दलसम्बन्धि अध्यादेश खारेज
Monday, September 27th, 2021, 9:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ असोज
सरकारले आफैले ल्याएको दलसम्बन्धि अध्यादेश खारेज गरेको छ । दल विभाजनलाई सहज हुने गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर राजनीतिक दल विभाजन गर्न सकिने गरी उक्त अध्यादेश भदौ १ गते सिफारिस गरेको थियो ।
राष्ट्रपतिले भदौ २ गते अध्यादेश जारी गरेलगत्तै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका थिए ।
पछिल्लो पटक सर्वोच्च अदालतले अध्यादेश र त्यसका आधारमा भएका कामकारबाही रद्द गर्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश नदिएपछि अध्यादेश फिर्ताका लागि एकीकृत समाजवादी नेताहरु सहमत भएका छन् । त्यसअनुसार मन्त्रिपरिषद्ले सोमबार अध्यादेश खारेजीका लागि सिफारिस गरेको थियो ।
उक्त सिफारिसअनुसार राष्ट्रपतिले अध्यादेश खारेज गरेपछि अब मन्त्रालय भागवण्डा टुंग्याएर पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी सत्तारुढ दलहरुको तयारी छ ।