काठमाडौं, माघ ४ – सोनाम ल्होसार माघ ४ गते कि फागुन ४ गते भन्नेमा तामाङ समुदाय विभाजित भएको छ ।
सरकारले बिहीबार सोनाम ल्होसारको बिदासमेत दिइसकेको छ । तर कतिपय तामाङ समुदायले माघ ४ गते ल्होसार नभएको भन्दै फागुन ४ गते सोनाम ल्होसार मनाउने भएका छन् ।
मञ्जुश्री कृषि चन्द्र पात्रोका अनुसार माघ ४ गते सोनाम ल्होसार नभएको नेपाल तामाङ घेदुङ कार्यसमिति प्रदेश एकका अध्यक्ष मित्रसेन योञ्जनले दाबी गर्नुभयो ।
पञ्चाङ्ग निर्णायक समितिले हिन्दु सूर्य पात्रो अनुसार निर्णय लिएर एक महिना अगाडि सोनाम ल्होसार भनि उल्लेख गरेको र यसले गर्दा चाडमा नै असर परेको योञ्जनको दावी छ । ‘एक महिना अघिदेखि नै सोनाम ल्होसारको बिदा सार्न जानकारी गराएका थियौँ । तर यसबारे सरकारले चासो देखाएन’ उहाँले भन्नुभयो ।
मञ्जुश्री कृषि चन्द्र पात्रोका अनुसार ल्होसारको मिति तोकिनुपर्नेमा हिन्दु सूर्य पात्रोलाई आधार मानेर गलत मिति उल्लेख गरी चाडपर्वको मिति नै सारिएको गुनासो योञ्जनले गर्नुभयो ।
मञ्जुश्री चन्द्र कृषि चन्द्र पात्रो अनुसार यो यो नयाँ वर्ष चरा वर्ष पूरा गरी कुकुर वर्षमा प्रवेश हुँदैछ । एक वर्षमा एक ल्हो मान्दै १२ वर्षमा १२ वटा जनावरमा नयाँ वर्ष प्रवेश गर्ने गर्दछ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी सोनाम ल्होसारलाई विभाजन गर्ने परम्परा रहेको छ ।
सोनाम ल्होसारको विदा आज दिए पनि ल्होसार भने योपटक मलमासले गर्दा एक महिनापछि ग्याल्बो ल्होसारसँगै परेकाले त्यसदिन मात्रै मान्ने योञ्जनले बताउनुभयो ।
तर कतिपय हिमाली जिल्लाका ठाउँहरुमा बिहीबार पनि ल्होसार मनाइरहेका छन् । ‘सोनाम ल्होसारका अवसरमा सरकारले बिहीबार विदा दिइसकेको छ । एक महिना पछि ग्याल्बो ल्होसारकै दिन सोनाम ल्होसार परेको छ । यसका लागि हामीले सरकारसँग बिदा चाहियो भनेका छैनौँ । तर यस किसिमको समस्या नदोहोरियोस् भन्ने हाम्रो चाहाना हो’ योञ्जनले भन्नुभयो ।
तर वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले नेपाली पंञ्चांग अनुसार सोनाम ल्होसार आज नै भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा बसेपछि नेपाली पात्रोअनुसार नै चाडपर्व मनाउनुपर्छ ।’
नेपालमा तिब्बती पात्रो र नेपाली पात्रो हेरेर चाड मनाउने गर्दा यो विवाद निम्तिएको हो । गुरुङले भन्नुभयो, ‘ल्होसार मनाउने समुदायले यसअघि पात्रो निर्माण गर्दा नै यसबारे जनकारी दिनुपथ्र्यो ।