नेपालगन्जका सिसि क्यामेरा मर्मत सुुरु
Monday, September 27th, 2021, 8:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ असोज
नेपालगन्जमा बिग्रिएका सिसि क्यामेरा मर्मतको काम लामो समयपछि सुुरु भएको छ । २०७५ सालमा नेपालगन्ज उद्योग वाणिज्य संघ, व्यवसायी र तत्कालिन बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङको पहलमा १४ वटा चोकमा ५४ वटा सिसि क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि ती सिसि क्यामेराको मर्मत सम्भार र सन्चालनको जिम्मा प्रहरीलाई दिइएकोमा प्रहरीको वेवास्ताका कारण केही महिनामै क्यामेराहरु बिग्रिएका थिए ।
३० भन्दा बढी क्यामेरा बिग्रिएको लामो समय भइसक्दा पनि मर्मतमा प्रहरीले कुनै तदारुकता देखाएको थिएन । यसैबिच गत भदौ ७ गते त्रिभुवन चोक नजिक कुनै सवारी साधनले नेपालगन्ज उप-महानगरपालिका ११ की अढाई वर्षिय अनबिया राईलाई ठक्कर दिँदा उनको ज्यान गयो । तर प्रहरीले दोषीलाई पक्राउ गर्न सकेन । सिसि क्यामेरा चलिरहेको भए दोषी उम्किन नपाउने भन्दै स्थानीयले विरोध प्रदर्शन सुरु गरे ।
त्यसको एक महिनासम्म पनि प्रहरीलगायत बाँकेका कुनैपनि सरोकारवाला निकायले सिसि क्यामेराको मर्मतमा चासो देखाएनन् । नेपालगन्ज उप-महानगरपालिकाले सिसि क्यामेरा मर्मत आफ्नो जिम्मेवारी नभएको भन्दै विज्ञप्ति नै निकाल्यो ।
लगातारको स्थानीयको दवाब र सन्चारमाध्यमले घचघच्याएपछि बल्ल आएर सिसि क्यामेरा मर्मत गर्ने निणर्य भएको छ ।
बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले नेपालगन्ज उप-महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा बिग्रिएका क्यामेरा मर्मतको काम सोमबारदेखि शुरु भएको जानकारी दिए ।
सोमबार देखि नै सबै मर्मत गर्ने कामको सुरुवात पनि भइसकेको न्यौपानेले बताए । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको बैठकमा सरोकारवालारुले यथाशीघ्र सिसि क्यामेरा मर्मत गर्नुको विकल्प नरहेको बताएका थिए । सिसि क्यामेरा मर्मतको लागि आवश्यक व्यवस्थापनको जिम्मा नेपालगन्ज उप-महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ ।
मर्मतका लागि लाग्ने खर्च सिसि क्यामेरा जडान गर्ने समयमा गठित समितिको खातामा पनि केही रकम मौज्दात रहेकोले त्यसैबाट पनि मर्मत गर्न सकिने समितिका संयोजक नन्दलाल वैश्यले बताएका छन् ।
सिसि क्यामेरा जडान भएपनि चोरी, लुटपाट लगायतका घटनमा कमी आएको थियो भने दोषीलाई पक्राउ गर्न पनि प्रहरीलाई सहज भएको थियो । आफ्नो अनुसन्धानमै सघाउने आधुनिक प्रविधिको साधनको संरक्षण र मर्मतसम्भारमा पनि प्रहरी गम्भीर नभएको भन्दै चर्को आलोचना हुँदै आएको छ ।