नेपालगन्ज विमानस्थल परिसरको झाडी सफाई
Wednesday, November 3rd, 2021, 1:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ कात्तिक
जंगली जनावरहरु धावनमार्गमै आएर दुर्घटना हुन थालेपछि नेपालगन्ज विमानस्थलको झाडी सफाईको काम सुरु गरिएको छ । मंगलबार नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सिता एयरको ‘ढल्-ब्ज्द्य’ जहाजसँग तीन वटा बदेल एकैपटक ठोक्किएका थिए ।
त्यसभन्दा अघि पनि वन्यजन्तु पटक-पटक धावनमार्गमा आई जहाजसँग ठोक्किने गरेका थिए । तर नागरिक उड्डयन प्राधिकरणले बजेट अभाव देखाउँदै झाडी सफा गरेको थिएन । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका एक सय ५० जना जनशक्तिलाई सरसफाईमा खटाइएको जानकारी दिए । उनले झाडी सफाईको काम प्राधिकरणले गर्नुपर्ने भएपनि पटक-पटक जहाजसँग वन्यजन्तु ठोकिने क्रम बढ्न थालेपछि सुरक्षाका हिसाबले तत्कालै सरसफाई गर्नु परेको बताए । बुधबारबाट सुरु भएको सरसफाई केहीदिनसम्म चल्ने प्रजिअ खत्रीले बताएका छन् ।

झाडी सफा गरिँदै
बाँके प्रहरीका अनुसार मंगलबार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक श्याम कृण्ण अधिकारीको कमाण्डमा ३० जना, शसस्त्र प्रहरी बलका सहायक पहरी निरीक्षक नवराज शाहीको कमाण्डमा ४० जना र नेपाली सेनाको प्रमुख सेनानी जनमत कार्कीको कमाण्डमा ९० जना गरी जम्मा १६० जनाको संयुक्त टोलिले सरसफाई गरेको छ ।
नेपालगन्ज विमानस्थल प्रशासनको जोखिम बढेपनि झाडी सफा नगर्दा १७ सय मिटर लामो धावन मार्गमा पटक-पटक दुर्घटना हुँदै आएका छन् ।

निर्देशन दिँदै प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी
नेपालगन्ज विमानस्थलको पुर्वदक्षिणमा वन क्षेत्र छ । त्यहाँबाट सहजै बन्यजन्तुहरु विमानस्थल प्रवेश गर्न सक्छन् । नेपालगन्ज विमानस्थल धावन मार्गकै आसपासमा झाडी बढेको छ । उक्त झाडीबाट बेला-बेलामा बँदेल, दुम्सी र स्याल निस्केर धावनमार्गमै आइपुग्ने गरेका छन् ।