किशोरीले सिके प्याड बनाउन
Thursday, July 29th, 2021, 9:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ साउन
बर्दियाको राजापुर, बाँसगढी, गुलरिया र बढैयाताल गाउँपालिकामा किशोरीले महिनावारीको समयमा प्रयोग गरिने घरेलु कटन प्याड बनाउने सीप सिकेका छन् । घरेलु प्याड बनाउने तालिममा ८० जना किशोरीहरु सहभागी थिए ।
प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप)ले किशोरीहरुको महिनावारी स्वच्छतालाई टेवा पुर्याउनका लागि दुईदिने घरेलु कपडा कटन प्याड बनाउने तालिम प्रदान गरेको हो । बजारमा पाइने स्यानीटरी प्याडभन्दा घरमै निर्माण गरिएको स्यानीटरी प्याड बढी प्रभावकारी हुने र खर्च कम लाग्ने गरेको छ ।
किशोरीहरुको महिनावारी स्वच्छता व्यवस्थापनका लागि सीप उपलब्ध गराइएको फिल्ड अधिकृत चन्द्रमाया खनालले बताइन् । घरमै निर्माण गरिएको प्याडलाई सही तरीकाले प्रयोग गरेमा १० वटा प्याडले पाँच वर्षसम्म काम गर्ने प्रशिक्षक अनिता विष्टले बताइन् ।
गुलरिया-११ कि रिमा थारुले आफूले पहिलोपटक घरमै कपडाको प्याड बनाउन सकिनेबारे सिप सिकेको र अब बजारमा पाइने प्याडभन्दा घरमै निर्माण गरेर प्रयोग गर्ने बताइन् ।
प्लान ईन्टरनेशनल नेपाल र बी-ग्रुप बाँकेको साझेदारीमा बर्दिया जिल्लाको राजापुर, बढैयाताल, बाँसगढी र गुलरियामा बालविवाह, छिटो विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना संचालन भइरहेको छ ।