अभद्र व्यवहारका मुद्दा बढ्नुलाई सकारात्मक मानेका छौँ : एसपि अधिकारी
Tuesday, July 20th, 2021, 7:23 pm
Kalpristha
बाँके जिल्ला मुख्य सीमानाका भएको जिल्ला हो भने यस जिल्लाको करिब ६९ किलोमिटर खुला सीमा भारतसँग जोडिएको छ । जिल्लाका लागि सबैभन्दा ठूलो सुरक्षा चुनौति यही खुला सीमा हो भने विभिन्न धार्मिक समुदायको बसोबास रहेको बाँके जिल्लामा चाडपर्व उत्सवका अवसरमा हुनसक्ने दुर्घटनाहरु पनि चुनौतिका रुपमा रहेका छन् । यसका साथै बाढीपहिरो र विपद्को चुनौति पनि जिल्लामा छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा करिब ३ साताअघिदेखि प्रहरी नेतृत्व फेरिएको छ । प्रहरी उपरीक्षक ओमबहादुर रानाको सरुवापछि प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी प्रहरी प्रमुखको जिम्मेवारीमा आएका छन् । यसै सेरोफेरोमा प्रहरी उपरीक्षक अधिकारीसँग गरिएको कालपृष्ठ संवाद् :
बाँकेको हालको सुरक्षा अवस्था कस्तो छ ?
बाँकेमा अहिलेको अवस्थामा शान्ती सुरक्षाको व्यवस्था सामान्य नै छ । तर बोर्डर इलाका, विभिन्न चाडपर्वहरु आउँछन्, कोभडिको चुनौति छँदै छ । बाढीपहिरो र विपद्को चुनौति छ । बाढी पहिरोजस्ता विपत्तिहरु पनि यस समयमा पर्ने संभावना रहन्छ । हामीले पूर्वयोजनाअनुसार नै बाढी पहिरो विपत्तिको सामनाको पूणर् तयारी गरेका छौँ । सानो समस्याले पनि बोर्डर क्षेत्रमा चुनौति त रहन्छ नै । बोर्डरमा हुने अपराधको अन्दाज गर्न सकिँदैन । हरेक तरिकाले तयार भएर बस्नुपर्ने अवस्था रहन्छ । जमुनाह पीश्चम नेपालकै ठूलो बोर्डर भएको हुँदा यहाँ भारत जाने मानिसहरुको लावालस्कर छ । आजमात्रै हामीले स्वास्थ्य चुनौतिलाई ध्यानमा राख्दै हेल्थ डेस्क स्थायी बनाएका छौँ । हामी आफ्नो तवरबाट हरेक हिसाबले सबै सरोकारवालाहरुसँग समन्वय गरेर आउनसक्ने चुनौतिको यकिन विश्लेषण गरेर तयारी अवस्थामा छौँ ।
कोभिडका कारण आएको आर्थिक संकुचनले अपराध बढ्न सक्ने आँकलन गरिएको थियो । तर बाँके प्रहरीको विगत वर्षको तथ्यांकले त्यो देखाएन । के त्यो चुनौति अबका दिनमा छ?
दुई वर्षदेखि हामीले कोभिड भोगिरहेका छौँ । त्यसले आर्थिक संकुचन त ल्याएको छ । तर नेपालीहरु भोकमरीमै परेको र पर्न सक्ने संभावना छैन । नेपालीको सहयोगी संस्कारले पनि त्यसो हुन दिँदैन । त्यसकारण यति ठूलो सहरमा सामान्य चोरी हुने घटनाहरु अस्वभाविक हैनन् । बोर्डहरुमा हुने अपराधहरुको अवस्था हेर्दा पनि अन्य सहरको तुलनमा शान्त र सुरक्षित सहर मैले देख्छु । हामंो मोबिलिटी पनि बढ्दो छ । सुरक्षाका विभिन्न निकायहरु र ती निकायका विभिन्न सन्जालहरुले समन्वयानत्मक रुपमा आफ्नो सक्रियता बढाउँदै लगेका छन् । त्यसकारण अपराध बढ्न सक्ने अवस्था छैन । तर चोरी लगायतका घटनाहरु बढ्न सक्ने अवस्था देखिन्छ । त्यसलाई ध्यानमा राखेर हामी सक्रियता बढाउँछौँ । हाम्रा संरचनाहरुलाई अझ सक्रिय बनाएर लैजान्छौँ ।
बाँकेमा खुला सीमाकै कारण लागुऔषध दुव्र्यसनी नियन्त्रण पनि चुनौतिपूणर् छ । त्यो चुनौतिसँग जुध्न के छ योजना ?
