महेन्द्र पुस्तकालय सुधारमा वेवास्ता
Saturday, October 23rd, 2021, 6:00 am
Kalpristha
पुस्तकालयलाई सभ्य सरहको एक पहिचानकारुपमा लिइन्छ । तर नेपालगन्जका राजनितिक र सामाजिक अगुवादेखि साहित्यकारसम्म कसैलाई पनि पुस्तकालयको हविगतबारे वास्ता छैन । वास्ता भएकाहरु पनि कानमा तेल हालेर बसेका छन् । उपमहानगरपालिका र सम्बन्धित निकाय उक्त संस्थाको सम्बर्द्धनमा अनभिज्ञ जस्तै छन् ।
वीरेन्द्र जैसी
नेपालगन्ज, ५ कात्तिक
ऐतिहासिक सहर नेपालगन्ज । लुम्बिनी, कर्णाली र सुदुरपश्चिमको राजनीति एवं सामाजिक आन्दोलन, व्यापार, शिक्षा र साहित्यको केन्द्र पनि नेपालगन्ज । तर यही सहरमा पुस्तकको अध्ययन गर्न मिल्ने र बौद्धिक आदानप्रदान गर्न मिल्ने एउटा उपयुक्त पुस्तकालय छैन ।
पुस्तकालय छैन भन्दा पनि भएको पुस्तकालयको ढोकामा ताल्चा छ । पुस्तकालयमा भएका किताबहरुले पाठक नपाएको वर्षौं भइसक्यो । बरु पुस्तकमा धमिरा भने लागेका छन् । छतबाट पानी चुहिन्छ । पुस्तकालयमा दानमा प्राप्त हजारौँ पुस्तकहरुको अवस्था दयनीय छ ।
पुस्तकालयलाई सभ्य सरहको एक पहिचानकारुपमा लिइन्छ । तर नेपालगन्जका राजनितिक र सामाजिक अगुवादेखि साहित्यकारसम्म कसैलाई पनि पुस्तकालयको हविगतबारे वास्ता छैन । वास्ता भएकाहरु पनि कानमा तेल हालेर बसेका छन् । उपमहानगरपालिका र सम्बन्धित निकाय पनि उक्त संस्थाको सम्बद्र्धनमा अनभिज्ञ जस्तै छन् ।
नेपालगन्ज-८ मा अवस्थित छ महेन्द्र पुस्तकालय । उक्त पुस्तकालय नेपालगन्जका पुराना धरोहरमध्येको एक हो । विसं २००३ मा त्यतिबेलाका युवाहरुले अध्ययन एवं बौद्धिक आदानप्रदान गर्ने थलोका रुपमा विकास गर्न पुस्तकालयको स्थापना गरेका थिए । तर उक्त पुस्तकालयको ढोकामा पाठकहरुको अघोषित प्रवेश बन्द भएको करिब दुई दशक भइसकेको छ । खासगरी समितिको अध्यक्षमा कन्हैयालाल टण्डन आएपछि पुस्तकालयको अधोगति सुरु भएको सन्चालक समतिका सदस्यहरु बताउँछन् ।
तर पुस्तकालयको यस्तो दबिगत हुनमा पुस्तकालय सन्चालक समितिका अध्यक्ष, उक्त समितिमा रहेका पदाधिकारी एवं सदस्यहरु, उपमहानगरपालिका र जिल्ला पुस्तकालय व्यवस्थापन समिति सबै उत्तिकै दोषी छन् । दोषी छ नेपालगन्जको बौद्धिक वर्ग पनि ।
अध्यक्षले प्रकृया मिचेर दिएको राजीनामा मेयरले हराइदिए
पुस्तकालय सञ्चालक समिति नेतृत्व करिब २२ वर्षसम्म परिवर्तन भएको छैन । अध्यक्षको रुपमा रहेका टण्डनले पुस्तकालयलाई अध्ययन गर्ने स्थलको रुपमा पनि व्यवस्थित गर्न सकेनन् । टण्डनले विसं २०५४ मा अध्यक्षको जिम्मेवारी पाएपछि सञ्चालक समिति परिवर्तन गरी जिम्मेवारी हस्तान्तरण गर्ने काम पनि गरेनन् । पुस्तकालयको अध्यक्षका रुपमा उचित काम गर्न नसकेको आरोप लागेपछि उनले दुईवर्ष अघि नै राजीनामा दिएको बताउँछन् । कालपृष्ठसँग टण्डनले भने, ‘मैले त दुई वर्षअघि नै राजीनामा दिइसकेको हुँ । मेयरसाबकै टेबलमा मैले राजीनामा बुझाएको थिएँ । राजीनामा दिइसक्दा पनि नयाँ समिति नबन्नुमा मेरो दोष छैन ।’
तर, उपमहानगरपालिकाको शिक्षा शाखाका अधिकृत लोकेन्द्रबहादुर शाहीले पुस्तकालय सन्चालक समितिका अध्यक्षले राजीनामा दिएको विषय आफूलाई थाहा नभएको बताए । शाहीले अध्यक्षले राजीनामा दिएपनि नयाँ समिति गठन भई सबै हिसाबकिताब र जिम्मेवारी हस्तान्तरण नगरेसम्म पहिलेकै कार्यसमिति जिम्मेवार हुने बताए ।
उनले समितिमा रहेका पदाधिकारीले पनि पुस्तकालयको अवस्था सुधारको प्रयास गर्नुपर्ने बताए । प्राप्त जानकारीअनुसार उक्त पुस्तकालयको सन्चालक समितिमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, लेखक नरेन्द्रजंग पिटर, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यलगायत नेपालगन्जका शैक्षिक र बौद्धिक अगुवाहरु थिए । उनीहरुको तर्फबाट पनि पुस्तकालयको सुधारका लागि कुनै ठोस पहल हुन सकेको छैन ।
