जनगायक जेबी टुहुरेको ७८ वर्षको उमेरमा निधन
Thursday, August 26th, 2021, 3:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० भदौ
जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को ७८ वर्षको उमेरमा पक्षघातका कारण निधन भएको छ । टुहुरेको काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।
१ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका ॅटुहुरे’लाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्याएका थिए । उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्याउँदा उनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो ।
मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचाप लगायतका दीर्घरोग भएका कारण शल्यक्रिया हुन सकेन । र, उपचारका क्रममा उनको बिहीबार निधन भयो ।
दोस्रो संविधानसभा सदस्य समेत रहेका टुहुरे १५ कात्तिक २००१ मा धरानको पुरानो बजारमा जन्मिएका थिए । सानैदेखि गीत गाउन थालेका जुठबहादुर खड्गीले २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए । उनी जेबी टुहुरेकै नामबाट चिनिए । २०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएका उनले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए । उनको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई’ निकै चर्तित छ ।
राजनीतिक रुपमा उनको आवद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थिए । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद बनेका उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादीका सल्लाहकार हुन् । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन समेत स्थापना गरिएको छ । फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।