अन्तिममा रोकियो नेपालगन्ज मेडिकलको बिक्री डिल
Saturday, August 7th, 2021, 8:10 pm
Kalpristha
(यो खबर बिजमाण्डु डट कममा प्रकाशित भएको हो । सर्वत्र चासोको विषय भएकोले यहाँ साभार गरिएको हो । यसलाई बिजमाण्डुमै पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।)
मधुकर दाहाल
बाँकेको नेपालगन्ज मेडिकल कलेजको बहुमत सेयर स्वामित्व खरिद बिक्रीको डिल अन्तिम समयमा पुगेर भंग भएको छ ।
विराटनगरको नोबेल हस्पिटल र सिनामंगलको काठमाडौं मेडिकल कलेज (केएमसी) का समेत संचालक रहेका डा. सुनिल शर्माले यस मेडिकल कलेजको कम्तिमा ४६ प्रतिशत (१६ लाख कित्ता) सेयर प्रतिकित्ता पाँच सय रुपैयाँका दरले खरिद गर्ने गरी असार अन्तिममा नेगोशिएशन टुङ्ग्याएर दुई करोड बैनासमेत दिइसकेका थिए ।
सोहीअनुरुप किनबेच गर्ने पूर्वसहमतिबमोजिम रकम भुक्तानी र स्वामित्व हस्तान्तरणका लागि डकुमेन्टेसनसमेत सकिएपछि मेडिकल कलेजमा लगानी गरेको एउटा समूहले ‘डिल भाँडेको’ भनाइ स्रोतको छ ।
किनबेच गर्ने दुवै पक्षले बुधबार मध्यरात १२ बजेसम्म यसमा सहमतिको प्रयास गरेको थियो । त्यसका बाबजुद कलेजका अध्यक्ष दिनेश श्रेष्ठसहितको समूह सेयर बिक्रीको विपक्षमा पुगेपछि किनबेच सम्झौता टुटेको हो । श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन् ।
‘अध्यक्षज्यूले सेयर तत्काल किनबेच नगर्ने भनेर राती सुनिल शर्मालाई खबर गर्नुभएको हो’ श्रेष्ठनिकट स्रोतले भन्यो । यसअघि श्रेष्ठ आफैंले शर्माबाट बैना रकम बुझेका थिए ।
सेयर किनबेच सम्झौता तोडिएसँगै बैना रकम फिर्ता गर्न बिहीबार नै डा. सुरेशकुमार कनोडिया शर्माकहाँ पुगेको बुझिएको छ । मेडिकल कलेजका प्रबन्ध निर्देशक समेत रहेका कनोडिया र उनको पारिवारिक सदस्यहरुको नाममा अहिले नेपालगन्ज मेडिकलमा प्रमुख लगानी छ । शर्माले यही समूहको ३७.५ प्रतिशत र अन्य समूहको समेत गरी सेयर खरिद गर्न खोजेका थिए ।
‘४६ प्रतिशत सेयर किन्ने प्रक्रिया अघि बढाइएको भएपनि अन्य संचालकले पनि आफ्नो सेयर बिक्री गर्न इच्छा देखाउँदा ५१ प्रतिशत नै पुग्ने पक्का भइसकेको थियो’ शर्मा भन्छन्, ‘कनोडिया सरले पाँच प्रतिशत जति राखेर बाँकी सबै बिक्री गर्न खोज्नुभएको थियो । त्यहीअनुसार उहाँहरुको साढे ३७ प्रतिशत र अर्को चार प्रतिशतको स्वामित्व हस्तान्तरणको त (ल्याप्चे) थिचेर कागजै तयार भइसकेको थियो ।’
सुनिल शर्मा अहिले पनि नेपालगन्ज मेडिकल कलेजका एक लगानीकर्ता हुन् । उनीसँग यसको ३.५ प्रतिशत सेयर रहेको छ । तत्काल डिल भंग नभएको हुन्थ्यो भने अहिलेको स्वामित्वलाई बढाएर ५१ प्रतिशतसम्म पुर्याउने योजनामा उनी थिए ।
पछिल्लो समय मेडिकल कजेलमा आक्रामक रूपमा लगानी विस्तार गरिरहेका शर्माले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज खरिदको दौडबाट बाहिरिएपछि केही दिनभित्रै नेपालगन्ज मेडिकल कलेज किन्न लगभग ‘डिल क्लोज’ गरेका थिए ।
तर अन्तिम समयमा पुगेपछि मेडिकल कलेजका अध्यक्ष श्रेष्ठ र अर्का सेयरधनी खुमा अर्यालले कलेजमा शर्मालाई बहुमत सेयरधनी बन्नेगरी भित्र्याउन अनिच्छा देखाउँदै डिल भंग गरेको बुझिएको छ । यो मेडिकल कलेजमा खुमाको तर्फबाट संचालक समितिमा भाइ भेषराज अर्यालले प्रतिनिधित्व गर्छन् ।
यद्यपि, राम्रो रेट पाए श्रेष्ठ पनि आफ्नो समूहको सेयर बिक्री गर्ने पक्षमा रहेको शर्माले बताए । श्रेष्ठले भने रेटमा मात्र कुरो नमिलेको नभएर मेडिकल कलेज चलाउन सक्ने सक्षम टिम भित्रियोस् भन्ने आफ्नो समूहले चाहेको बताए ।