वरिष्ठ साहित्यकार एवं टण्डनको कार्यकालमा उपाध्यक्ष रहेका रेग्मी टण्डनले लामो समयसम्म ऐतिहासिक पुस्तकालय बन्धक बनाएको बताउँछन् ।
टण्डनले पुस्तकालयकै कार्यालयमा बुझाउनुपर्ने राजीनामा मेयरकहाँ बुझाउनु प्रक्रियाअन्तर्गत नपर्ने बताए । यद्धपि टण्डनले बुझाएको राजीनामा पनि मेयर धवलशमशेर राणाले हराइदिएको रेग्मी बताउँछन् । ‘मैले मेयरसाबलाई सोधेको थिएँ । उहाँले त्यो राजीनामा पत्र त हराइसकेको बताउनुभयो,’ रेग्मीले भने, ‘पुस्तकालयको व्यवस्थापनमा उपमहानगर नेतृत्वमा कुनै संवेदशीलता देखिएन ।’
राजीनामा दिने अध्यक्ष टण्डनले पनि समितिसमक्ष वा जिल्ला पुस्तकालयका व्यवस्थापन समितिसमक्ष राजीनामा दिनुपर्ने भएपनि उनले प्रक्रियाको पालना गरेनन् । त्यसरी दिइएको राजीनामाको कुनै अर्थ नहुने जिल्ला समितिका संयोजक अजय श्रीवास्तव बताउँछन् ।
पुस्तकालको सन्चालक समितिका एकजना सदस्य, लेखक एवं राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर पनि अध्यक्ष टण्डनले राजीनामा दिएको विषयमा आफूले अहिलेसम्म जानकारी नपाएको बताउँछन् । उनले पनि पुस्तकालयको व्यवस्थापन गर्नु उपमहानगरपालिकाकै दायित्व हुने बताए । ‘कुनैपनि सहरको बौद्धिक सभ्यताको परिचय त्यहाँ बनेका मन्दिर, मस्जिद र गेटहरुले होइन । पुस्तकालय र वाचनालय कति व्यवस्थित छ त्यसले दिन्छ । तर नेपालगन्जमा आधुनिक पुस्तकालय निर्माण त परको कुरा भएको ऐतिहासिक पुस्तकालय पनि व्यवस्थित गर्न नसक्नु उपमहानगरपालिका नेतृत्वको कमजोरी हो,’ पिटरले भने ।
उप-महानगरपालिकाले पुस्तकालयको विकासमा त कुनै काम गर्न सकेको छैन । तर पुस्तकालयको एउटा कोठामा वडा नम्बर ८ को कार्यालयले कब्जा भने जमाएको छ । उक्त कब्जा पुस्तकालयसँग अनुमति लिएर नगरिएको पाइएको छ । उक्त कोठामा वडा नम्बर ८ ले कम्प्युटर राखेर सिक्न चाहनेहरुले निःशुल्क सिक्न सक्ने व्यवस्था भने गरेको छ । तर सोही भवनमा रहेको पुस्तकालय र चुहिने भवनको विषयमा वडा कार्यालय बेखबर छ ।
जिल्ला पुस्तकालय व्यवस्थापन समिति निष्कृय
जिल्लामा पुस्तकालयको संरक्षण र समन्वय गर्नका लागि जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा जिल्ला पुस्तकालय व्यवस्थापन समिति रहेको छ । जसमा जिल्ला प्रशासनदेखि सरोकारवाला सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि एवं सरोकारवाला व्यक्तिहरु सदस्य रहन्छन् । उक्त सदस्य सचिवमा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रहने व्यवस्था छ । बाँकेमा यो समिति निष्कृय जस्तै छ ।
जिल्ला पुस्तकालय व्यवस्थापन समिति सदस्य सचिव र संयोजकै भनाइ मेल खाँदैन । सदस्य सचिव एवं शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव महेन्द्र पुस्तकालयको अवस्था सुधारका लागि हालसम्म औपचारिकरुपमा कुनैपनि गुनासो नआएको बताउँछन् । समितिका संयोजक श्रीवास्तव भने आफूले पुस्तकालयको सुधारका लागि धेरै प्रयास गरेपनि सफल नभएको बताउँछन् ।
संयोजक श्रीवास्तवले अब अध्यक्षको राजीनामा कुरेर बस्ने भन्दापनि विधानअनुसार नयाँ सन्चालक समिति गठनका लागि प्रकृया अघि बढाइने बताए । ‘अध्यक्षले राजीनामा दिने उपमहानगरपालिकामा होइन । हामीकहाँ हो । यद्धपि अब राजीनामा कुरेर बस्ने भन्दा पनि विधानअनुसार पुस्तकालयको सुधारको प्रकृया सुरु गर्छौँ । म आइतबार नै यसविषयमा कुरा अघि बढाउँछु,’ श्रीवास्तवले कालपृष्ठसँग भने ।
ऐतिहासिक सहरको एक ऐतिहासिक पुस्तकालय जीणर् हुनुमा आर्थिक लाभ नहुने संस्थाको रुपमा हेरिनु मुख्य कारण रहेको उनी बताउँछन् । अब पुस्तकालयलाई व्यवस्थित गर्नसक्ने व्यक्तिलाई जिम्मा दिएर आधुनिक र समयानुकुल पुस्तकालय विकास गरिने श्रीवास्तले वाचा गरेका छन् ।