लुम्बिनीमा सरकार विस्तार हुँदै, बाँकेका हमाल मन्त्री बन्ने
Friday, October 8th, 2021, 12:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ असोज
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गर्दै छन् । सरकारमा बाँकेबाट निर्वाचित प्रदेश सभा सदस्य सुरेन्द्र हमाल पनि मन्त्री बन्ने भएका छन् ।
काँग्रेसले वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा हमाललाई सिफारिस गरेको छ । यसैगरी पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्रीमा दाङका डिल्लीबहादुर चौधरीलाई पठाइसकेको छ । कांग्रेसले शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निणर्य गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानामध्ये कसलाई पठाउने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।
सरकारमा माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) बाट रमा घर्ती मन्त्री बन्ने छिन् । माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने भएको छ । उनी केही अघि एमाले र माओवादी केन्द्रको तानातानमा परेकी थिइन् । पछिल्लो समय उनले माओवादी केन्द्र रोजेकी थिइन् ।
१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, काँग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी मन्त्रिपरिषद्मा ७ जना छन् । जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय पाएको छ । त्यस्तै स्वतन्त्र सांसद अजय शाही उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् ।