लुम्बिनी सरकारले किसानहरुलाई राहत उपलब्ध गराउने
Wednesday, October 20th, 2021, 7:25 pm
Kalpristha
३ कात्तिक
लुम्बिनी प्रदेश सरकारले वर्षाका कारण धान लगायत कृषि उब्जनीमा क्षति व्यहोरेका किसानहरुलाई राहत उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री कुलप्रसाद केसीले वर्षाका कारण धान बाली नष्ट भएर समस्यामा परेका किसानहरुलाई राहत उपलब्ध गराउनका लागि लगत संकलन गर्न निर्देशन दिएका छन् ।
जिल्लाका कृषि ज्ञान केन्द्रहरु मार्फत कृषि शाखाहरुले क्षतिको लगत संकलन गर्ने र उक्त लगतका आधारमा प्रदेश सरकारले राहत उपलब्ध गराउने छ ।
गत आइतबार देखि परेको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशको हजारौँ हेक्टर जमिनमामा लगाइएको धान नष्ट भएको छ ।
मौसमी वर्षाका कारण बाँकेमा १० प्रतिशत धानबाली पूणर्रुपमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार कात्तिक १ गतेसम्मको क्षति प्रारम्भिक मुल्यांकनमा १० प्रतिशत धानबाली पुणर्रुपमा नष्ट हु्न पुगेको छ । केन्द्रका कृषि अर्थ विज्ञ जीवनकुमार केसीका अनुसार हालसम्म जिल्लामा २० प्रतिशत धान काटिएको छ । त्यसमध्ये १० प्रतिशत धान घर भित्र्याइसकिएको छ । घर भित्र्याउन बाँकी १० प्रतिशत धान भने पानीले बिगारेको केसीले बताए ।
जिल्लामा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जिल्लामा प्रति हेक्टर ४.८ मेट्रिक टन धान उत्पादन हुने आकलन गरिएको छ । हालसम्म करिब २४ हजार मेट्रिक टन धान नष्ट भएको अनुमान गरिएको केसीले बताए । यो विवरण पनि प्रारम्भिक मात्रै भएको र क्षतिको यकिन विवरण आउन केही दिन लाग्ने उनको भनाइ छ ।
गतवर्षको तुलना गर्दा यस अवधिमा करिब ५० प्रतिशत धान काटिसकेको हुनुपर्नेमा वर्षाका कारण धान कटाई प्रभावित भएको पनि उनले बताए । नकाटिएको धान पनि ढलेर डुबेको अवस्थामा क्षति हुन सक्ने उनले बताएका छन् ।