विद्यालयको जग्गामा जबरजस्ती बाटो निर्माण
Friday, August 13th, 2021, 7:54 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
नेपालगन्ज, २९ साउन
नेपालगन्ज उप-महानगरपालिका-७ रानी तलाउ नजिकै रहेको बाँकेकै पुरानो महेन्द्र नमूना माध्यमिक विद्यालयको जग्गामा जबरजस्ती बाटो निर्माण गरिएको छ । नेपालगन्ज उप-महानगरपालिका-१८, कारकाँदोमा रहेको विद्यालयको जग्गामा स्थानीयले जबरजस्ती बाटो निकासी गरी निर्माण गरेको विद्यालयले जनाएको छ ।
विद्यालयले आफ्नो जग्गामा स्थानीयले कब्जा गरेर बाटो निर्माण गरेको भन्दै आपत्ति जनाएको छ । सम्बन्धित जग्गावाला वा जग्गा कायम भएको पक्षलाई जानकारी वा सहमति लिनुपर्ने भएपनि कुनै प्रकारको जानकारी नै नलिई स्थानीयले अफूखुसी बाटो निर्माण गरेको विद्यालयका प्रधानाध्यापक राजेशकुमार यादवले बताए ।
‘हामीले बारम्बार विरोध जनाएपनि स्थानीयले आफूखुसी बाटो निकासी गरेका हुन् । त्यसैले हामीले धेरै ठाउँमा निवेदन पनि दियौ । तर सुनुवाई त परै जावस कसैले वास्तासमेत गरेका छैनन्,’ प्रधानाध्यापक यादवले बताए ।
स्थानीयले विद्यालयको जग्गामा बाटो निर्माण गरेपछि विद्यालयले सम्बन्धित निकायमा निवेदनसमेत दिएको छ । तर हालसम्म कुनै निकायको ध्यानाकर्षण हुन सकेको छैन । जिल्लास्थित जिल्ला प्रसाशन कार्यालय बाँके, नेपालगन्ज उप-महानगरपालिका र जग्गा क्षेत्रभित्र पर्ने १८ नम्बर वडा कार्यालयमा विद्यालयले निवेदन पेश गरेको हो ।
यादवले भने, ‘हामीले एक हप्ताअघि वडा कार्यालयमा निवेदन दिन जाना वडा अध्यक्ष दीपककुमार वर्मा ज्यूले अनविज्ञता प्रकट गर्दै उल्टै हामीलाई कसले बाटो बनायो भनेर प्रश्न गर्नु भयो । स्थानीयले भने टोल सुधार समितिले बनाएको बताए । तर टोल सुधार समितिमा को छन् भन्ने नै थाहा भएन ।’ यसबारेमा कालपृष्ठले बुझ्न खोज्दा वडाध्यक्षसँग टेलिफोन सम्पर्क हुन सकेन ।
लामो समयदेखि विद्यालयको जग्गामा भू-माफियाहरु लागेको पनि यादवले बताए । ‘यसअघि उक्त जग्गामा बाटो निर्माण गर्ने प्रयास गरिएको थियो । हामीले दुई पटकसम्म बाटो निर्माण गर्ने प्रयासस्वरुप ग्रावेल हालेर तयार गर्न लागेको समयमा प्रहरीको सहायताले डोजरको प्रयोग गरेर बाटो निर्माण कार्य रोकेका थियौँ,’ उनले भने । तर केही समयपछि पुन ः बाटो निर्माण कार्य सुरु भएको यादवले बताए । यादवका अनुसार विद्यालयले जुन व्यक्तिलाई जग्गा ठेक्कामा दिएको उसले पनि जग्गाको रेखदेखमा बेवास्ता गर्दै आइरहेको छ ।
विद्यालयले प्रशासनमा निवेदन पेश गरेपछि प्रशासनले बाटो निर्माण कार्य रोक्नका लागि प्रहरीलाई पत्र पठाएको छ । प्रशासनले प्रहरीलाई पठाएको पत्रमा ‘कुनैपनि सरकारी जग्गामा सहमति मन्जुरीबिना सार्वजनिक बाटो निमाणर् कार्य हुन वा गर्न नदिने व्यवस्थाका लागि स्थानीय वडा कार्यालयलाई समेत समन्वय गरी आवश्यक कारबाही गरी सोको जानकारी यस कार्यालयलाई दिनुहुन आदेशानुसार अनुरोध छ’, भनि उल्लेख छ ।
बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार निवेदन आएपछि बाटो निर्माण कार्य रोकिएको छ । उनले अहिलेलाई प्रहरीको टोली घटनास्थल पुगेर बाटो निर्माण कार्यलाई तत्कालका लागि रोकेको बताए । ‘प्रहरीलाई निर्माण कार्य रोक्न आदेश आएपछि रोकेका छौं,’ प्रवक्ता न्यौपानेले भने ।
हाल उक्त विद्यालयको जग्गामा आठ मिटर चौडाई भएको करिब एक सय मिटरको बाटो निर्माण गरिएको छ । बाटोमा ग्राभेलसमेत गरिएको छ । उक्त स्थानमा विद्यालयको १३ कित्तामा तीन बिघा १६ धुर जग्गा भएको लालपुर्जामा उल्लेख छ ।