‘अब प्रयोगात्मक परीक्षा पनि सिटिईभिटीले लिनुपर्छ’
Monday, September 27th, 2021, 2:45 pm
Kalpristha
नेपालगञ्ज हेल्थ क्याम्पस स्वास्थ्य विधामा प्राविधिक शिक्षा प्रदान गरी कुशल र योग्य जनशक्तिको आवश्यकता पूरा गर्नको लागी स्थापित भएको क्याम्पस हो । सिटिइभिटीबाट सम्बन्धन लिएर २०६४ सालमा स्थापित नेपालगन्ज हेल्थ क्याम्पसमा डिप्लोमा इन फार्मेसी र ल्याब टेक्निसियनको पढाई हुन्छ । उत्कृष्ट प्रयोगशाला, योग्य र अनुभवी लेक्चररहरु, पुस्तकालय, मल्टीमीडियाका सुविधाहरु, छात्रावास, पर्याप्त खेल मैदानसहितको क्याम्पसले हालसालै आफ्नै अत्याधुनिक भवनबाट अध्यापन सुरु गरेको छ । यसै सन्दर्भमा हामीले क्याम्पसका प्रबन्ध निर्देशक मैकुलाल वाल्मिकीसँग कुराकानी गरेका छौँ ।
क्याम्पस स्थापनाको अवधारणबारे बताइदिनुस् न ।
२०५३ सालमा सुस्मा कोइराला सिएमए अनमी क्याम्पसको रुपमा मेरो सक्रियतामा नेपालगन्जमा पहिलोपटक सिएमएको पढाइ सुरु भएको थियो । त्यसबाट स्वास्थ्य क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादनको महत्व र आवश्यकता नजिकबाट महसुस भयो । पछि २०६२-६३ सालको आन्दोलपछि मैले थप विषयमा अध्यापन गराउने गरी योजना बनाएँ । २०६४ सालमा डिप्लोमा इन फार्मेसी र ल्याब टेक्निसियन पढाउनेगरी क्याम्पसको स्थापना भएको थियो । यी दुईवटा विषयहरु स्वास्थ्यका आधारभूत विषय हुन् । अहिले प्रयोगशाला परीक्षणबिना डाक्टरहरुले प्रेस्कृप्सन दिन नमिल्ने मापदण्ड आइसकेको छ । अर्कोतिर स्कुल लेभलको पढाइ सकेका विद्यार्थीहरुले पनि पढ्न सक्ने र स्वरोजगार हुनसक्ने अवसर छ । यसैगरी यीनको देश तथा विदेश जताततै उच्च आवश्यकता र माग छ । त्यसकारण यी दुईवटा विषय प्राथमिकतामा राखेर अध्यापन सुरु गरेको हो ।
यी विषयमा आकर्षण पनि तपाईंले भनेजस्तै छ त ?
एकदम धेरै छ । अहिले बिस्तारै मानिसहरुले ल्याबको महत्व बुझ्न थालेका छन् । अर्कोतिर हामीले उत्पादन गर्ने जनशक्ति सहर भन्दा बढी गाउँलाई आवश्यक छ । त्यसकारण ग्रामीण क्षेत्रका विद्यार्थीहरु यी विषयमा आकर्षित भइरहेका छन् । सस्तोमा पढेर स्वास्थ्य सेवा पनि दिन सकिने र आफू स्वरोजगार पनि बन्न सकिने भएकोले धेरैले यो विषय रोजेका छन् । तरपनि कतिपय मानिसहरुमा फार्मेसी पढ्यो भने अस्पताल खोल्न पाइन्छ भन्ने सोच छ । भइरहेको पनि त्यस्तै छ । एउटा विषय पढेकोले अर्कै काम गरिहेको अवस्था छ । वास्तवमा कुन जनशक्तिको काम के हो भन्ने कुरा बुझ्ने चेतनास्तर अझै बनेको छैन । अब बिस्तारै चेतनास्तर बढ्यो भने हरेक प्राविधिक जनशक्तिले गर्ने कामको बारो सबैले थाहा पाउँछन् । तैपनि हामीकहाँ कोटाभन्दा कयौँ गुणा बढी विद्यार्थीहरुको आवेदन पर्ने गर्छ । यस हिसाबले आकर्षण राम्रो छ भन्न मिल्छ ।
अहिले यहाँको क्याम्पस पहिलेको भन्दा भौतिकरुपले थप सबल बनेको हो ?
