेभलपमेन्ट भइसकेपछि लन्च गरेको होइन हामीले । डेभलपमेन्ट फेजमै लन्च गरेको हो । किनभने अरुपनि कम्पनीले एर्पोच गर्दै थिए । हामीलाई हतार किन थियो भने अरुका कारण अनलाइन डेलिभरी बिजनेसमा नकारात्मक असर पर्यो र हामी ढिलो भयौँ भने बजारले नपत्याइएदिन सक्छ भन्ने डर थियो,’ गौतमले भने ।
न्वारन
‘कान्छा दाइ’ एपको नाम मै नेपालीपन छ । एकपटक सुनिसकेपछि नाम बिर्सिँदैन । ‘नाम सोच्न मात्रै हामीले पन्ध्र बीस दिन लगायौँ । सबैको मुखका एउटा स्माइल आओस् नाम सुन्दा बित्तिकै, याद रहोस्, अर्डर गरेर खाइसकेपछि भोलिबाट नाम सोच्नु नपरोस् भनेर..’ गौतमले भने ।
चुनौति र समाधान
नेपालगन्जमा अनलाइन फुड डेलिभरी व्यापारको नयाँ तरिका थियो । मानिसहरु यस्ता खाले एप प्रयोग गर्न अभ्यस्त थिएनन् । यस चुनौतिलाई सामना गर्न उनीहरुले पत्रपत्रिकामा विज्ञापनदेखि व्यक्ति-व्यक्तिलाई भेटेर भन्नेसम्मको उपाय अपनाए । दोस्रो चुनौति थियो एपको सही प्रयोग । पहिलो चरणमा उनीहरुले एपमा म्यासेन्जर र ह्वाट्स एपको जस्तै टाइप गरेर अर्डर दिने फ्रेमवर्क राखे । ‘त्यसपछि राम्रो रेस्पोन्स पायौँ । नेपालगन्जमा नयाँ काम गर्दा १०-१५ वटा अर्डर आउनु भनेको हाम्रो लागि त एकदमै ठूलो कुरा थियो । पहिलो सफलताको सिँढी थियो,’ गौतम भन्छन्, ‘हामीले स्थानीय नाम लिएर व्यापारको अन्तराष्ट्रिय माध्यमसहित पब्लिककोमा गयौँ र सफल साबित भयौँ,’
यसका साथै मानिसहरुलाई आकर्षित गर्न सुरुमा आफ्नै खल्तिबाट ४० प्रतिशत छुट दिने व्यवस्था गरे । त्यसले मानिसहरु एपप्रति जोडिन आकर्षण गर्यो । धेरैले त्यहीबेला एप डाउनलोड गरे । डाउनलोड मात्रै गरेनन् अर्डर गरे, अप्लिकेशनमा सेवाबारे प्रतिक्रिया पनि दिए । रेटिङ पनि गरे । जुन एपको फैलावटका लागि अनिवार्य थियो ।
हालको अवस्था
नेपालगन्जमा धेरै रेष्टुरेन्ट तथा होटेलबाट खाना होम डेलिभरी गर्ने एकमात्र एप हो कान्छा दाइ । अहिले नेपालगन्जमा भएका एपमध्ये सबैभन्दा बढी डाउनलोड भएको, सबैभन्दा धेरै रिभ्यु पनि एप पनि यही हो । एकाधबाहेक रिभ्यु सकारात्मक छन् । यो सामग्री तयार पार्दासम्म एपमा ८१ वटा रिभ्यु छन् । ५ मा ४.५ स्टार रेटिङ छ । करिब ३ हजार पाँच सय ग्राहकले एपमा लग इन गरेका र करिब १८ सय जनाका मोबाइलमा अहिलेपनि एप रहेको गौतम बताउँछन् । प्लेस्टोरमा एप प्रयोगकर्ता शक्ति सिंह कर्माचार्यले लेखेका छन्, ‘सबै खानाका प्रेमीहरुका लागि एक फुड स्टप, डेलिभरी शीघ्र र मेनुहरु बजेट मैत्री छन् ।’ यस्तै सोनियाँ भगतले लेखेकी छन्, ‘एक राम्रो र फास्ट छ । सर्भिस सन्तोषपूणर् र राम्रो । म सबैलाई यो एप प्रयोग गर्न आग्रह गर्छु । यसले तपाईंको चाहनाको उत्कृष्ठ खाना तपाईंको दैलोमै ल्याइपुर्याउँछ ।’ केही प्रयोगकर्ताले नकारात्मक प्रतिक्रिया पनि दिएका छन् । आकाश गुप्ताले लेखेका छन्, ‘डेलिभरी शीघ्र छ तर एपमा सुधार गर्नुपर्छ ।’ धेरैजसो नकारात्मक कमेन्टमा एपमा समयानुकुल सुधार हुनुपर्ने लेखिएको छ ।
