उद्योग व्यापार संगठनमा रेग्मी अध्यक्ष
Saturday, September 25th, 2021, 10:11 pm
Kalpristha
नेपालगन्ज, ९ असोज (कालपृष्ठ)
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेमा तेज प्रसाद रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । होटेल व्यवसायी रेग्मीको अध्यक्षतामा भुपराज भण्डारी वरिष्ठ उपाध्यक्ष, तारा रोकाया उद्योग उपाध्यक्ष, नन्दराम जोशी वाणिज्य उपाध्यक्ष, डिला तिवारी महिला उपाध्यक्ष र सुनिल बानिया उपाध्यक्ष चयन भएका छन् ।
शनिबार भएको तेस्रो अधिवेशनबाट सर्वसम्मतरुपले चयन भएको कार्यसमितिमा दशरथ चन्द महासचिव, गोपाल प्रसाद अधिकारी उपमहासचिव, कोषाध्यक्षमा सालिकराम परियार, विकास बुढाथोकी, छविलाल विष्ट, इश्वर नाथ योगी र नरेन्द्र दरेल गरी चारजना सचिवमा चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष रेग्मीले कालपृष्ठसँग संक्षिप्त प्रतिक्रिया दिँदै व्यवसायीका समस्या समाधानका लागि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । संगठनमा आफूलाई महत्वपूणर् जिम्मेवारी दिएकोमा उनले नेतृत्व र संगठनका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
नेपालगन्जका व्यवसायीका समस्याबारे आफू भुक्तभोगी रहेको र तीनको समाधानको खाका बनाएर अघि बढ्ने उनको भनाई छ ।
२०५८ सालमा नेपालगन्जमा खाद्यान्नको व्यवसायबाट व्यापारिक यात्रा सुरु गरेका नवनिर्वाचित अध्यक्ष रेग्मी हाल होटल व्यवसायी हुन् । नेपालगन्जस्थित होटेल ग्यालेक्सी दरबारका सन्चालक रहेका रेग्मी सांगठिकरुपले यसअघि विभिन्न संस्थाहरुको सल्लाहकारका रुपमा रहेका थिए । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनमा भने उनले अहिले पाएको अध्यक्षको जिम्मेवारी नै पहिलो कार्यकारी जिम्मेवारी हो ।
संगठनको कार्यसमिति ५१ जनाको रहने भएपनि अहिले ४८ जना चयन गरिएको निवर्तमान महासचिव विष्णुप्रसाद खनालले जानकारी दिए । गतवर्ष नै गर्नुपर्ने अधिवेशन कोरोनाका कारण एक वर्ष ढिलो हुन गएको उनले बताए ।