बाँकेमा कोरोनाको संक्रमण घट्दै
Tuesday, September 7th, 2021, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ भाद्र
बाँकेमा कोरोना संक्रमण घट्दै गएको पाइएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन् तेज ओलीले कोभिड संक्रमणको दर घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएकाले संक्रमणको जोखिम कम हुँदै जाने बताए ।
ओलीका अनुसार हाल जिल्लामा प्रतिदिन १५ जनाभन्दा कम व्यक्तिमा संक्रमण पुष्टि भइरहेको छ भने निको हुनेको संख्यापनि वृद्धि हुँदै गएको छ । केन्द्रको तथ्यांक हेर्दा सोमबार ११ जनामा संक्रमण पुष्टि भएको छ भने पाँचजना संक्रमित निको भएका छन् ।
जिल्लाको विगत एक शाताको तथ्यांक हेर्दा संक्रण पुष्टि हुनेका संख्या ११ जनाभन्दा कम रहको छ । गत भाद्र २० गते जिल्लामा महिला तीन र पुरुष तीनजना गरी ६ जनामा मात्र संक्रमण पुष्टि भएको थियो । साथै गत १९ गते पुरुष पाँचजना, १८ गते महिला एक र पुरुष दुई गरी जम्मा तीनजना, १७ गते महिला पाँचजना र पुरुष ६ गरी ११ जना, १६ गते महिला पाँच र पुरुष तीनगरी आठजना र १५ गते महिला पाँचजना र पुरुष तीनगरी आठजनामा संक्रमण पुष्टि भएको थियो ।
जिल्लामा एक सातामा जम्मा ५२ जनामा संक्रमण पुष्टि भएको छ भने ८९ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा एक सातामा भने मृत्यु दर शून्य रहेको केन्द्रले जनाएको छ ।
जिल्ला गत २० गते नौजना संक्रमण मुक्त भएका थिए । त्यस्तै १९ गते पाँचजना, १८ गते ३६ जना, १७ गते नौजना, १६ गते १९ जना र १५ गते ६ जना संक्रमण मुक्त भएका छन् ।
हालसम्म जिललामा कूल १८ हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ । साथै १७ हजार ६ सय ५१ जना संक्रमण मुक्त भएका छन् भने तीन सय २९ जना संक्रमितको मृत्यु भई सकेको केन्द्रले जनाएको छ ।