हो । हामीले पहिले पनि मापदण्डको पालना गरेरै अध्यापन गराइरहेका थियौँ । तर विविध कारणबस सोचेको जस्तो हुन सकेको थिएन । अब हामीले सिटिइभिटीको मापदण्डअनुसार भवन बनाएका छौँ । मापदण्डअनुसार ल्याब बनाएका छौँ । पहिले हामी भाडाको घरमा कलेज सन्चालन गरेका थियौँ । अब कुनैपनि कुरामा कमी छैन । सबै भौतिक आवश्यकता पूरा भएको छ । अपाङ्गमैत्री भवन हामीले निर्माण गरेका छौँ ।
कलेजको शैक्षिक गुणस्तर कस्तो छ ?
शैक्षिक गुणस्तरका हकमा परीक्षाको नतिजा एउटा मापदण्ड हो । यसवर्ष हामीले शतप्रतिशत नतिजा ल्याएका छौँ । लेक्चररहरु र अन्य जनशक्तिहरु दक्ष र अनुभवी छन् । कोभिडको समयमा पनि हामीले अनलाइनमा पढायौँ । हाम्रा विद्यार्थीहरु हिमालसम्मका छन् । कतिपय विद्यार्थीहरु नेटवर्कको खोजीमा डाँडामा बसेर पढे । अब भौतिक पूर्वाधार पनि पूणर् भएको छ । यी सबै हिसाबले हामीले गुणस्तरमा कुनै कन्जुस्याईं गरेका छैनौं ।
टेक्निकल शिक्षा महंगो छ भन्ने अभिभावकको धारण छ नि ?
महंगो होइन । यसको रिटर्न पनि त्यत्तिकै राम्रो छ । अर्कोतिर शुल्क सबै सिटिइभिटीले निर्धारण गरेको हुन्छ । हामीले त्यसभन्दा बढी लिनै पाउँदैनौँ । भइरहेको के छ भने यहाँ केही बिचौलियाहरुले अभिभावक र विद्यार्थीको बिचमा खेल्छन् । त्यस्ता बिचौलियाहरु विभिन्न राजनीतिक दलका भातृ संगठनका सदस्यहरु पनि छन् । उनीहरुले गाउँका सोझा अभिभावक र विद्यार्थीहरुलाई फसाएर विद्यालयमा कुरा मिलाइदिने नाममा पैसा असुलिरहेका छन् । उनीहरुले तोकिएकोभन्दा बढी रकम माग गर्ने, विद्यालयमा सेटिङ गर्ने नाममा असुल गर्ने गरेका रहेछन् । म प्रष्ट भन्छु सिटिइभिटीको वेबसाइटमा हेर्नुस् । त्यहाँ शुल्क प्रष्ट लेखिएको छ । फार्मेसीको ३ लाख ३७ हजार ८ सय र ल्याब टेक्निसियनको ३ लाख ७४ हजार शुल्क छ । त्यो पनि सबै एकैचोटी दिन पर्दैन । पहिलो वर्ष ४० प्रतिशत, दोस्रो वर्ष ३० र अन्तिम वर्ष ३० प्रतिशत शुल्क तिर्नुपर्छ । प्रवेश शुल्क ८ सय छ । तर, यहाँ विद्यार्थी संगठनका सदस्य भन्नेहरु भने अवैध असुली गरिरहेका छन् । उनीहरुले क्याम्पसबाट पनि असुल गर्ने प्रयास गर्छन् भने अभिभावकलाई फसाउँछन् । त्यस्ता व्यक्तिहरुबाट सावधान रहनुहोला ।
टेक्निकल शिक्षा हाँसिल गरेका विद्यार्थीहरुसँग फिल्डमा जाँदा सीप हुँदैन भन्ने गुनासो पनि छ नि । त्यसो किन हुन्छ ?