हामीले व्यक्तिहरुलाई पनि रुपैडिहा जाँदा शंकाष्पद लागेमा रोकिदिनुस् भनेर उताका सुरक्षा अधिकारीहरुसँग अनुरोध गरेका छौँ । सिडियो साबले पनि भन्नु भएको छ । मैले पनि भनेको छु । लागुऔषध बेच्ने कुरा रोक्नुस् भनेको छौँ हामीले । हामीले भारतीय बजार रुपैडिहामा लागुऔषध बेच्ने पसलहरु पनि पत्ता लगाएका छौँ । तिमिहरुले ज्यादति गरेका छौ, रोकेनौ भने तिमिहरुलाई पनि कारबाही गर्नुपर्ला, भारतमा छु भनेर सुरक्षित छौँ नठान भनेर सम्झाउने, थे्रट गर्ने, काउन्टर पार्टका अधिकारीहरुसँग कुरा गर्ने, हरेक हिसाबले हामीले कुरा गरेका छौँ । तर बोर्डरका बेफाइदा भनेकै के हो भने बोर्डरमा सबै राम्रा मान्छेको बसोबास हुँदैन । बोर्डरको फाइदा उठाउने कुरा, अवैद्य काम गरेर धनि हुने लालसाले उत्पन्न प्रवृत्तिहरु छ । ती प्रवृत्तिहरुविरुद्ध जति सक्रियता बढाएपनि लुकिछिपी गतिविधि गरिहाल्छन् । हामीले लागुऔषध सेवनकर्ता र तस्करहरुलाई पक्राउ गर्ने कामलाई तिव्रता दिएका छौँ । अहिले हाम्रो थुनुवा कक्षमा हेर्नुहुन्छ भने ८० प्रतिशत भन्दा बढी त लागु औषधकै कसुरमा पक्राउ गरिएकाहरु छन् । त्यसले पनि लागुऔषधविरुद्ध प्रहरी संवेदनशील छ भन्ने देखाउँछ । हरेक लेभलमा आफ्नो आफ्नो तर्फबाट कुराकानी भएको छ । अहिले कतिपय बिक्रेताहरु लुकाएर बेचिरहेका छन् । यतापट्टिबाट गाँजा, चरेसलाई पनि भारतमा जान रोक्ने काममा हामीले उत्तिकै प्राथमिकता दिएका छौँ । अब बोर्डरको पाँच सय मिटरभित्र रक्सी बेच्न हुँदैन भनेर अभियान सन्चालन गर्छौँ । अटेरी गर्नेलाई कानुनी कारबाही पनि गर्छौँ । हामीले भारतीय पक्षलाई यसरी सहयोग गछौँ भनेका छौँ । उनीरुबाट पनि अपेक्षित सहयोगका बारेका संवाद गरेका छौँ ।
विगत तीन वर्षको बाँके प्रहरीमा दर्ता भएका अपराधका उजुरीको तथ्यांक हेर्दा अरु अपराधमा मुद्धा घटेपनि अभद्र व्यवहारमा मुद्धाहरु तीन गुणा बढेका छन् । यस्तो किन भएको ?
