जाने हैन त सन्तानेश्वर ?(फोटो फिचर)
Saturday, July 17th, 2021, 8:14 am
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, २ साउन
हिन्दु धर्मावलम्वीहरुले पवित्र मान्ने महिना साउन सुरु भएको छ । साउनमा शिवको भक्ती, दर्शन र उपासना गरिन्छ । यहीबेला बाँकेमा एक शिवस्थलको चर्चा चुलिएको छ । चर्चा यति चुलियो कि शनिबार एकैदिन करिब ५ हजार मानिसहरु मन्दिरसम्म पुगेका नरैनापुर गाउँपालिकाले जनाएको छ । मन्दिरमा पुगेकी पत्रकार विमला चौधरीका अनुसार पनि करिब ५ हजार आसपासमा मानिसहरु मन्दिर क्षेत्रमा पुगेका थिए । गाउँपालिका अभ्यक्ष इश्तियाक अहमद शाह आफैं पनि मन्दिर सम्म पुगे । ‘अस्वस्थ थिएँ । तैपनि यति धेरै मानिसहरु आएपछि उहाँहरुलाई स्वागत गर्नका लागि भए पनि म पहाड चढेर पुगेँ,’ शाहले भने । वर्षौँ चर्चा विहीन रहेको बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ वेदिहिवा चुरेपहाडमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरका दृष्यहरु सामाजिक सन्जालमा छाएपछि चर्चा पाएको हो ।
सन्तानेश्वर महादेव मन्दिर नेपालगञ्जबाट ३५ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा अवस्थित छ । सन्तान नभएकाहरुले त्यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास रहेको स्थानीयहरु बताउँछन् । साथै उक्त मन्दिर क्षेत्रको रमणीय प्राकृतिक दृष्यले मानिसहरुलाई लोभ्याइरहेको छ ।
सोही चर्चालाई ध्यानमा राखेर नरैनापुर गाउँपालिकाले शनिबार मन्दिरको दर्शन गर्न जाने चाँजोपाँजो मिलाएको थियो । सोही अभियानको तयारीस्वरुप गाउँपालिकाले शनिबार मन्दिरमा आगन्तुकहरुलाई आमन्त्रण गरेको थियो । गाउँपालिकाले पर्यटकीय प्रचारप्रसारका लागि भिजिट नरैनापुर २०२१ सञ्चालन गर्ने नीति नै तय गरेको छ ।
हेर्नुहोस् तस्बिरहरु :
फोटो : रोशन चौधरी*
फोटो : रोशन चौधरी*
फोटो : रोशन चौधरी*
फोटो : रोशन चौधरी*
फोटो : रमेश मल्ल
के छ सन्तानेश्वरमा ?
स्थानीयवासी युवा निशान्त खत्रीको भनाइ जस्ताको तस्तै :
‘शन्तानेश्वर महादेव मन्दिर नेपालगञ्ज देखि लगभग ३५ किमि टाढा नरैनापुर गाउँपालिका कोहला गाउँको जंगलको माथि पहाडको चुचुरोमा रहेको एक शिव मन्दिर हो । भनिन्छ, यहाँ सन्तान नहुनेले दर्शन गरी सच्चा मनले व्रत बसेर पुजा पाठ गरे सन्तान प्राप्ति हुन्छ ।
यहाँ ड्रोन क्यामेरा उडाएर हेर्दा पहाड नै पहाडले बनेको ॐ र त्रिशुल पनि देखियो । यहाँ तीन वटा पहाडको चुचुरोको मुनिबाट तीन वटा मूल फुटेका छन् । यो मन्दिर धेरै पुरानो हो पहिले पहिले यहा ढुङ्गाका मुर्तिहरु र एउटा लामो झन्डा गाडिएको थियो । मेरो बाल्यकाल यही मन्दिरको वरिपरि खेलेर बित्यो । त्यतिबेला मन्दिर त्यति चर्चामा थिएन । विगत केही महिना देखि मन्दिर दर्शन गर्ने हरुको धेरै भिडभाड रहेको छ । यो देख्दा आज धेरै खुसी लागेको छ ।
आजभोलि लामो समयदेखि मानिसहरुको आवत जावत बढेको छ । त्यही भएर आज हाम्रो ग्रुप केही बिग्रेका बाटोहरु मर्मत गर्न गएका थियौँ । दर्शन गर्न आउने मानिसहरु लाई हिड्न गार्हो होला भनेर हामीले मन्दिरको नजिकसम्म जाने गरी बाटो खनेर बनाएका छौँ । तपाईंहरु जो कोही पनि गाडी लिएर माथि मन्दिरसम्म जान सक्नु हुनेछ । त्यहीँ सबै गाडिहरु एक ठाउँमा अट्ने गरी हामीले एउटा पार्किङ्ग स्थल पनि बनाएका छाँै । त्यहाँ तपाईंहरुको गाडी सेभ पनि रहनेछ । एक दुई दिनमा हामीले त्यहाँ मन्दिरको समानदेखि पानी अनि खानेकुराको व्यवस्था पनि गर्दैछौँ । आउनुस् तपाईहरु पनि एकपल्ट सन्तानेश्वर महादेव मन्दिरको दर्शन गरेर जानुस् । एकदमै रमणीय ठाउँ रहेको छ । यहाँका हरियाली वन जंगल खोला, नाला, झरना अनि बाँके जिल्लाको ठूलो पहाड पनि हेरेर जानुस् । हामी तपाईंको सेवामा सधैं तत्पर छौँ ।’
-नेपालगन्ज ग्यालरीमा पोस्ट भएको खत्रीको स्टाटस्
सडकले दर्शनार्थी पाएको मन्दिर ?
