नेपालगन्जमा आकर्षक पुरस्कारसहितको नृत्य प्रतियोगिता हुने
Tuesday, October 26th, 2021, 8:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ कात्तिक
नेपालगन्जमा आकर्षक पुरस्कार राशीसहतिको नृत्य प्रतियोगिता हुनेभएको छ । नेपालगन्जमा मंगलबार आयोजक रोयल डान्स प्रालीले पत्रकार सम्मेलन गर्दै ‘डान्स बाँके डान्स’ प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएएको हो ।
प्रतियोगिताको अडिसन भने यही कार्तिक २४ गतेदेखि सुरुहुने र फाइनल आगामी पौष ३ गते भव्य कार्यक्रमको माझ सम्पन्न हुने जनाइएको छ । प्रतियोगितामा ५ वर्ष माथिका जोकोहीले भाग लिन पाउने छन् । कोहलपुर, राजापुर, गुलरिया, धनगढी, दाङ र नेपालगन्जमा अडिसन लिने आयोजकको योजना छ ।
पश्चिम क्षेत्रमा लुकेर रहेका नृत्य कलाकारहरुको क्षमता प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक आयोजक टिमका सदस्य रोहित थापाले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, आकर्षक गिफ्ट र म्युजिक भिडियोमा कला देखाउने अवसर, द्वितीय हुनेलाई २५ हजार , आकर्षक गिफ्ट र म्युजिक भिडियो, तृतीय हुनेलाई १५ हजार र आकर्षक गिफ्ट र चौथो हुनेलाई ७ हजार र आकर्षक गिफ्ट पुरस्कार दिइनेछ ।
साथै, प्रतियोगितामा बेस्ट डान्सर पुरस्कारको व्यवस्था समेत गरिएको छ । बेस्ट डान्सरले नगद ३ हजार रुपैयाँ सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । फाइनलमा लोकप्रिय नायक दिलिप रायमाझी, डान्सर आश्मा बिश्वकर्मा, डान्सर सुजन मार्पा, डान्सर सियोन श्रेष्ठ लगायतका कलाकारको उपस्थिति रहने पनि बताइएको छ ।
प्रतियोगिता नेपालगन्जमै अहिले सम्मकै बढी राशि भएको नृत्य प्रतियोगिता रहेको आयोजक टिमको दावी छ ।
पछिल्लो समय नेपालमा भइरहेका रियालिटी शोको फर्म्याटमा जस्तै यो प्रतियोगितामा पनि ‘वाइल्ड कार्ड इन्ट्री’ व्यवस्था रहेको जनाइएको छ ।