कुरा के हुन्छ भने अलिकति मान्छेहरु अराजक भए भने, गुण्डागर्दीलाई तह लाउनलाई शान्ति व्यवस्थालाई तत्कालका लागि ठिक ठाउँमा ल्याउनका लागि हामीले अभद्र व्यवहारका मुद्धामा पक्राउ गर्छौँ । अभद्र व्यवहार भनेको सबभन्दा सानो मुद्धा हो । त्यसले मान्छेको भविष्य पनि बिगार्दैन । भोली उसको बानी सुधारमा आयो भने ऊ समाजमा सजिलै फर्किन सक्छ । त्यसकारणले यो प्रशासन चलाउन पनि सजिलो हुने र मान्छेलाई पनि धेरै बिगार नहुने खालको मुद्धा हो । यो धेरै गर्यो भने प्रशासनको हाबी भएको भन्ने तथ्यले देखाउँछ । यद्धपि पुरानो तथ्यले हेर्दापनि नेपालगन्ज अलिकति शान्त हुनुको कारण पनि यही मुद्धा हो । समान्यरुपमा हेर्दा पुलिसले बेकारमा बिनासर्त मान्छेलाई दुःख दियो भन्ने पनि लाग्ला । तर यदि पुलिसले बिगार्नै चाहेको भए, मान्छेको पछाडी नै लाग्न खोजेको भए अरु पनि मुद्धा लगाउन सक्छ । अरु मुद्धा लगायो भने मान्छे समाजमा फर्किन नसक्ने अवस्था पनि हुन सक्छ ।
अभद्र व्यवहारको मुद्धालाई यसरी डाइभर्ट गरेर लगाउने हो भने त्यसले दुष्परीणाम पनि त ल्याउन सक्ला नि?
एकदमै ठिक भन्नु भयो । मुद्धाको रेसियो बढ्नु वा मान्छेलाई मुद्धा लाग्नु भनेको मानवअधिकारको हनन् हुनु पनि हो । राज्यले राज्य सन्चालन गर्ने कुरामा शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा केही मान्छेहरुलाई उसको गल्ति महसुस गराउन भएपनि पक्राउ गर्नुपर्ने हुनसक्छ । कतिपय अवस्थामा गल्ति पुष्टि गर्ने अरु प्रमाण पनि नपुग्न सक्छ । त्यसकारण यसले अरु ठूला मुद्धाबाट पनि बचाउने र सुध्रिन पनि मौका दिने भएकोले यसमा मुद्धा बढ्नुलाई हामीले सकारात्मकरुपमा लिएका छौँ ।
प्रहरी कार्यालयहरु प्रविधिमैत्री पनि बन्दै छन् । बाँकेमा के छ अवस्था ?
एकदमै । नेपाल प्रहरीले प्रविधिमा जोडिने विभिन्न योजनाहरु ल्याएको छ । अहिले पहिलेजस्तो अपराध कबुल गराउनुपर्ने अवस्थामा यातना नै दिनुपर्ने बाध्यता छैन । झुट बोलेको पत्ता लगाउने पोलियोग्राफी प्रविधि प्रयोगमा आइसकेको छ । कसैले मोबाइल चलाएर अवान्छित गतिविधि गर्छ भने उसले गरिनँ भने ढाँट्छ वा डाटा मास्छ भनेपनि त्यसको पत्ता लगाउने प्रविधि हामीसँग छ । सहरमा सिसि क्यामेरा राखेर निगरानी गर्ने व्यवस्था मिलाइएको छ । सायद यीनै कारणले नेपाल प्रहरी अनुसन्धानमा दक्षिण एसियामै पहिलो भएको छ । त्यसकारण हामी अब पुरानै तरिकाले भन्दा प्रविपधिको प्रयोगतर्फ द्रुतरुपले अघि बढिरहेका छौँ ।
प्रविधिको दुरुपयोगका घटना पनि बढिरहेका छन् भनिन्छ । तर बाँकेमा एकदमै कम मात्रै मुद्धा परेका छन् ।
एक त यो सुरु भएको पनि धेरै भएको छैन । यो अभ्यासकै क्रममा छ । जसलाई मर्का परेको छ उहाँहरुले उजुरी गरिहाल्नु हुन्छ । कहिलेकाहीँ साइबर क्राइमको मुद्धा दर्ता गर्नलाई सबै कुराको प्रमाण नपुग्ने, समयमा थाहा नहुने लगायका अवस्थामा अभद्र व्यवहारमा पनि मुद्धा चलाउनुपर्ने हुनसक्छ । यस्तै यस्तै कारणले पनि अभद्र व्यवहारका मुद्धा बढेका हुन् ।
प्रहरीले सन्चालन गर्ने कार्यक्रमहरु केही समय चहलपहल पाउँछन् । तर बिस्तारै सेलाउँछन् नि ?