विशेषगरी सामाजिक सन्जालबाट मन्दिरले चर्चा पाएको हो । मन्दिरसम्म पुग्ने केही साइकल यात्रीहरुले त्यहाँका रमणीय दृष्यहरु समाजिक सन्जालमा राखेपछि मानिसहरु मानिसहरुका आँखामा पर्न थालेको हो ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह सडकका कारण प्रकाशमा आएको धार्मिक स्थल भन्न रुचाउँछन् । ‘हिँजो सडक नहुँदा त्यहाँसम्म बाहिरका मानिसहरु पुग्नै सक्थेनन् । यहाँका स्थानीयहरुमा त्यसको संभावनाबारे अनुमान थिएन । अहिले सडक बन्यो, मानिसहरु पुगे । समाजिक सन्जालमा फाटो राखे । बल्ल मान्छेले यहाँपनि यस्तो ठाउँ छ भन्ने थाहा पाए’ अध्यक्ष शाहले भने । विशेषगरी हुलाकी बघौडा नेपालगन्ज हुलाकी सडक बनेपछि मन्दिरले दर्शनार्थीहरु पाएको हो । मन्दिर सम्म पुग्न ३० किलोमिटर पक्की सडक छ भने बाँकी पहाडको बाटोमा केही किलोमिटर मोटसाइहल र साइकल अनि पैदल यात्रा गर्नुपर्छ ।
यस्तो छ नक्सा:
मन्दिरको पर्यटकीय र धार्मिक विकासका लागि कसर बाँकी नराखिनेपनि शाहले बताएका छन् । ‘सन्तानेश्वर मन्दिर मात्रै होइन नरैनापुरलाई चिनाउने अन्य ठाउँहरु प्नि बिस्तारै मान्छेको नजरमा पर्दैछन् । अब झन् पर्ने छन् । ती सबै ठाउँहरुको समुचित विकास गरी पर्यटकीय संभावनालई प्रवद्र्धन गछौँ’ शाहले भने ।
धार्मिक अहिष्णुताबाट धार्मिक पर्यटनसम्म नरैनापुर
कुनैबेला नरैनापुर क्षेत्र हिन्दु र मुस्लिम समुदायबिचको धार्मिक झैझडाले परेसान थियो । स्थानीय रामजित साहु भन्छन्, ‘एक टोलबाट अर्को टोलमा जानै डराउनुपथ्र्यो । एकअर्कासँग कुरागर्न डराउनुपथ्र्यो ।’
तर, अहिले त्यहाँ धार्मिक सद्भावको नमुना देख्न सकिन्छ । गाउँपालिका अध्यक्ष शाह भन्छन्, ‘अहिले मन्दिर दर्शनका लागि भनेर बाहिरबाट एक्लै समेत आउँछन् । छोरीबहिनीहरु पनि आउँछन् । यो देखेर मलाई गर्व लाग्छ ।’
अब नरैनापुर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुने स्थानीयको विश्वास छ । तर त्यसका लागि पूर्वाधार विकासमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनीहरु बताउँछन् । अध्यक्ष शाहले अब मुख्य पर्यटकीय स्थलको प्रचार प्रसारका लागि योजना बनाएर माथिल्ला सरकारहरुबाट बजेट माग गर्ने बताए । ‘हामीसँग पर्याप्त बजेट हुँदैन । त्यसका लागि हामी माथिल्ला सरकारहरुलाई घचघच्याउछौँ । गाउँपालिकाले पनि सकेको बजेट खर्च गर्छ ।’
नरैनापुरका अन्य पर्यटकीय स्थलहरु
नरैनापुरमा सन्तानेश्वर मन्दिर जस्तै अन्य पर्यटकीय स्थलहरु पनि छन् । गाउँपालिकाको स्थलगत सर्वेक्षण प्रतिवेदनअनुसार निम्न स्थलहरु धार्मिक पर्यटकीय क्षेत्रहरु हुन् ।
*सच्याइएको