ढकेरी बस दुर्घटनाः स्कुलले मृतकका आफन्तलाई साढे २१ लाख क्षतिपूर्ति दिने
Sunday, August 11th, 2024, 5:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ साउन
बाँकेको ढकेरीमा स्कुल बसको ठक्करबाट एक जना युवकसहित २१ वटा खसी बाख्राको मृत्युको घटनामा क्षतिपूर्ति बापत साढे २१ लाख रुपैयाँ दिने सहमति भएको छ । स्कुल बसको ठक्करबाट बाख्रा चराउन गएका राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको र २१ खसी÷बाख्राको मृत्यु भएको थियो ।
पूर्ववडा सदस्यसमेत रहेका स्थानीय ६७ वर्षीय पूर्णबहादुर वलीले मृतकका लागि १५ लाख र २१ खसी बाख्राको लागि जनही २५ हजारका दरले साढे २१ लाख क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको बताए । स्कुल सञ्चालक समितिले २५ दिनभित्र १५ लाख र बाँकी रकम बीमाको रकमसँगै उपलब्ध गराउने सहमति भएको वलीले जानकारी दिए ।
त्यस्तै, मृतकका नौ महिनाका छोरालाई जहाँ पढाए पनि कक्षा १२ सम्मको खर्च सोही विद्यालयले बेहोर्ने सहमति पनि कायम भएको छ । बिहीबार बेलुका ५ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुरबाट पूर्वतर्फ विद्यार्थी छोड्न आइरहेको ना ४ ख ४५७० नम्बरको बसले ढकेरी पुल नजिकै ठक्कर दिँदा बाख्रा चराउन गएका २६ वर्षीय गोविन्द वलीसहित २१ खसी बाख्राको मृत्यु भएको थियो ।
ठक्कर दिने बस कोहलपुर नगरपालिका – १२ स्थित ज्ञान कुञ्ज बोर्डिङ स्कुलको हो । बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले कोहलपुर नगरपालिका–१३ का २५ वर्षीय बसका चालक प्रकाश सुनार प्रहरी नियन्त्रणमा छन् । दुर्घटनालगत्तै फरार सुनारलाई प्रहरीले दुई दिनपछि नियन्त्रणमा लिएको थियो ।
प्रहरी हिरासतमा रहेका चालकले बसको ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीसमक्ष बयान गरेका छन् ।