टोले गुण्डा सन्ते पक्राउ
Wednesday, August 25th, 2021, 5:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ भदौ
कोहलपुर प्रहरीले राँझा नेपालगन्ज उप-महानगरपालिका-२० राँझा क्षेत्रका गुण्डा नाईके २५ वर्षीय ‘सन्ते’ भनिने बसन्त रावतलाई पक्राउ गरको छ ।
सन्तेले दुईजनामाथि सांघातिक हमला गरेको र लुटपाटमा संलग्न भएकोलगायतका आरोप छन् ।
साउन २४ गते राती २ बजेको समयमा उनीसहितको १०/१२ जनाको ग्याङले नयाँ बस्ती थपुवाका दुई जनामाथि आक्रमण गरेका थिए ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालका अनुसार थपुवाका पुरन विक र टेक बहादुर विकलाई घरभित्रबाट लतार्दै बाहिर निकाली शरीरका संवेदनशिल भागमा धारिलो हतियार प्रहार गरेर मरणासन्न अवस्थामा झाडीमा फालेर भागेका थिए ।
सोही समूहले नै स्थानीय गीता रोकाको घर कोठाको ढोका समेत फुटाई नगद, सुनका गरगहना तथा अन्य जिन्सी सामानहरु लुटपाट गरेका थिए ।
घटना लगत्तै कोहलपुर प्रहरीले सोही समूहका चार जनालाई पक्राउ गरिसकेको थियो । घटनाका मुख्य नाइके सन्तेसहित अन्य फरार रहेकोमा तीन जनालाई कोहलपुरबाट खटिएको सादा पोशाकको प्रहरी टोलिले सुर्खेतमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सन्तेसहित राँझाकै २० वर्षीय प्रकाश बुढा र २५ वर्षीय चक्र बहादुर रावत रहेका छन् । सन्तेको नेतृत्वमा राँझा क्षेत्रमा गुण्डागर्दी र लुटपाट हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यसबारे थप जानकारी दिनको लागि ईलाका प्रहरी कार्यालय कोहलपुरले आज बिहान ११ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।