हो । केही क्याम्पसहरुको पढाउने शैली परम्परागत छ । उनीहरु प्रयोगात्मक भन्दा सैद्धान्तिक रुपले नै विद्यार्थीहरुलाई पढाउने गरेका होलान् । यसमा मेरो भनाई के छ भने नीतिमै सुधार गरिनुपर्छ । अहिले सैद्धान्तिक परीक्षा मात्रै बोर्डबाट हुन्छ । तर प्रयोगात्मक विद्यालय आफैले गर्न पाउँछ । उनीहरुलाई प्रयोगात्मक शिक्षणमा जोड गर्नुपर्ने कुनै बाध्यता नै छैन । अनि यस्तो अवस्थामा विद्यार्थीले सोच्छ मैले त पैसा तिरेको छु, प्रयोगात्मक परीक्षामा त त्यसै पास गराइदिन्छ । अनि उनीहरु प्रयोगात्मक कक्षाहरुमा ध्यान दिँदैनन् । प्रयोगात्मक परीक्षालाई पनि सिटिइभिटीले प्राथमिकतामा राख्नुपर्यो । क्याम्पसले पढाइदिन्छन् । सिटिइभिटीले परीक्षा लेओस् । त्यसपछि विद्यार्थीलाई पनि प्रयोगात्मक राम्रो गर्न दवाब हुन्छ भने इन्स्टीच्युटहरुले पनि प्रयोगात्मकमा राम्रो गर्न बाध्यता हुन्छ । प्रयोगात्मक परीक्षा पढाउने संस्थाले नै गर्ने भन्ने नीतिको म सख्त खिलाफमा छु । यो त अति संवेदनशील विषय हो नि । आज मेरो क्याम्पसबाट पढेको विद्यार्थीले भोली मलाई नै सुई लगाउँदा गलत गरिदियो भने के हुन्छ ? त्यसकारण यो परीक्षा प्रणाली परिवर्तन चाँडोभन्दा चाँडो हुनुपर्छ । त्यसपछि तपाईले उठाउनुभएको समस्या समाधान हुन्छ । म कालपृष्ठमार्फत जोडदार माग गर्दछु ।
समग्रमा नेपालगन्ज प्राविधिक शिक्षामा कस्तो अवस्थामा छ ?
धेरै राम्रो अवस्थामा छ । यहाँ औपचारिक रुपले एमए अध्ययन गरेका मानिसहरु पनि प्राविधिक विषय पढ्न आइरहेका छन् । यो स्वरोजगारको सुनिश्चित माध्यम हो । नेपालगन्जले प्राविधिक विषयको पढाईमा लुम्बिनी, कणर्ाली र सुदुरपश्चिमको केन्द्र नै हो । यसले नेपालको विशेषगरी स्वास्थ्य संवेदनशीलताका हिसाबले जोखिममा रहेको क्षेत्रका नयाँ पुस्तालाई प्राविधिक सीप दिइरहेको छ । स्वास्थ्य मात्रै नभई अन्य प्राविधिक विषयका संस्थाहरु पनि राम्रो सुविधासहित सन्चालनमा छन् । धेरैजसो हिस्सा निजी क्षेत्रले नै ओगटेको छ ।
राज्यले सुधार गर्नुपर्ने केही छ ?
राज्यले धेरै सुधार गर्नुपर्छ । पहिला त शिक्षा पद्धतिबारे सबै राजनीतिक शक्तिहको साझा धारणा बन्नुपर्छ । किनभने शिक्षामा एकवर्ष गरेको निणर्यले वर्षौसम्म असर गर्छ । हाम्रो सन्दर्भमा कुरा गर्दा राज्यले हामीले दिएको उत्पादनको उपयोग राम्ररी गरिरहेको छैन । सरकारकै सिफारिसमा हामीले कयौँ विद्यार्थीहरुलाई छात्रवृत्तिमा पढाएका छौँ । तर उनीहरुको ज्ञान र सीपको खै उपयोग भएको ? जसरी छात्रवृत्तिमा एमबिबिएस पढेका विद्यार्थीहरुले दुईवर्ष सरकारले तोकेको ठाउँमा सेवा गर्नुपर्ने नियम छ । त्यस्तै नियम सबै छात्रवृत्तिमा पढ््ने विद्यार्थीहरुको हकमा लागु गरिदिए हुन्न ? त्यसकारण म भन्छु, राज्यसँग शिक्षाका बारेमा निश्चित दृष्टिकोण छैन । अब त्यो दृष्टिकोण बन्नुपर्छ । मेडिकल शिक्षामा पनि नेपालमा धेरै संभावना छ । त्यो संभावनालाई कसरी समाुपातिक ढंगले उपयोग गर्ने भन्ने विषयमा निश्चित नीति हुनु आवश्यक छ ।