उनी भन्छन्, ‘यो संस्थासँग बिसौं वर्षदेखि हाम्रो भावनात्मक सम्बन्ध पनि छ । यसका बाबजुद यसको पूर्वाधारअनुसार राम्रो मूल्य दिने र मेडिकल कलेज चलाउन सक्ने टिम आउँछ भने सेयर बिक्री गर्न समस्याको कुरा होइन । लिमिटेड कम्पनी भएकाले अहिले पनि नेप्सेमा यसको सेयर ओभर द काउन्टरमार्फत किनबेच हुन सक्छ, यसअघि पनि भएकै हो, मात्र अहिलेजस्तो हल्ला नभएको न हो ।’
श्रेष्ठको यस मेडिकल कलेजमा प्रत्यक्ष स्वामित्व ४.८९ प्रतिशत छ । उनको समूहका मुकुन्द भक्त श्रेष्ठको ४.२० प्रतिशत र शोभा होल्डिङ्सको नाममा ५.३१ प्रतिशत सेयर छ । शोभा होल्डिङ्स पनि दिनेश श्रेष्ठकै लगानीको कम्पनी हो ।
यसबाहेक अन्य साना लगानीकर्तासमेत गरी श्रेष्ठ समूहको यसमा २५ प्रतिशत हाराहारी लगानी छ । अर्यालको समेत जोड्दा अहिले शर्मालाई थप सेयर बिक्रीको विपक्षमा रहेको समूहसँग करिब ३५ प्रतिशत लगानी छ । अर्यालको यसमा १० प्रतिशत सेयर छ । डा. केएन अग्रवाल, अनिज बहादुर श्रेष्ठ, भेषराज अर्याल लगायतको पनि यसमा लगानी छ ।
अध्यक्ष श्रेष्ठका अनुसार, खुमा अर्याल पहिलेदेखि नै आफ्नो सेयर बिक्री गर्ने पक्षमा थिएनन् । तर श्रेष्ठ स्वयम् भने राम्रो मूल्य आए स्वामित्व बिक्री गर्ने मनशायमा छन् ।
अहिले कुल नौजनाको संचालक समितिमा श्रेष्ठ समूहबाट सबैभन्दा धेरै चारजना सदस्य छन् । बहुमत सेयर खरिद पछि शर्माले समितिको अध्यक्षका साथै बहुमत सदस्य आफ्नो तर्फबाट हुनुपर्ने सर्त राखेका थिए । संचालक समिति अध्यक्ष गुमाउनुका साथै व्यवस्थापनमा समेत आफ्नो पकड कमजोर हुने भएपछि श्रेष्ठ समूहले शर्मालाई मेडिकल कलेजको सेयर खरिदबाट अहिले रोकेको भनाइ स्रोतको छ ।
यद्यपि, डिल ब्रेक भएकोमा आफू त्यति धेरै दुःखी नभएको शर्मा बताउँछन् । ‘हामीमध्येकै केही जानुपर्छ भन्नेमा थियौं केही जानुहुँदैन भन्नेमा । यसैले डिल ब्रेक भएकोमा पनि हामी त्यतिसाह्रो दुःखी छैनौं’ शर्माले भने, ‘किनभने यो मेडिकल कलेज चलाउन चुनौतीपूणर् छ । एक त ठूलो घाटामा छ भने अर्को तत्काल ४६ जना प्राध्यापक नियुक्त गर्न सकेन भने मेडिकल काउन्सिलले सिट संख्या ५० मा झारिदिन्छ ।’
अहिले यसले एमबीबीएसमा १५० जना पढाउने अनुमति पाएको भए पनि त्यसलाई कायम राख्न तत्काल ४६ जना मेडिकल शिक्षकरप्राध्यापक नियुक्त गर्नुपर्ने दबाब व्यवस्थापन तथा संचालकलाई छ ।
अर्कोतर्फ, पछिल्लो दुई वर्षमा मात्र यस मेडिकल कलेजको घाटा ३० करोड रुपैयाँ छ । ओभर स्टाफिङका कारण यसको संचालन खर्च ठूलो छ । श्रेष्ठका अनुसार, यसमा अहिले करिब १५ सय जना कर्मचारी छन् । यसकारण पनि शर्माले यो मेडिकल कजेल संचालन चुनौतीपूणर् भएकाले बहुमत लगानीपछि संचालक समिति र व्यवस्थापनमा आफ्नो पकड चाहेको स्रोत बताउँछ ।
१९९६ मा स्थापना भएको यो मेडिकल कलेजले सन् १९९७ देखि एमबीबीएस अध्यापन गराउन थालेको हो । त्यसको तीन वर्षपछि नर्सिङ पढाउन सुरु गरेको यसले पोस्टग्रयाजुएट (एमडीरएमएस) मा २००७ देखि भर्ना लिन थालेको हो । अहिले भारतदेखि श्रीलंकासम्मका विद्यार्थी यस मेडिकल कलेजमा बढिरहेको श्रेष्ठको भनाइ छ ।
यसले बाँकेको नेपालगन्ज र कोहलपुर दुई ठाउँमा अस्पतालसहितको मेडिकल कलेज संचालन गरिरहेको छ । दुवै ठाउँमा प्रशस्त जग्गासहित भवन र अन्य अस्पताल पूर्वाधारहरु छन् । कोहरपुरको मुख्य मेडिकल कलेजको अस्पताल ७५० शय्या क्षमताको र नेपालगन्जको २५० शय्याको छ ।
शर्मासँग बहुमत सेयर खरिद बिक्रीको सहमति हुँदा भवन संरचनाबाहेक ७० हेक्टर जमिन पनि रहेको नेपालगन्ज मेडिकल कलेजको करिब ३४ लाख ८० हजार कित्ता सेयरको कुल मूल्यांकन ५०० रुपैयाँको दरले कुल एक अर्ब ७४ करोड रुपैयाँ हाराहारी भएको थियो ।