‘भेरीलाई देशकै अब्बल अस्पताल बनाइयो’
Sunday, October 3rd, 2021, 9:10 pm
Kalpristha
-डा. प्रकाश थापा
जीवनमा यदि केही स्थायी छ भने त्यो परिवर्तन नै हो । करिब १६ महिनाको निकै व्यस्त र दौडधुपपूणर् मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारीबाट सरकारले विश्राम दिने निणर्य गरेको छ । जिम्मेवारी दिने र विश्राम दिने सरकारका दुबै निणर्यलाई धन्यवाद दिन चाहन्छु ।
‘वरिष्ठता कि कार्यदक्षता’ को पेचिलो सवालमा मेरो नेतृत्व स्वीकारेर कोभिडको दोस्रो चरण परास्त गर्न खट्नुहुने सबै चिकित्सक सहकर्मीहरूलाई हार्दिक आभार तथा धन्यवाद टक्र्याउन चाहन्छु । अस्पताल नेतृत्वको दोस्रो कार्यकालमा मैले जे जति गरें, त्यो कोभिडकै सेरोफेरोमा रह्यो ।
विभिन्न सूचकाङ्कहरूमा निकै तल रहेको भेरी अस्पतालले यस बीचमा ठूलो फड्को मारेर नेपाल सरकारले तय गरेका न्यु्नतम सेवा मापदण्डमा सङ्घीय अस्पतालहरूमध्ये सबैभन्दा धेरै अङ्क प्राप्त गरी देशकै अब्बल मध्येमा गनियो ।
कोभिडले जनजीवन आतंकित पार्न थालेको परिस्थितिमा उपत्यकाबाहिर हामीले नै पहिलो पटक पिसिआर ल्याब स्थापना गर्यौँ । जहाँबाट हालसम्म ७८ हजार जनाको परीक्षण भइसकेको छ । जसमध्ये १७ हजार जनामा रोग पहिचान हुन सक्यो । अन्तरसंस्था समन्यव गरी स्थानीय स्तरबाटै पनि उल्लेख्य काम गर्न सकिन्छ भन्ने मेरो मान्यता हामीले छोटो समयमै स्थापना गरेको १५ बेडको कोभिड आइसियू सहित एक सय ४२ बेडको कोभिड वार्डले पनि पुष्टि गर्यो । यस कार्यमा सहयोग पुर्याउनु हुने नेपालगञ्ज उप-महानगपालिकाको नेतृत्व, प्रजिअहरू, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दल, बाँके र बर्दियाका पालिकाहरू, उद्योगी, व्यवसायी, पत्रकार, नागरिक समाज र अस्पतालका सम्पूणर् शुभेच्छुकहरूलाई धन्यवाद । यसै कोभिड वार्डबाट हामीले दुई हजार आठ सय बिरामीलाई सेवा दिन सक्यौं ।
कोभिड उपचारमा सेवाप्रतिको समर्पणभावले समस्त नर्सिङ पेशाप्रतिको सम्मान उँचो भएको छ । अस्पतालले गर्व गर्न लायक यस उपलब्धिको श्रेय म मेरा नर्सिङ कर्मचारीहरूलाई दिन चाहन्छु ।
दिन रात नभनी पिसिआर ल्याब, स्वाब संकलन र ल्याबमा काम गर्ने साथीहरू साथै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अस्पतालको सेवा प्रभाव तथा विकासमा साथ दिनुहुने सम्पूणर् अस्पताल परिवारका सदस्यहरू धन्यवादको पात्र हुनुहुन्छ ।
अस्पतालको उन्नयनमा अस्पताल विकास समितिको महत्व कति रहन सक्छ भनेर प्रमाणित गर्ने मेरो कार्यकालका सम्पूणर् अस्पताल विकास समिति पदाधिकारीहरू प्रति म सदैव कृतज्ञ रहनेछु । अप्ठ्यारो परिस्थितिमा साथ, हौसला, सहजीकरण र नवीन सोचको चिन्तनबाट नै यो सम्भव भएको हो । कोभिडको निम्ति द्रुत गतिमा कर्मचारी भर्ना, आइसियु तथा एचडियु स्थापना, अक्सिजन ट्याङ्क जडान, अस्पतालको भौतिक संरचना निर्माणको लागि लबिङ तथा बजेट व्यवस्थापनमा वहाँहरूले देखाउनु भएको तदारूकता सदैव स्मरणीय रहनेछ । एक सय ३१ वर्षमा पहिलो पटक अस्पतालको स्थापना दिवस भव्यताका साथ सप्ताह व्यविरुपमा मनाइनु आफैमा एक इतिहासको सृजना हो ।
दुई सय ५० बेडको इन्डोर भवनको निर्माण सम्पन्न हुने क्रममा छ । यसले अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गर्न सकिन्छ । सरकारका विभिन्न निकायमा समन्यव गरेर र आवश्यकतामा विश्वस्त तुल्याएर इन्डोर भवनको दोस्रो चरण, चिकित्सक आवास, कर्मचारी अवास र पोस्टमार्टम भवन गरेर करीब दुई सय ५० करोडका क्रमागत योजनाहरू स्वीकृत भइसकेका छन् र तिनको कार्यान्वयन सुनिश्चितता भइसकेको छ ।
अक्सीजन प्लान्टको खरिद प्रक्रिया सम्पन्न भई एक महिनाभित्र जडान हुने प्रक्रियामा छ । जाँदाजाँदै ३टेस्ला एमआरआई खरिदको प्रक्रियाको पनि टुङ्गो लागेको छ । बजेट व्यवस्थापनमा सधैं सघाउने प्रादेशिक सामाजिक विकास मन्त्रालय, सङ्घीय स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयप्रति विशेष धन्यवाद ।
यसैबीच अस्पताल परिसरमा रहेका औषधि पसलहरु खाली गरी अस्पतालको आफ्नो फार्मेसीको स्तरोन्नती गरिएको छ भने अस्पतालको अगाडिको भागमा रहेका विवादित र अव्यवस्थित सटरहरु भत्काई दुई वटा गेट सहितको सम्पूणर् अस्पताल देखिने गरी पर्खाल निर्माण कार्य अगाडि बढाइएको छ ।
सबै कुरा यहाँ उल्लेख गर्न साध्य पनि छैन, प्रत्येकलाई सम्झेर सम्बोधन गर्न पनि सम्भव छैन । यद्यपि भेरी अस्पताललाई माया गर्ने र मप्रति सद्भाव राख्ने सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु ।
व्यस्थापकीय जिम्मेवारीबाट हटे पनि म यहि अस्पतालको श्रीबृद्धिमै खटिइरहनेछु । बिरामीहरूसँग थप नजिक रहेर सेवा गर्ने समय पाउनेछु । थाहा छैन मैले के कति गर्न सकें, तर जे जति गरे आफ्नो ब्रम्हले देखे जति र निष्ठाले खामे जति गरें । बाँकी मूल्याङ्कन यहाँहरूको !
अन्तमा नवनियुक्त प्रमुख मेडीकल सुपेरीटेन्डेन्ट डा. वीरेन्द्र बहादुर चन्दलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु ।