बाँकेका ७ पालिकामा एमालेको सर्वसम्मत नेतृत्व, अधिकांशमा नयाँ अनुहार
Thursday, October 28th, 2021, 5:45 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० कात्तिक
बाँकेका सातवटा स्थानीय तहमा नेकपा एमालेको प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ । जिल्लामा कोहलपुरबाहेक सबै स्थानीय तहमा सर्वसम्मत पालिका कमिटी चयन गरिएका छन् ।
कोहलपुरमा पदाधिकारी बाहेकमा सर्वसम्मत भइसकेको छ । तर पदाधिकारीमा तीव्र रस्साकस्सीका कारण नेतृत्व चयनमा सकस भएको छ । अध्यक्षमा खिल प्रसाद भुसाल, नम प्रसाद शर्मा र कुल बहादुर भट्टराईले दावी गरेका छन् । एमाले बाँके सचिव रत्न खत्रीले बुधबार बेलुकी कालपृष्ठसँग कुरा गर्दै भने, ‘हामी सर्वसम्मत नेतृत्व चयनको प्रयासमा छौँ । चुनाव हुने छैन । बिहीबार बिहान ११ बजेसम्म हामी रिजल्ट निकालिसक्छौँ ।’
नेपालगन्ज उप-महानगरपालिकामा दत्त प्रसाद आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी बनाइएको छ । उपमहानगर उपाध्यक्षमा हाजी अब्दूल हकिम, सचिवमा मोहित शाह, उपसचिव दिग्वीजय ढुंगाना र उषा थापा भण्डारी चयन भएका छन् । अध्यक्षमा चयन भएका आचार्य यसअघि पनि अध्यक्ष नै थिए ।
खजुरा गाउँपालिकामा गेहेन्द्र धितालको नेतृत्वमा ७५ सदस्यीय नेकपा एमाले खजुरा गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित भएको छ । खजुराको उपाध्यक्ष झगबहादुर पौडेल, सचिवमा देउमाया थापा तथा उपसचिवमा लल्लन यादव र साविर जोलाहा चुनिएका छन् । धिताल खजुराको अध्यक्षमा नयाँ अनुहार हुन् । जिल्लाका ५ वटा स्थानीय तहमा नयाँ अनुहारले अध्यक्षको जिम्मेवारी पाएका छन् । खजुरा, डुडुवा, जानकी, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा साविकको भन्दा नयाँ अनुहारले अध्यक्षमा जिम्मेवारी पाएका एमाले नेता प्रेम सुवेदीले बताए ।
डुडुवा गाउँपालिकाको अध्यक्षमा पनि नयाँ अनुहारका रुपमा डुडुवा शकील खान चयन भएका छन् । डुडुवामा खानको अध्यक्षतमा ७३ सदस्यीय गाउँपालिका कमिटि चयन भएको छ । कमिटीको उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लन पाण्डे र ध्रुव कुमार चौधरी बर्मा चयन भएका छन् । अध्यक्ष खान एमालेको पालिका नेतृत्वमा युवा पुस्ताका प्रतिनिधि पनि हुन् ।
जानकी गाउँपालिकामा पनि नयाँ अनुहारका रुपमा बिसराम बर्माको नेतृत्वमा ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा रामरुप मौर्य, सचिवमा राजीतराम यादव, उपसचिवमा अशोक राना र यज्ञलक्ष्मी शाह चुनिएका छन् ।
नरैनापुर गाउँपालिकामा पन्चराम यादवको अध्यक्षतामा ५९ सदस्यीय कमिटी चयन भएको छ । उपाध्यक्षमा प्रमोद मिश्रा, सचिव सुनैना मिश्रा तथा उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादव चुनिएका छन् ।
संघीयतापछि एमोलेले पहिलो स्थानीय तहको महाधिवेशन गरिरहेको छ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा देशभरमा सबै स्थानीय तहमा नेतृत्व चयन भइरहेको छ ।