बन्जीका लागि पोखरामा आमन्त्रण
Wednesday, September 29th, 2021, 7:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ असोज
नेपालगन्ज पोखरा सिधा हवाई उडानले जोडिएपछि पोखरा र नेपालगन्जको पर्यटकीय सम्पर्क र गतिविधि बढ्न थालेका छन् । नेपालगन्जका पर्यटन व्यवसायी र सम्बद्धहरु पोखरा जाने र पोखराका पर्यटन व्यवसायीहरु नेपालगन्ज आएर आफ्ना अनुभव र सेवाको प्रचार प्रसार गर्न थालेका छन् ।
यसैबिच पोखरामा यसैवर्ष सन्चालनमा आएको एक बन्जी जम्प कम्पनीले नेपालगन्ज र यस आसपासका साहसिक खेलमा रुचि राख्नेहरुलाई नेपालगन्जमा पुगेर आमन्त्रण गरेको छ । बन्जी नेपाल एडभेन्चर्स प्रालिले बुधबार नेपालगन्जमा पत्रकार भेटघाट गर्दै देशकै सबैभन्दा सुरक्षित बन्जी जम्पको सुविधा आफूहरुले दिइरहेको जनाएको छ ।
पोखरा १७, रातोपैरामा गत वैशाख १ गतेदेखी सन्चालनमा आएको बन्जीको सफल परीक्षण भइसकेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई यसबारे जानकारी गराउन देशदौडाहमा रहेको प्रालिका अध्यक्ष युवा व्यवसायी सन्तोष भट्टराईले जानकारी दिए । उनले नेपालगन्ज-पोखरा हवाई उडानले थुप्रै सम्भावनका ढोकाहरु खोलेको बताए । पोखरामा प्याराग्लाइडिङ संकटमा परेकोले अब पश्चिम क्षेत्रमा पनि प्याराग्लाइडिङका नयाँ संभावनाहरु खोज्न लाग्नुपर्ने उनको भनाइ छ ।
पश्चिम क्षेत्रमा बन्जी जम्पको लागि इच्छुक लगानीकर्ताहरु भएमा आफूले सम्पूणर् प्राविधिक सहयोग गर्न तयार रहेको पनि भट्टराईले बताएका छन् ।
लेकसाइडबाट ३ किलोमीटरको दुरीमा रहेको बन्जी नयाँ वर्षसंगै सन्चालनमा आएको बताउदै कोरोनाका कारण १० दिनमै बन्द भएको र कोरोनाको संक्रमणदर घटेपछि साउन १५ देखी पुनः नियमीत रुपमा सन्चालन भइरहेको उनले बताए । यो अवधीमा झण्डै ८ सयले बन्जीजम्पको मजा लिएको उनले जानकारी दिएका छन् ।
एक पटक बन्जी गरेवापत ६ हजार रुपैँया शुल्क तोकिएको छ । तर विभिन्न पेशा व्यवसायीलाई लक्षित गरी शुल्कमा विशेष छुट दिइएको छ । करीब ८ करोड २५ लाखको लगानीमा निर्माण भएको यो बन्जी आइएसो स्टान्डर्डमा निर्माण गरीएको अन्तराष्ट्रियस्तरको लोकप्रिय बन्जी ‘गो बन्जी’को फ्रेन्चाइच हो ।