गौतमले अब बिस्तारै प्रयोगकर्ताको माग र आवश्यकताअनुसार एपलाई थप सहज र प्रभावकारी बनाउँदै लैजाने बताए । नेपालगन्जका २५ प्रतिशत जनसंख्याको मोबाईलमा एप होस् भन्ने लक्ष्य आफूहरुको रहेको उनको भनाई छ । अहिले पनि दैनिक औसतमा १० जना एप प्रयोगकर्ता थपिइरहेको उनले दावी गरे । एकजनाले २ सय ५० पटकसम्म अर्डर गरेको रेकर्ड रहेको उनले खुलाए । दोस्रो चरणको लकडाउन अघि दैनिक ६० अर्डरसम्म आएको उनले बताए । लकडाउनमा बन्द भएको सेवा फेरि सुरु भएको छ । हाल दैनिक करिब ३५ अर्डर आइरहेका छन् ।
भविष्यमा कान्छा दाइ एपलाई फुड डेलिभरीमा मात्रै सीमित नराखी होटल बुक गर्ने, बसको टिकट बुक गर्ने, टुर प्याकेज बुक गर्ने योजनामा रहेको गौतमले जानकारी दिए ।
सुरक्षाको सवाल
फुड डेलिभरी एपमा सुरक्षाका मुख्य तीनवटा सवाल रहेको गौतमले बताए । पहिलो खानाको स्वच्छता, प्रयोग कर्ताको व्यक्तिगत डाटा सुरक्षा र तेस्रो आधिकारिकता । खानाको स्वच्छताका लागि होटेल तथा रेष्टुरेन्टहरुसँग सम्झौता गरिएको र स्वच्छताको सुनिश्चितता गरिएको गौतमले बताए । कोरोनाबाट सुरक्षाका लागि कर्मचारीहरुको एन्टिजेन परीक्षण समयसमयमा भइरहेको छ । प्रयोगकर्ताको डाटा सुरक्षाको सवालमा नाम र ठेगानाबाहेक थप जानकारी एपले नमाग्ने उनले बताए । भविष्यमा अन्य डाटा आवश्यक भएको खण्डमा त्यसलाई पूणर् सुरक्षित बनाइने उनले उल्लेख गरे । हाल घरेलु उद्योग कार्यालयमा दर्ता भइ व्यापार गरिरहेएको र अब निकट भविष्यमै कम्पनी रजिष्ट्रारको कार्यालयमै दर्ता गर्ने योजना रहेको उनले जानकारी दिए ।
लकडाउनले सृजना गरेको अवसर
गौतम ॅकान्छा दाइ’को सफलतामा लकडाउनको भूमिका महत्वपूणर् रहेको बताउँछन् । सयौँ मान्छे बाहिर निस्केर जोखिम बढाउनुभन्दा केही मान्छे बाहिर निस्केर खानाका परिकारको आनन्द पनि पाइने र महामारी नियन्त्रणमा पनि सहायक हुने अवधारणा नै एपको आधार भएको उनको भनाई छ । अरु व्यापारलाई लकडाउनले तहसनहस पारेपनि एपको महत्व भने बढाइदिएको भन्दै उनले भने, ‘लकडाउन नभएको भए अलि ढिलो आउँथ्यो होला । तर लकडाउने एपलाई चाँडै ल्याउन हौस्यायो ।’ तर दोस्रो लकडाउनमा अनलाइन डेलिभरी जारी राख्ने अनुमति प्रशासनले नदिएको गौतमले बताए । त्यसपछि सरकारसँग ठूला अपेक्षा गर्न छोडेको उनको भनाइ छ ।
टिम
सुरु गर्दा टिममा गौतमसहित विष्णुप्रसाद शर्मा साथमा थिए । त्यसपछि थप चारजना जोडिए, सागरराज आचार्य, प्रतिक आलेमगर, सुजल यादव र सम्राट बम । उनीहरु सबै अध्ययनका साथ साथै एपमा पनि समय दिइरहेका छन् । साथमा गणेश भुषालले पनि विशेष सहयोग गरेको गौतम बताउँछन् । कस्टमर सपोर्ट्स र रिलेशन, अकाउन्टस्, मार्केटिङ र डेलिभरी गरी चार भागमा कार्यविभाजन गरिएको छ । कस्टमर सपोर्ट्स र रिलेशनमा गौतमलगायत दुईजना, मार्केटिङमा १, डेलिभरीमा ४ र अकाउन्ट्समा एकजना गरेर ८ जनाको टिम छ । टिमको पारिश्रीमक र एप सन्चालनको खर्च रेष्टुरेन्ट्सहरुको कमिसन र प्रतिडेलिभरी २० रुपैयँाँ शुल्कबाटै धान्ने योजना रहेको गौतमले बताए । लकडाउनका कारण अहिले सबै खर्च एपबाटै धान्न नसकेपनि त्यसतर्फ उन्मुख रहेको उनको भनाइ छ ।
गौतम आफूहरुको उदेश्य नै चाँडै मुनाफा कमाउने भन्दा पनि डिजिटल प्रविधिको प्रयोगमा योगदान दिने र भविष्यको संभावनालाई समात्ने रहेको बताउँछन् । आफूहरु सो दिशामै केन्द्रीत रहेको उनको विश्वास छ ।