अधिवेशनको तयारीमा होमियो बाँके कांग्रेस
Wednesday, November 10th, 2021, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ कात्तिक
महाधिवेशन हुने नहुने अन्यौलमा रहेको बाँके कांग्रेसमा निर्वाचन अधिकृत खटिएसँगै उत्साह छाएको छ । भदौ १८ गतेदेखि वडा अधिवेशन सुरू गरेको कांग्रेसले बाँके, प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन गर्न सकेको छैन ।
अब कात्तिक २७ गते बाँकी रहेका जिल्लाका वडा अधिवेशन गर्ने गरी केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ । सोही तालिकानुसार अधिवेशन गर्न काँग्रेसले बाँकेमा अधिवक्ता रेवतीरमण भट्टराईलाई निर्वाचन अधिकृत तोकेर पठाएपछि कांग्रेसीहरुमा उत्साह छाएको हो ।
निर्वाचन अधिकृत भट्टराईले मंगलबार जिल्लाका अगुवा कार्यकर्तासग भेटघाट एवं महाधिवेशनमा हुने नयाँ कार्यसमितिहरुको निर्वाचन प्रकृयाका बारेमा जानकारी गराए । पाटी कार्यालयमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातारण मन्त्री एवं कांग्रेस नेता सुरेन्द्र हमाल, बाँके पार्टी सभापति किरण कोइराला, मौजुदा विभिन्न तहका कमिटीका प्रमुख एवं प्रतिनिधिसहित अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै निर्वाचन अधिकृत भट्टराईले जिल्लामा शान्तिपूणर् र निष्पक्षरुपम महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न पार्टीपंक्तिलाई आग्रह गरे ।
कांग्रेस बाँके सभापति कोइरालाले लामो समयको अन्यौलतापछि जिल्ला अधिवेशन हुने पक्का भएकोमा खुसी लागेको बताइन् । ॅवडाकै विवाद समाधान नहुँदा जिल्लामा पहिले तोकिएको समयमा निर्वाचन हुन सकेन । अहिले हामीले निर्वाचन अधिकृत नै पाइसकेपछि अभिवेशन हुनेमा ढुक्क भएको छ । सबै कार्यकर्तामा उत्साह छाएको छ,’ कोइरालाले भनिन् ।
सभापति कोइरालाले जिल्लामा वडाको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने प्रयास गरिने बताएकी छन् । ‘हामीले सकेसम्म वडाको नेतृत्व चयनमा चुनाव नगरौँ । त्यसले सकारात्मक सन्देश पनि जान्छ । अन्तिम विकल्पको रुपमा मात्रै चुनावको प्रयोग गरौँ,’ उनले भनिन् ।
बाँकेमा ८ स्थानीय तहमा ८१ वटा वडा रहेका छन् । ती वडामा कात्तिक २७ गते अधिवेशन गरिँदै छ । यसअघि क्षेत्र नम्बर ३ मा क्रियाशिल सदस्यता विवाद उत्पन्न भएपछि अधिवेशन हुन सकेको थिएन । विवाद समाधान नहुने र अधिवेशन हुन नसक्ने आशंका बाँकेका कांग्रेस कार्यकर्ताहरुमा थियो ।
कार्यतालिका अनुसार बाँकेमा पालिका अधिवेशन कात्तिक ३० गते हुने छ । यस्तै मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने छ । मंसिर १० गते जिल्ला अधिवेशन हुने छ ।