बाँकेमा करिब २४ हजार मेट्रिक टन धान नष्ट
Tuesday, October 19th, 2021, 8:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ कात्तिक
बेमौसमी वर्षाका कारण बाँकेमा १० प्रतिशत धानबाली पूणर्रुपमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार कात्तिक १ गतेसम्मको क्षति प्रारम्भिक मुल्यांकनमा १० प्रतिशत धानबाली पुणर्रुपमा नष्ट हु्न पुगेको छ । केन्द्रका कृषि अर्थ विज्ञ जीवनकुमार केसीका अनुसार हालसम्म जिल्लामा २० प्रतिशत धान काटिएको छ । त्यसमध्ये १० प्रतिशत धान घर भित्र्याइसकिएको छ । घर भित्र्याउन बाँकी १० प्रतिशत धान भने पानीले बिगारेको केसीले बताए ।

जिल्लामा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जिल्लामा प्रति हेक्टर ४.८ मेट्रिक टन धान उत्पादन हुने आकलन गरिएको छ । हालसम्म करिब २४ हजार मेट्रिक टन धान नष्ट भएको अनुमान गरिएको केसीले बताए । यो विवरण पनि प्रारम्भिक मात्रै भएको र क्षतिको यकिन विवरण आउन केही दिन लाग्ने उनको भनाइ छ ।
गतवर्षको तुलना गर्दा यस अवधिमा करिब ५० प्रतिशत धान काटिसकेको हुनुपर्नेमा वर्षाका कारण धान कटाई प्रभावित भएको पनि उनले बताए । नकाटिएको धान पनि ढलेर डुबेको अवस्थामा क्षति हुन सक्ने उनले बताएका छन् ।
बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि तीन दिनदेखि देशभर वर्षा भइरहेको छ । वर्षाको बढी असर सूदूर पश्चिम र लुम्बिनी प्रदेशमा देखिएको छ । सूदूरपश्चिममा दुई दिनअघि नै यो प्रणाली भित्रिएको थियो । प्रणाली भित्रिएसँगै सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।
विभागले गत साता नै मुलुकबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो । मौसमविद्हरुले भने अहिलेको मौसमी प्रणालीलाई मनसुनपछिको मौसमी गतिविधि भनेका छन् । विहीबारबाट भने मनसुन कमजोर बन्दै जाने मौसमविद्हरुले जनाएका छन् । धानबाली भित्र्याउने समयमा भारी वर्षा भएपछि देशभरका किसान मर्कामा परेका छन् ।