हैन हैन । बेला पनि हेर्नुपर्यो । अहिले कोभिड महामारीको समय छ । त्यसकारण कतिपय कार्यक्रमहरु देखिनेगरी गर्न नपाइएको हुनसक्छ । तर बिस्तारै सबै ठिक भएपछि हाम्रा कार्यक्रमहरु सक्रियरुपमा अघि बढाउछौँ । हाम्रा कार्यक्रमहरु एकदम जीवन्त छन् । एकदम सुरक्षित छन् । हाम्रो क्यालेण्डर नै बनिसकेको छ । कोभिडका कारण गर्न नपाएको मात्रै हो ।
प्रहरीको भूमिका भन्सार नियमको पालना गराउने कुरासँग पनि जोडिन्छ । तर, भन्सार छलिएको सामान नेपालगन्जमा आएर कसरी पक्राउ पर्छन् ?
एउटा कुरा के हो भने मान्छे सबैमा पूणर् हुँदैन । एक त बाँकेमा करिब ६९ किलोमिटर खुला सीमा छ । तस्करीको सामान मुल नाकाबाट आउँछ भन्ने ग्यारेन्टी नै छैन । कोही कोही बेकुफ पनि होलान् । ठाउँ-ठाउँमा गल्ति गरेका छन् भने जागिरै खाइदिन्छु मैले त । तीन चार जनालाई कारबाही पनि गरेको छु मैले । हामी कुनैपनि ठाउँमा चेक गर्न छोड्दैनौ र पुलिसले पनि गल्ति गरेको फेला पारियो भने ठाउँको ठाउँ कारबाही गर्छौँ । यो तस्करी पुरै रोक्ने काम पनि हाम्रो होइन । हाम्रो मुख्य काम त्यो होइन । भन्सार तस्करीसँग म मिल्दिनँ, मिल्न पनि दिन्न । तर, तस्करीको सामान जहाँ भेट्छु छोड्न पनि छोड्दिन । त्यसमा प्रहरीको गल्ति छ भनेपनि कारबाही गर्छु । मैले आइसकेपछि मान्छेसहित ३० लाखभन्दा बढीको सामान समातिएको छ । प्रहरीतर्फ पनि चारजनालाई शंकाका भरमै पनि स्पष्टिकरण सोधेर नसहितसम्म दिने काम गरेका छौँ । प्रमाणसहित भेटियो भने जागिर खाइदिन्छु । त्यसमा दुईमत छैन ।
तपाईँका आगामी मुख्य योजना ?
हाम्रो योजनाहरु समयअनुसार नै निर्धारित हुन्छन् । मुख्यरुपले नेपाल प्रहरीको कार्ययोजना २०७७ तयार गरिएको छ । त्यसैलाई निर्देशन मानेर अघि बढ्छौँ । त्यसबाहेक पहिले नै तयार भएका कार्यक्रमहरु पनि छन् । ती सबै कार्यक्रमहरुलाई प्रभावकारीरुपले कार्यान्वयन गछौँ ।
अन्तमा बाँकेवासीलाई केही भन्नु छ?
विशेषगरेर मुस्लिम समुदायको बकर इदको शुभकामना । सबैले यो कोभिडको जोखिमलाई ध्यानमा राखेर, भौतिक दुरी कायम गरेर र सुरक्षाका उपाय अपनाए पर्व मनाइदिनुहोला । घरघरमा बसेर मनाइदिनुहोला । मस्जिदमा आउनैपर्ने मान्छेमात्रै आउनुहोला । रोडमा बसेर नमाज नपढीदिनुहोला । केही अप्ठ्यारो पर्यो भने हामी प्रहरीलाई पनि सम्पर्क गरिदिनुहोला । हामी यहाँहरुसँग सहकार्य तयार छौँ ।
-प्रस्तुति : वीरेन्द्र जैसी
यो पनि पढ्नुहोस् :
बाँकेमा अभद्र व्यवहारका मुद्धा तीन गुणा बढे |