पैदल यात्रुले कहाँबाट हिड्ने ?
Sunday, October 3rd, 2021, 6:41 pm
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, १४ असोज
पश्चिम नेपालको व्यापारिक हब नेपालगन्जमा पछिल्लो दशकमा सडक पूर्वाधारमा उल्लेखिय प्रगति भएको छ । सडक चौडा र फराकिला भएका छन् । अधिकांश सडक कालोपत्रे भएका छन् । लामो समयपछि सदरलाईन, घरबारीटोल लगायतका सडकहरु पहिलेको भन्दा फराकिला बनेका छन् । तर, सवारीको सहज आवागमनको वातावरण अझै हुन सकेको छैन । सवारी साधन प्रयोग कर्ताभन्दा बढी समस्या पैदल हिड्नेहरुलाई छ ।

फुटपाथमै मोटरसाइकल मर्मत गरिँदै
नेपालगन्जमा पैदल यात्रुहरुले कुनै ठाउँमा पनि ढुक्कले हिड्नसक्ने अवस्था छैन । मोटरसाइकल मर्मत पसलहरुले फुटपाथमै मोटरसाईकल धोइपखाली गरिरहेका हुन्छन् ।
पैदल यात्रुका लागि हसज फुटपाथमा व्यापारी मात्रै नभई उप-महानगरका संरचनाहरु पनि दोषी छन् । कतिपय ठाउँमा नालामाथि ढकन नै छैन । जहाँ पैदल यात्रु चाहेर पनि हिड्न सक्दैनन् । कतिपय ठाउँमा स्थानीयहरुले मोटरसाइकल घरभित्र छिराउन सहज बनाउने गरी फुटपाथमै संरचना बनाइएका छन् ।

फुटपाथमाथि थन्काइएका निर्माण सामग्री
सडकमा फुटपाथमा हिड्नेलाई स्वागत गर्न ईटाको थुप्रो, सवारी साधन, फर्निचरका सामान, सुगाका पिजडा, फलामका निर्माण सामग्री, पसलका साइन बोर्ड लगायतका अवरोधहरु तयार भएर बसेका छन् ।

फुटपाथमाथि सन्चालित म म सेन्टर
सदरलाइनको त सडक नै पार्किङ पनि हो र बजार पनि हो । त्यहाँ पार्किङ गरिएका गाडिहरु र गुड्दै गरेका गाडिहरुबिच आफुलाई हिडाउनुपर्छ ।
नेपालगन्जको अर्को मुख्य बजार घरबारी टोलको अवस्था पनि त्यस्तै छ । त्यहाँ पनि फुटपाथमा हिड्न भन्दा सडकमै हिड्न सजिलो छ ।
नेपालगन्जको कुनै यस्तो फुटपाथ छैन जहाँ पैदल यात्रुहरु ढुक्क भएर यात्रा गर्न सकुन । कहिँ नालीमाथी ढकन छैन त कहीँ व्यपारीहरुले सामान राखेर अन्याय गरेका छन् ।
फुटपाथ कब्जामा सरकार पनि पछि परेको छैन । विपि चोक, धम्बोझी चोक, भेरी अस्पताल चोक लगायतका ठाउँमा प्रहरीले नै फुटपाथमा आफ्नो बिट ठड्याएको छ । कतिपय बिटहरुमा त प्रहरी नै बस्दैनन् ।

फुटपाथमै राखिएको प्रहरीको बिट
पैदल यात्रुमाथी भईरहेको अन्याय र नगरको सडक व्यवस्थापनको यो बेथिति उपमहानगरले नै सुधार्न सक्छ । उपमहानगरसँग १४ जनाको नगर प्रहरीको टोली पनि छ । जो यस समस्याको समाधानका लागि कहिलेकाहीँ आक्रमणमा उत्रिएको शैलीमा देखिन्छ र फेरि चुप लाग्छ । सडकमा उत्रिएको बेला ठेलामा सामान बेच्दै गरेकाहरुलाई तर्साउँदै हिड्छन् नगर प्रहरीहरु । तर सडकको आवागमन सहज बनाउने विषयमा कुनै ठोस पहल उपमहानगरपालिकाले गरेको देखिएको छैन । व्यवसायीहरुले पैदल यात्रुको अधिकारको सम्मान गर्ने कुराको मनन गरेको देखिँदैन ।