छठ पर्व सुरु
Monday, November 8th, 2021, 11:04 am
Kalpristha
आजबाट छठ पर्व सुरु भएको छ । पर्वको प्रारम्भमा आज व्रतालुले ‘नहाय-खाय’ गर्दैछन् ।
छठ प्रारम्भसँगै धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला/पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेका देखिन्छ । पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनितो खाने गर्छन् । यो विधिलाई मिथिलामा ‘नहाय-खाय’ भन्ने गरिएको छ । पर्वले घरघरमा व्यस्तता बढाएको छ ।
श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषिउपजले राम्रो बजार पाउने गरेका छन् ।
आइतबार (कात्तिक शुक्ल तृतीया) का दिन ‘अरबा-अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय-खाय’ विधि गर्ने व्रतालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठी देवीलाई चढाएर प्रसादस्वरुप खाने गर्छन् ।
केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ ।