६ घर भत्किए
Friday, August 27th, 2021, 4:56 pm
Kalpristha
नेपालगन्ज, ११ भदौं (कालपृष्ठ)– अविरल वर्षातका कारण आएको बढीले डुडुवा गाउँपालिकामा पाँच घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार डुडुवा गाउँपालिका–३ र १ का घर भत्किएका हुन् ।
वडा नम्बर ३, बनकटुवाकी कुन्नी खटिकको बाढीका कारण घर भत्किएपछि उनी घरबार विहीन बनेको वडाअध्यक्ष भण्डारीलाल यादवले बताए । त्यस्तै अलाम जाहाँ शाही, नतिस खाँ, जलिल खाँको माटाको घर भत्किएको छ भने गणेश खटिकको घरको माटोको दिवाल भत्किदा भैसीको पाडो मरेको छ । त्यस्तै वडा नम्बर १ खरैचामा सुन्दर लोनियाको पनि घर भत्किएको हो ।
त्यस्तै नेपालगन्ज उप–महानगपालिकाका विभिन्न स्थानमा पनि बाढीले प्रभाव पारेको छ । नगरको वडा नम्बर १० जेल रोड पछाडि, वडा नम्बर २० राझाँ गाउँ, वडा नम्बर १२ बेलासपुरलगायतका स्थानमा बाढीले प्रभाव पारेको छ ।
राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ४, ५ र ७ का केही घरहरुमा पनि बाढी पसेको छ । राप्तीसोनारी–५ को चिलरिया गाउँको बिच हुँदै बग्ने चाचरफर्का नालाको पानी घरमा पसेको हो भने वडा नम्बर ४ को देउपुरामा राप्ती र जंगलबाट आएका खहरे खोलाको पानीले बस्ती र खेतमा पसेर करिब आधा दर्जन घरलाई प्रभाव पारेको हो । वडा नम्बर ७ नन्कउपुरमा पनि करिब १५ घरमा पानी पसेको छ ।
कुसुमस्थित जलमापन केन्द्रका गेजरिडर भद्रबहादुर थापाका अनुसार अहिले राप्ती नदीमा पानीको जलस्तर ४ दशमलव १ मिटर पुगेको छ । हिजो साँझसम्म पानीको सतह २ दशमलव ८५ मिटर आसपास थियो । कुसुममा ५.४ मिटर सतह पुगेमा सतराको संकेत मानिन्छ । कुसुम क्षेत्रमा गएराती १०२ दशमलव १ मिलिमिटर पानी परेको थापाले जानकारी दिए ।